स्वार्थी र फितलो कानुन नै भावी पुस्ताको खराब भविष्य



हाम्रो मुलुक यसै पनि सुन्दर छ, त्यसमाथि हामीले यसलाई झन् सुन्दर किन नबनाउने ? यसको लागि हामी नेपालीले मन ठूलो र राम्रो सोचको विकास गर्नु आवश्यक छ ।

शायद यसैको कमीले गर्दा हुन सक्छ, सुन्दर मुलुक भए पनि गरिब भइरहेको छ । केही कमजोरीकै कारण हाम्रो मुलुक अरु मुलुकको दाँजोमा अघि बढ्न सकिराखेको छैन । यहाँ दह्रो कानुन नहुनु त छँदै छ, स्वार्थी मानसिकता र गलत तरिकाले रकम कमाउने संस्कार पनि व्याप्त छ ।

ज्ञानको कमीले गर्दा पनि यस्तो भएको मान्न सकिन्छ । अझै पनि केही बिग्रेको छैन । सबै पक्ष आफ्नो ठाउँमा राम्रो भएर आफ्नो दायित्व निर्वाह गर्ने हो भने हाम्रो मुलुकको भविष्य झन् उज्ज्वल हुनेछ भन्ने कुरामा दुई मत छैन । अंग्रेजीमा एउटा उखान छ– ‘म्यान प्रपोज गड डिस्पोज’ । यसलाई नेपालीमा म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो भनिन्छ । हाम्रो मुलुकमा पनि यस्तो नै भइराखेको छ । देश चलाउनेहरुले सबै ल्याए । जस्तै– लोकतन्त्र, संविधान, संघीयता आदि ।

हुन त यी कुराहरु पहिलाका शासकहरु ठीक नभएर नै ल्याएको होला, समय र भगवान्को इच्छा अनुसार । तर यी कुराहरुले पनि जनता, समाज, सर्वसाधारणलाई हात्ती छि¥यो पुच्छर अड्केको जस्तै कहानी भइराखेको छ ।
मुलुक नसुध्रनुका कारण:
(१) वास्तवमा भन्ने हो भने, यो देशमा देश चलाउने नेताहरुको योगदान छ तर अब आएर यी नेताहरुले अरु राम्रा व्यक्तिहरुलाई पनि देश चलाउने मौका दिनुपर्दछ । जसरी हुन्छ हाम्रो मुलुकमा अब सरकार, नेता, दलहरुले सर्वप्रथम आफ्नो संख्या घटाउनुपर्दछ, कारण आर्थिक दृष्टिकोणले यो चुहावट हो । राष्ट्रधन र यसलाई राम्रो सदुपयोग गर्नु नै सरकारको दायित्व हो ।

(२) सरकारहरुले राम्रो पूर्वाधार विकासका लागि मात्र रकमको तर्जुमा गर्ने हो भने कृषि तथा उद्योग विकासका लागि सरकार गम्भीर हुनुपर्दछ । यसका लागि कानुनविद्, अर्थविद्, कृषि विज्ञ र उद्योग व्यवसायहरुको कुरा सुनेर अघि बढ्ने हो ।

(३) सधैं आफ्नो मान्छे, कलह, भाषण, अनावश्यक कुराहरुमा मात्र नअल्झी कसरी सर्वसाधारणलाई सुख, सुविधा, सहुलियत आदि उपलब्ध गराउने हो ? यसको लागि सिस्टमको विकास गर्नु जरुरी छ । तर भनेर के गर्नु, देश चलाउनेहरुको अज्ञानता, सोच र मन नै सानो छ । अब भने यस्तो हुनुभएन ।

(४) सरकारहरुले अहिले आएर पनि विदेशीहरुको इशारामा नाचिराख्नुहुँदैन । आफूसँग भएको रकम खेलाएर लगानीको वातावरण बनाउने हो र भिजन बनाउने हो । तर थाहा छैन, सरकारमा बस्ने नेताहरु कुन संसारमा छन्, खाली आफ्नै हिसाबले दौडी राखेका हुन्छन् ।

(५) यो देशको एउटा विडम्बना के छ भने, नेताहरु कुर्सीमा आउनासाथ यिनीहरुले पहिला नै राम्रो भिजन तयार गरेका हुँदैनन्, म यो काम गर्छु भनेर । यिनीहरुको सोच नै गलत राय–सुझाव, आफ्नो मान्छेको भर्ती, भत्ता सुविधा, इच्छाशक्तिको कमी आदिका कारणले गर्दा यिनीहरुलाई फुर्सद नै हुँदैन समाजको कुरा सुन्ने । फेरि हामीले द्रुत विकासको कसरी आशा गर्ने ।

(६) हाम्रो देशमा संघीयता आएको पनि धेरै भइसक्यो तर प्रदेश सरकारहरुलाई केन्द्रीय सरकारले पेल्न सकिराखेको छैन । यसले गर्दा राजमार्ग, पुल, बाँधहरुको निर्माण एवं सुधार हुन सकेको देखिँदैन । दैवी प्रकोपको पीडा भोगिरहेका स्थानहरुमा रोकथाम वा बस्ती स्थानान्तरणका कार्य हुन सकेका छैनन् । यी सबै कुरा केही मात्रामा भए पनि कछुवाको गतिमा भएका छन् । यस्तो अवस्थामा पनि सरकारहरु लाटाले केरा हेरेसरह बसिराखेका छन् । के संघीयताको उपलब्धि यही हो त ?

(७. सरकारलाई थाहा छ, हाम्रो मुलुकमा अझै पनि अरुको भलो नचाहने अनपढ तथा अल्लडे व्यक्तिहरु धेरै छन् । यस्तो अवस्थामा सरकारले समाजमा पूर्ण निःशुल्क शिक्षाको प्रत्याभूति गर्नु जरुरी छ । यदि शिक्षण संस्था, सूचना विभाग, चलचित्र, मिडिया, अखबार आदि समन्वय गरेर अघि बढ्ने हो भने यी कुराहरु सम्भव छन् । यी कुराहरुले गर्दा समाज राम्रो तरिकाले परिवर्तन हुनेछ । यो हुनु नै मुलुकको लागि राम्रो कुरा हो ।

(८) प्रायः ठूला–ठूला पूर्वाधार विकासका कामहरुमा राम्रो ठेकेदार नहुनु, काम गुणस्तरीय नहुनु, समयमा काम समाप्त नहुनुमा सरकारहरुको कमी–कमाजेरी मान्न सकिन्छ । यसबाहेक सरकारी कार्यालयहरुमा प्रायः बजेट सधैँ खेर जाने गरेको छ, यसलाई के भन्ने ? यो पनि सरकारहरुको गैरजिम्मेवारको कारण हो । त्यसकारण लोकतन्त्र ल्याउने नेताहरुले स्वार्थ भावनालाई त्यागी यस्ता कुराहरुमा पनि ध्यान पु¥याउनु जरुरी छ ।

(९) प्रायः सरकारी कार्यालयहरुमा भीडभाड, व्यक्तिगत काम, गफगाफ गर्नै परेपनि ३ बजेउप्रान्त गर्ने हो । नत्र कार्यालयका कामहरु सधैँ पेन्डिङ रहेने गर्छन् ।

अब यो मुलुकलाई राम्रो बनाउने, द्रुत विकासमा लैजाने, आउने पुस्ताको भविष्य राम्रो बनाउने हो भने समाजले यो बुझ्नु जरुरी छ कि आगामी संसदीय चुनावमा हामीले नयाँ र राम्रो व्यक्तिको छनोट गर्नुपर्छ, अन्यथा किन रोइस मंगले आफ्नै ढंगले भनेजस्तै हुनेछ । अन्त्यमा एकपल्ट फेरि भन्नुपर्दा, यो मुलुकमा फितलो कानुन, राजनीतिक कलह र धेरै स्वार्थीहरु हुनु नै द्रुत विकासको बाधक हो ।

प्रतिक्रिया दिनुहोस्