बनेपामा फुटपाथको अवरोध हटाउन शुरु

0
Shares

काभ्रे ।

दश वर्ष अघि शुरु भएको बनेपा नगरपालिकाले निर्माण गरेको फुटपाथको अवरोध हटाउने अभियान फेरी शुरु भएको छ । निरन्तरको अभियान असफल भएसँगै बनेपा नगरपालिकाले पुनः दिर्घकालिन रुपमा फुटपाथ ब्यवस्थित गर्ने तथा नगर सरसफाईमा जोड दिने उदेश्यले अभियान शुरु गरेको हो ।

‘हामी निर्वाचित हुनु अघि सार्वजनिक गरेको घोषणापत्रमा नगरको सरसफाई तथा फुटपाथलाई प्राथमिकतामा राखेको थियौं’–नगर प्रमुख शान्तिरत्न शाक्यले भन्नुभयो–‘नगरलाई स्वच्छ र हराभरा बनाउन निर्वाचित भए देखि नै कार्य प्रारम्भ भएको छ । फुटपाथको अवरोध हटाउँदै सरसफाईलाई प्राथमिकतामा राखेका छौं ।’

बनेपा नगरपालिका जिल्लाको ब्यापारीक केन्द्र समेत भएकाले विभिन्न जिल्लाबाट तथा पालिकाबाट बसोबास गर्ने नागरिकहरुको बसाईलाई ब्यवस्थित बनाउने, दुई प्रमुख राजमार्ग हुँदै आउने जाने नागरिकहरुले प्रयोग गर्ने अरनिको राजमार्गको दायाँबायाँ क्षेत्रलाई सुन्दर बनाउने अभियानले निरन्तरता पाउने उपप्रमुख विमला सापकोटा दाहालले बताउनु भयो ।

 

‘बनेपा सुन्दर बनाउने अभियानमा नगरबासिहरुको साथ र सहयोगको आवश्यक छ’–उपप्रमुख विमला सापकोटा दाहालले भन्नुभयो–‘निर्वाचनको समयमा ब्यक्त गरेको प्रतिवद्धताका अलावा नागरिकहरुलाई सहज रुपमा आवतजावत गर्न र नगरलाई स्वच्छ राख्ने दायित्व पुरा गर्नेछौं ।’प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्यले नगरपालिकाले शुरु गरेको फुटपाथ अवरोध हटाउने कार्यले निरन्तरता पाउने बताउनु भयो ।

साउन १ गतेबाट नियमित फुटपाथको अवरोध हटाईने, अवरोध गर्नेलाई कानून अनुसार कारवाही गर्ने र नियमित अनुगमन हुने प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्यले बताउनु भयो । आईतबारबाट शुरु भएको अभियानमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सुरक्षा टोली, जनप्रतिनिधी, उद्योगी ब्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

फोहोर ब्यवस्थापनमा कडाई

बनेपा नगरपालिकाले आगामी साउन १ गते देखि पुर्ण रुपमा सडकको दायाँ बाँयाको फुटपाथ लगाएतका सार्वजानिक स्थानमा ब्यापार ब्यबसाय गर्न रोक लगाउँदै घर पसलबाट निस्कने जैविक कुहिने) र अजैविक (नकुहिने) फोहोर बर्गिकरण गरेर मात्र सकंलन गर्ने जानकारी गराएको छ ।

नगर क्षेत्र भित्रको सरसफाई र पार्किङ्ग ब्यबस्थापन गर्न सबै नगरबासीको साथ र सहयोग चाहिने नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनु भयो । फुटपाथ तथा अन्य सार्वजानिक स्थानमा राखिएका निमार्ण सामाग्री हटाई नगरको सौन्दर्यकरण कार्यमा सबैको साथ चाहिने शाक्यले बताउनु भयो ।

नगरपालिकाले गरेको पटक पटकको अनुरोधलाई अटेर गरी ब्यबसाय सञ्चालन गरेमा कानुन अनुसार कार्वाहि गरिने नगरपालिकाले बताएको छ । छ । फोहोर ब्यबस्थापनको चुनौती रहेकाले वडा–वडामा फोहोर ब्यबस्थापन गर्नु पर्ने सुझाव प्राप्त भएको नगरपालिकाले बताएको छ ।

बनेपा नगरपालिकाको आयोजना र काठमाडौं बिश्वबिद्यालय सामुदायिक सम्बन्ध बिस्तार महाशाखाको सहजिकरणमा फोहोरमैला ब्यबस्थापन र समुदायको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा फोहोरमैलाको दिर्घकालिन ब्यवस्थापनमा जोड दिईएको थियो । नगरपालिका आफैले फोहोर ब्यवस्थापनमा ल्याएको योजनामा यस अघि वडा अध्यक्षहरुले नै अवरोध गरी सार्वजनिक अपराधको तारेख खेपिरहेका छन् । सोहि अवरोधका कारण नगरपालिकाले नगर भित्र फोहोर ब्यवस्थापन गर्न नसकि दैनिक भाडा तिरेर सिसडोलमा फोहोर लगिरहेको छ । सिसडोल बन्द हुँदा बनेपामा फोहोर संकलन हुँदैन ।