कोरोनाको बेवास्ता



कोरोना संक्रमण पुनः बढ्नथालेको छ । नागरिक स्वयम्ले सुरक्षा अपनाउनुको विकल्प देखिंदैन । तर नागरिकहरु सतर्क भएको पाइएको छैन ।

हुनत सर्वसाधारण नागरिकलाई दैनिकी चलाउने बाध्यताका कारण पनि १०–१५ घण्टा माक्स लगाएर बस्ने र पटक–पटक हात धुनेजस्ता कार्यलाई निरन्तरता दिन सजिलो छैन । तरपनि भिडभाडमा नजाँन र जानैपरे मास्क लगाउन त सकिन्छ, तर त्यस प्रकारको साबधानी अपनाएको पनि पाइएन । फनपार्क, पौडीपोखरी, भोजभतेर, क्लब, भेला आदिमा जसरी पनि सहभागी हुनैपर्ने प्रवृत्तिका कारण संक्रमण पुनः बढेको होइन भन्ने आधार छैन । भोज खाँदा र पौडी खेल्दा मास्क लगाउन नमिले पनि मिल्ने ठाउँमा त यसको प्रयोग हुनैपर्ने हो ।

सन् २०१९ को डिसेम्बरदेखि चीनको बुहान शहरबाट देखापरेको कोभिड–१९ को महामारीले विश्वव्यापी रुपमा ठूलो संख्यामा मानव जातिलाई अस्वस्थ बनाउँनुका साथै ६४ लाखको ज्यान लियो । यसले कहिले उच्च गति लिने र स्वरुप परिवर्तन गर्दै आक्रमण गर्ने गर्दैआएको छ । कोभिड विरुद्धको खोप लगाएका व्यक्तिमा पनि कोभिड भाइरस फैलिरहेको छ । खोप लगाएपनि खोपले काम गरे–नगरेको अध्ययन भएको छैन ।

अहिले प्रयोगमा आएका सबै आकस्मिक खोप भएका कारण यसको सकारात्मक तथा नकारात्मक असरका बारेमा पूर्ण ज्ञान कसैसँग पनि छैन । नेपालमा हालै नयाँ उपप्रजातिको कोरोना भाइरस भेटिएको समाचार बाहिर आयो । तर नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले आम नागरिकमा अन्तरनिहित सूचना पाउने अधिकारलाई नै गुमराहमा राखी नयाँ उपप्रजातिको कोरोना भाइरसको जोखिम के कस्तो छ र कसरी जोगिने भन्ने बारेमा समेत सचेत गराएको छैन ।

स्वास्थ्य मन्त्रालयको मंगलबारको विवरणअनुसार अनुसार २४ घण्टामा थप १ सय ७७ जनामा संक्रमण देखिएको छ । यतिबेला काठमाडौं उपत्यका कोभिड र झाडापखाला तथा हैजाको महामारीबाट बढी ग्रसित भएकोछ । काठमाडौसँगै ललितपुर, भक्तपुर, कास्की र बाँके पनि संक्रमणको चपेटामा देखिएका छन् । नेपालमा कोभिड– १९ को प्रवेश २०७६ साल माघ ९ गते चीनको बुहानबाट नेपाल आएका एक जनकपुरका नेपाली विद्यार्थीमा प्रमाणित भएको थियो । त्यतिबेला कोरोना संक्रमणलाई निकै त्रासदीपूर्ण रुपमा लिइन्थ्यो र संक्रमितलाई स्वास्थ्यकर्मीले उपचार र परामर्श समेत टेलिफोनबाटै गर्न सिकाउने गरिन्थ्यो ।

नेपालमा त्यतिबेलादेखि हालसम्म ९ लाख ८० हजार ५ सय ९० जना संक्रमित भएको रेकड देखिएपनि परीक्षण नै नगराउनेहरुका विषयमा केही भन्नसकिन्न । यस अवधिमा नेपालमा निकै उतारचढाव आयो, औषधि खरिदमा भएका घोटाला, अक्सिजनको अभावले ज्यान गुमाउन बाध्य हुने अवस्था, उपचारको प्रयास गर्दागर्दै मृत्युवरण गर्नेमा ११ हजार ९ सय ५२ जना रहेको स्थिति मुखरित भएर आयो । त्यसैगरी निको हुनेमा ९ लाख ६७ हजार ७ सय ६५ जना रहेको अभिलेखले देखाएको छ ।

कोरोना संक्रमणले पु-याएको क्षतिका कारण धेरै मानिस दीर्घरोगी भएको बुझिएको छ । यस विषयमा थप परापर्श र उपचारको आवश्यकता देखिन्छ । लापर्बाही व्यवहार सरकारले त गर्न पाउँदैन नै, आम नागरिकले पनि सतर्क हुनु र सुरक्षित बस्नु अनिवार्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्