कृषिप्रधान मुलुकमा नियतिको खेल



  • विनोद पौडेल

कृषि नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र हो । कृषिले कुल जनसंख्याको ६५ प्रतिशत रोजगारीको अवसर प्रदान गरेको छ भने जीडीपीको करिब २७ प्रतिशत योगदान रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकमा रहेको छ ।

त्यसैले कृषि क्षेत्रको विकास सिंगो राष्ट्रिय अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण छ । तर हामीले कृषिबाट उल्लेख्य परिवर्तन गर्न भने सकिरहेको छैनौं । कृषिबाट परिवर्तन सम्भव हुँदाहुँदै पनि सरकारका तर्फबाट त्यसको प्रभावकारितामा खासै चासो नदेखाउँदा हामी आत्मनिर्भर बन्न सकिरहेका छैनौं । हामीलाई चाहिने खाद्यान्न, लत्ताकपडा, हरियो तरकारी, फलफूललगायत विविध सामग्रीमा परनिर्भर रहनुपर्ने बाध्यात्मक अवस्था हाम्रो मुलुकमा कायमै छ ।

हामी कुनै पनि वस्तुमा निर्भर हुन सकिरहेका छैनौं । त्यसै कारण हामीलाई महँगीले थिचिरहेको छ । खाद्यान्न सामग्री आयातमा निर्भर रहँदा बेलाबखत हामीकोमा अभाव सृजना भएको त सर्वविदित नै छ ।
कृषिप्रधान मुलुकमा कृषकका समस्याको सम्बोधन कुनै पनि सरकारले गर्न सकेनन् । यति बेला मानो रोपेर मुरी फलाउने बेलामा रासायनिक मलको अभाव देशभरका किसानले भोग्नुपरेको छ ।

पहाडी भेगमा मकैमा मल राख्ने समय घर्किसक्यो भने तराई र पहाडी भेगमा धान लगाउने धमाधम बेला भएको छ । खेतीको मुख्य समयमा सरकारका तर्फबाट रासायनिक मल किसानलाई वितरण गर्न सकेको छैन । कृषक बाली लगाउने कि नलगाउने भन्ने विषयमा अझै पनि दोधारमै छन् । लगाए पनि हुनुपर्ने जति उत्पादन गर्न नसकिनेमा चिन्ता गरिरहेका छन् । न त कृषि सामग्री कम्पनीले समयमा नै मल आयात गरी कृषकको घरदैलोसम्म पु-याउन सक्यो, न त साल्ट ट्रेडिङले मल वितरण गर्न सकेको छ । किसानले घण्टौं लाइन बसी पैसा तिरेर मल किन्छु, खेती गर्छु, उत्पादन बढाउँछु भन्दा पनि सरकारले समन्वयनकारी भूमिका निर्वाह गर्न सक्दैन ।

अनि हामी कसरी कृषिप्रधान मुलुक भनेर गर्व गर्न सक्छौं ? बिचौलियाका कारण किसानलाई सडकबाटै मल लुट्न-लुटाउन बाध्य बनाइन्छ । रासायनिक मल ल्याउने आधिकारिक संस्था भने अझै टेन्टरकै प्रक्रियामा छ । अनि यस्तो अवस्थामा किसान आक्रोशित बन्न किन नपाउने ?देशमा रोजगारीको सुनिश्चितता हुन नसक्दा थुप्रै युवायुवती विदेशी भूमिमा पलायन हुनुपरेको छ । किसानकै आफ्नै बलबुताले उत्पादन गरेका उत्पादित वस्तुको उचित बजारको व्यवस्था पनि कुनै सरकारले गर्न सकेन ।

किसानले उत्पादन गरेका कृषि सामग्रीको उचित बजारको प्रबन्ध हुन नसक्दा लगानी डुब्ने हुन्छ । सहुलियतमा ऋण प्रवाह नगरिदिँदा बाध्यात्मक अवस्था सृजना भई ऊर्जावान् युवा विदेशिनुपरेको सर्वविदित नै छ । स्वदेशी उत्पादनलाई प्राथमिकता नदिने गर्दा विगतमा किसानले तरकारी बारीमै छोड्नुपरेको थियो भने दूध सडकमै पोख्नुपरेको थियो । अण्डा सडककमै फाल्नुपर्ने, त्यस्तै उखु किसानले आन्दोलन गर्नुपर्ने हुँदा कृषिमा अझै सहजता हुन सकिरहेको छैन ।

सरकारले किसानका पीडालाई एकातिर राख्दै खेतीयोग्य जग्गा बाँझो राखेमा एक लाख रुपियाँसम्म जरिबाना लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भूउपयोग नियमावलीले काबुबाहिरको परिस्थितिबाहेक कृषिक्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसुर गरेको मानिने व्यवस्था गरेको छ । सरकारका यस्ता अव्यावहारिक निर्णयले गर्दा झन् कृषक मारमा पर्ने गरेका छन् । समयमा मल प्रदान गर्न नसक्ने, उचित सिंचाइको व्यवस्था गर्न नसक्ने, आकाशे पानीमा भर पर्नुपर्ने, उत्पादित वस्तुको बजारीकरणको उपयुक्त प्रबन्ध गर्न नसक्ने अनि कृषकलाई जमिन बाँझो राखे कारबाही गर्न खोज्नु मूर्खताको संज्ञा मात्र हो ।

किसानका यति धेरै समस्यालाई एकातिर राखेर ‘राष्ट्रिय धान दिवस’ मनाइरहँदा यी यावत् विषयमा गम्भीरतापूर्वक नलिने हो भने मुलुकले दुर्गति भोग्नुको कुनै विकल्प देखिँदैन ।असार १५ अर्थात् धान दिवस, यो वर्ष १९ औं ‘राष्ट्रिय धान दिवस’ मनाइयो । यस वर्ष ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ देशभरि धान दिवस मनाइएको तस्वीर सञ्चारमाध्यममा देख्न पाइयो । जसरी नाराको प्रतिपादन भएको छ त्यसरी नै व्यावहारी भएको छ कि छैन, या गर्ने प्रयासमा छ कि छैन भन्ने मूलतः विषय रहन्छ ।

दिवसका लागि मात्र दिवस मनाउँदै छौं कि दिवसका रुपमा परिवर्तन ल्याउन खोज्दै छौं ? यतातर्फ ध्यान जान जरुरी छ । धान दिवस त पछि जोडिएको विषयवस्तु हो, तर यस दिनलाई दही–चिउरा खाने पर्वका रुपमा किसानले मनाउँदै आएको परम्परा अहिले देशभर नै चल्दै आइरहेको छ । विदेशी भूमिमा समेत नेपालीभाषी दाजुभाइले यो दिनलाई विशेष बनाएको समाजिक सञ्जालमा देख्न पाउँछौं ।

नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक महत्व बोकेको धान खेती नेपाली समाजको अभिन्न अंगको रुपमा रहेको छ । अधिकांश नेपालीको आधारभूत खाद्यवस्तुको स्रोतका रुपमा रहेको धान बालीले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु-याएको छ । नेपालमा खाद्य सुरक्षा र अर्थतन्त्रमा धानबालीको विशिष्ट स्थान रहेको छ । देशको कुल गार्हस्थ्य उत्पादनमा करिब ५ प्रतिशत हिस्सा, कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा १५ प्रतिशत र देशमा हुने कुल खाद्यान्न आपूर्तिमा करिब ५० प्रतिशत हिस्सा अनि आवश्यक जम्मा क्यालोरीको करिब एक तिहाइभन्दा बढी आपूर्ति गर्ने धानबालीको समग्र अर्थतन्त्रमा उच्च योगदान रहेको छ । जन्मदेखि मृत्युसम्मको नेपाली संस्कारमा धान–चामलको आवश्यकता रहन्छ ।

तर सरकारले भने यसको उत्पादनमा चासो नदेखाई ‘राष्ट्रिय धान दिवस’लाई दिवसको रुपमा मात्र मनाइरहँदा मुलुकको समृद्धि कता जाँदै छ भन्ने प्रश्न उब्जिरहन्छ ।‘राष्ट्रिय धान दिवस’लाई धान दिवसकै रुपमा मनाई उत्पादनमा जोड दिन सक्ने हो भने मुलुकको समृद्धि कृषि कार्यबाटै छ । तर नियति उर्वर भूमि विनाश हुँदै गइरहेको छ, जग्गा प्लटिङ र उच्च शहरीकरणको प्रभाव दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

त्यसैले होला ‘राष्ट्रिय धान दिवस’ अहिले रमाइलोमा परिणत गरियो । कोही नेता मेसिनबाट धान रोपेर चर्चा कमाइरहेका छन् भने कोही धानको माला लगाएर गमक्क परेका छन् । कोही नेता बाउसे गरेर सहानुभूति बटुल्दै छन् अनि शहरिया रोपारे भने गमलामा धान रोपेर कृषिप्रधान मुलुकको संज्ञा दिँदै छन् । यस्ता हर्कत हरेक वर्षको धान दिवसमा देख्न सकिन्छ । अनि कसरी मुलुकमा समृद्धिको आश राख्ने ? रोपारे, बाउसेभन्दा बढी ती चटक देखाउनेको फोटो खिच्न, सेल्फी लिन, टिकटक बनाउन आतुर भएका देख्दा के ‘राष्ट्रिय धान दिवस’ले सार्थता पाउँछ त ? यस्ता विकृतिले किसानका समस्याका सम्बोधन त परको विषय हो, हिजो धान दिवसका दिन लगाएको धान कस्तो भयो भनी फर्केर हेर्नसम्म पनि जाँदैनन् ।

हाम्रो देश नेपाल कृषिप्रधान मुलुक भनेर मेरो दाइले, दिदीले, काकाले, काकीले, बुबाले, आमाले भन्दै मात्र आउनुभएन, पाठ्यसामग्रीमा समेत पढ्दै आउनुभयो । त्यही कुरा मैले पनि नपढेको होइन, पढेरै आएको हुँ । आज त्यही कुरा मेरा सन्ततिले समेत पढ्दै आइरहेका छन् । यो हेर्दा लाग्छ, हाम्रा शेषपछि आउने भावी सन्ततिले पनि हाम्रो मुलुक कृषिप्रधान मुलुक हो भनेर पढिरहेका हुन्छन् । हुन त कृषिप्रधान हुनु राम्रो हो तर खोइ त यहाँ कृषिमा पर्याप्तता ।

त्यति बेला, जति बेला मुलुकमा जनसंख्या कम थियो, आम मानिसको कार्य भनेकै कृषि पेसा थियो, माटोमा रमाउने परम्परा थियो, हो त्यो बेला कृषिकार्यमा आत्मनिर्भर थियौं होला, कृषिमा समृद्धि देखिएको होला, त्यसैले हाम्रो मुलुक कृषिप्रधान मुलुक भनी चिनाइयो । यस्ता कुरामा हामीलाई गर्व महसुस हुनु नै पर्छ । तर त्यसको निरन्तरता अहिलेसम्म कायमै भएको भए हाम्रो मुलुकको समृद्धिको अवस्था नै फेरिसक्थ्यो । तर विडम्बना, अहिले त्यो अवस्था रहन सकेन ।

त्यो सिंगो मुलुकको लागि दुःखको विषय बनेको छ ।कुनै जमाना थियो, नेपालमा उत्पादन भएका विभिन्न कृषि सामग्री विदेशी मुलुकमा निर्यात हुन्थे । अहिले समय फेरिएको छ । अहिले हामीले प्रयोग गर्ने दैनिक सामग्रीहरु अन्य मुलुकबाट आयातित भई सकेका छन् । हामी कुनै पनि सामग्रीमा आत्मनिर्भर हुनै सकिरहेका छैनौं । सुन्दा पनि आश्चर्य लाग्छ, हामीले खाने हरेक वस्तु, लगाउने हरेक वस्तु, चढ्ने, चलाउने यी यावत् विषयमा हामी आयातित सामग्रीकै प्रयोग गरिरहेका हुन्छौं । हुन त विश्व नै परनिर्भरमा छ, कुनै पनि मुलुक आत्मनिर्भर बन्न सकिरहेका छैनन् तर प्रयास भने गरिरहेका हुन्छन् ।

हाम्रो मुलुकमा सम्भाव्यता हुँदाहुँदै पनि हामी परनिर्भरमा बाँच्न रमाइरहेका छौं । साहसिक नेपाली, कर्ममा विश्वास गर्ने नेपाली, माटोलाई माया गर्ने र माटोसँग रमाउने नेपालीलाई आज रेमिट्यान्सले अल्छी र यसको प्रभावले बिगारेको छ । यो सिंगो मुलुकको लागि विडम्बनाको विषय बनेको छ । यसको समाधान समयमा नै नखोज्ने हो भने हाम्रो मुलुक श्रिलंकाको पथमा जान कुनै समय नै लाग्दैन, जुन चिन्ताको विषय बनेको छ ।
गरिबीले दिनप्रतिदिन गिजोल्दै छ भने अर्कोतर्फ रोजगारीका लागि विदेशिनु बाध्यता छ ।

विदेशी भूमिमा कमाएर नेपालमा रेमिट्यान्स पठाएकै कारण परिवारमा जाँगर हराउँदै गएको छ । एक परिवारको एक व्यक्तिले विदेशबाट पठाएको रेमिट्यान्सले उसको सिंगो परिवार विनादुःख पाल्न सक्ने हुँदा कृषिमा जाँगर बढ्नै छोडेको अनुमान लगाउन गाह्रो पर्दैन । गाउँ–गाउँमा यस्ता विकृतिले कृषि उत्पादनमा कमी आएको छ । सरकारले यस्तो अवस्था देख्दादेख्दै पनि कुनै पहल कदमी नगरिदिँदा हामीले परनिर्भर भई बाँच्नुपरेको छ । यस्तो अवस्था कहिलेसम्म रहने हो ?

प्रतिक्रिया दिनुहोस्