टयाक्टर दुर्घटनाका घाइतेलाई उपचारमा कमी हुन नदिन गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा भएको टयाक्टर दुर्घटनाका घाइतेलाई स्वास्थ्य संस्थामा पु¥याउन र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले गृह सचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवाडा, नेपाल प्रहरीका जिल्ला प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख प्रहरी नायव उपरीक्षक विशाल सिलवाललाई घाइतेलाई तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

घाइतेको उपचारको अभाव हुन नदिन गृहमन्त्री खाणले निर्देशन दिएको र त्यसै अनुरुप आफूहरूले विरामीहरूलाई अस्पतालसम्म पु¥याउने व्यवस्था मिलाएको प्रजिअ खतिवडाले बताए ।

४४ मलामी बोकेको को २ त ३९६१ नम्बरको टयाक्टर खाँदबारी–लेगुवा सडकखण्डको चैनपुर–१० दुम्कटामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र ३१ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए । घाइतेमध्य ८ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

गम्भीर ६ विरामीलाई स्थानीय अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रजिअ खतिवडाले जानकारी दिए ।

गम्भीर घाइते दुई जनाको जिल्ला अस्पताल खातबारीमा उपचार भइरहेको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की रहनुभएको प्रजिअ खतिवडाले जानकारी दिए ।

प्रहरीले सवारी चालक चैनपुर नगरपालिका–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्