होटलमा मृत भेटिएकी समीक्षाका प्रेमी पक्राउ



 बुटवल । 

बुटवलको गोलपार्कस्थित एक होटलमा मृत अवस्थामा फेला परेकी बुटवल–२ की १७ वर्षीया समीक्षा गुरुङको घटनामा अनुसन्धानका लागि प्रेमी र होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

असार २५ गते शनिबार बुटवल गोलपार्कस्थित होटल पाल्पालीमा झुन्डिएको अवस्थामा समीक्षा फेला परेकी थिइन् । अघिल्लो रात एक युवकसँग आएकी गुरुङ बिहान होटलमा झुन्डिएको अवस्थामा फेला परेपछि घटना रहस्यमय भएको थियो । प्रहरीले समीक्षासँग होटलमा रात बिताएका प्रेमी बुटवल उपमहानगरपालिका–३ का २० वर्षका असीम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले प्रेमी असीमसँगै होटलका सञ्चालक ४३ वर्षीय रामप्रसाद अर्याललाई समेत प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । असार २५ गते शुक्रबार राती होटलमा बस्न गएका दुई जनामध्ये श्रेष्ठ शनिबार बिहान बिल तिरेर निस्केको प्रहरीसँग बयान दिएका छन् ।

पक्राउ परेका प्रेमीले समीक्षासँग सम्बन्ध राम्रो भएको र होटलमा बसेको स्वीकार गरेको बयान प्रहरीसमक्ष दिएको डीएसपी केसीले बताउनुभयो । प्रहरीका अनुसार समीक्षा र असीम होटलको कोठा नम्बर १०५ मा रात बिताएका थिए । समीक्षा बुटवलमा घर भए पनि एसईईपछि स्टाफ नर्स पढ्ने तयारीका लागि काठमाडौं बस्ने गरेको परिवारले बताएका छन् । काठमाडौं अध्ययनका लागि पुगेकी समीक्षा असार २३ गतेमात्रै बुटवल आइएकी थिइन् ।

बुटवलको अमर पथमा पसल गर्ने प्रेमी श्रेष्ठसँग पहिल्यैदेखि सम्बन्ध रहेको प्रहरी बयानमै बताएका छन् । असार २४ गते फोनमा कुराकानी भएपछि समीक्षा र असीम होटल गएर रात बिताएका हुन् ।बिहानै पसल खोल्न असीम निस्केको र होटेलमा विवरणसमेत नराखेकाले खोजी गर्न निकै मिहेनत गर्नुपरेको प्रनाउ केसीले बताउनुभयो । मृतक समीक्षाका बुबा सन्दीप गुरुङले जबरजस्ती करणी गरी आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको डीएसपी केसीले बताउनुभयो ।

होटल सञ्चालकविरुद्ध पनि मुद्दा परेकाले प्रहरीले होटल सञ्चालकलाई पनि पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टमा गुरुङ झुन्डिएको भन्ने उल्लेख छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएकोे छ ।

प्रतिक्रिया दिनुहोस्