१९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ : प्रचण्ड

0
Shares

काठमाडौं । 

भारत भ्रमणमा रहेका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ । उहाँले दुई मुलुकबीचमा देखिएका समस्या समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्नुपर्ने बताउनुभएको हो ।

फाउन्डेसन फर पब्लिक अवार्नेस एन्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्या समाधान गरेर जान पनि सन्धिको पुनरावलोकनपछि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने बताउँदै प्रचण्डले भन्नुभयो– ‘नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ रहेको छ, कुनै समस्या आए कूटनीतिक संवादको माध्यमबाट समाधान गर्नुपर्छ ।’

कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन भारतसँग आग्रह गर्दै उहाँले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको बताउनुभयो ।भारतको सत्तारुढ भारतीय जनता पार्टीको निमन्त्रणामा प्रचण्ड शुक्रबार भारत प्रस्थान गर्नुभएको हो ।

भारत भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसै गरी प्रचण्डले शनिबार नै भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसक्नुभएको छ ।

प्रचण्डको भारत भ्रमणलाई नेपालको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । प्रचण्डसँगै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा पनि भारत भ्रमणमा रहनुभएको छ ।