दुर्गाको दर्द मेडिकल शिक्षामा लगानी बन्द

दुबई पलायनको तयारी



काठमाडौं  ।

मेडिकल व्यवसायी एवम् नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईं चर्चित सुधारक डाक्टर गोविन्द केसीका सशक्त विरोधी रहेको सबैलाई थाहा छ । आन्दोलनकै कारण बारम्बार सरकारलाई झुकाउन सफल डा. केसी दुर्गा प्रसाईंका दर्द बन्नुभएको छ । ‘डा. केसीकै कारण अबका केही वर्षमा नेपालमा नर्स र डाक्टरको अभाव हुने निश्चित छ, नेपालका ठूलाठूला मेडिकलले विदेशी जनशक्ति ल्याएर सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना हुने अवस्था आउँदै छ’ –दुर्गाले दाबी गर्नुभयो ।

नेपाल समाचारपत्रसँग कुराकानी गर्दै उहाँले डा. केसीकै कारण मेडिकल शिक्षाका नाममा वार्षिक ४६ अर्ब विदेश जाने गरेको खुलासा गर्नुभयो । उहाँले भन्नुभयो– ‘नेपालमा मेडिकल शिक्षामा लगानी गर्न बन्द गरिएको छ । डाक्टर, नर्स पढ्न चाहनेहरू विदेश जान थाले । नेपालको पैसा विदेशतिर जान थालेपछि नेपालमा डलरको अभाव हुन थालेको हो ।’ उहाँले अहिले नेपालमा डलर अभाव हुनुको मुख्य कारण मेडिकल शिक्षामा लगाइएको प्रतिबन्ध भएको बताउनुभएको छ । अहिले अलिअलि असर देखा परे पनि स्थिति यस्तै रहे अबको दुई वर्षमा नेपालमा डलर लगायत डाक्टर नर्सको पूर्णतः अभाव हुने उहाँको दाबी थियो ।

पढेका बौद्धिक भनिएका व्यक्ति विदेशीका इसारामा चलेको हुँदा विदेशीकै इसारामा देशमा मेडिकल शिक्षा बन्द भएको उहाँको धारणा थियो । डाक्टर केसीका माग हेर्दा सुन्दा लोकप्रिय लागे पनि वास्तवमा त्यस्तो नभएको उहाँको धारणा थियो ।‘सबै नागरिकले समान शिक्षा पाउनुपर्छ, मेडिकल शिक्षा नेपालका सबै दूर दराजमा पुग्नुपर्छ भन्ने नारा साच्चिकै लोकप्रिय सुनिन्छ हामी पनि यही चाहन्छौं तर यस्ता आदर्शवादी नाराले काम हुन सक्दैन ।’

मेडिकल शिक्षा काठमाडौंमा मात्रै केन्द्रित भयो, यसलाई काठमाडौं बाहिर पनि लानुपर्छ भनेर प्रचार गरियो तर वास्तवमा त्यसो भएन, उहाँले उल्लेख गर्नुभयो– ‘काठमाडौंमा मेडिकल कलेज धेरै भए देशका दूर दराजमा लैजान आन्दोलन गरिएको हो भनेर प्रचार गरियो तर काठमाडौंभन्दा बाहिर झापामा खोल्न खोजिएको मेडिकल कलेजसमेत खोल्न दिइएन । म १० वर्षदेखि मेडिकल कलेज काठमाडौं बाहिर झापामा खोल्न पाऊँ भन्दै चिच्याइरहेको छु ।’

प्रसाईले नेपालमा लगानीको कुनै वातावरण नभएका कारण अब छिट्टै नै नेपालबाट ५०–५५ ठूला व्यापारी र ५ ठूला नेता विदेश पलायन हुन लागेको रहस्यसमेत उहाँले खुलाउनुभएको छ । तर यस रहस्यलाई भरपर्दो बनाउन कुनै ठोस प्रमाण भने उहाँले दिनुभएन ।प्रसाईंले भन्नुभयो – ‘नेपालमा लगानी गर्न पाऊँ भन्दै १० वर्षसम्म कराएँ तर कसैले सुनेनन् । जे गर्छु नेपालमै गर्छु भन्ने थियो तर अब सकिएन त्यसैले अब दुबईमा मेडिकल कलेज खोल्ने तयारी गरेको छु’ प्रसाईंले आफैं पनि पलायनका क्रममा रहेको संकेत गर्नुभयो ।

निजी क्षेत्रबाट सञ्चालित ७८ वटा नर्सिङ कलेजका विद्यार्थी पढाउनबाट वञ्चित भएको भन्दै चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार ती कलेज बन्द भएको उहाँको धारणा थियो । ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न सय शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था छ ।सय शय्याको अस्पताल बनाउन नसकेका कलेज बन्द हुने उहाँको भनाइ थियो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएका ती कलेज बन्द हुँदा तीन हजारभन्दा बढी विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित भए भन्ने उहाँको विश्लेषण छ ।

सीटीईभीटीको मापदण्ड अनुसार ५० र सय शय्याको अस्पतालबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा रहेका ती शैक्षिक संस्थाले ऐनमा भएको सय शय्याको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्थाका कारण भर्ना लिन नपाएको उहाँको भनाइथियो ।‘एक कलेजले ४० विद्यार्थी पढाउँछ, जसमा ४ जना पूर्ण छात्रवृत्ति र ३६ जना शुल्क तिरेर पढ्दै आएका थिए । यसरी निजी शिक्षण संस्थाहरूले हरेक वर्ष ३ सय १२ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएका थिए । ती विद्यार्थीलाई सरकारले पढाउनुपर्ने भएमा ८ वटा कलेज खोल्नुपर्ने हुन्थ्यो ।’ यसरी कलेज बन्द हुँदा हरेक वर्ष ३ हजार १२० जना विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित भएको उहाँको भनाइ थियो ।

भर्ना रोकिएपछि चार हजार ६ सय ९३ जनाको रोजगारी गुमेको छ । जसमा मास्टर डिग्री गरेका ७८ जना नर्स, ब्याचलर डिग्री गरेका ८ सय ८० नर्स, पीसीएलनर्सिङ तथा पारामेडिकल एक हजार ३ सय ७० जना, प्रशासनिक कर्मचारी एक हजार ७५ जना र सपोर्ट स्टाफ एक हजार २ सय ९० जनाको रोजगारी गुमेको उहाँको विवरण छ ।अबको दुई वर्षभित्रमा ती नर्सिङ शिक्षण संस्थामा कार्यरत सबैको रोजगारी गुम्ने स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका अध्यक्ष डा नेत्रराज चटौतको पनि भनाइ छ । चटौतले भन्नुभयो – ‘अहिले पहिलो वर्षमा पढाउने शिक्षक हटाइसक्यौँ ।

त्यस्तै, प्रशासनिक कर्मचारी, ड्राइभर, कार्यालय सहयोगी, सुरक्षा गार्ड लगायतका कर्मचारी कटौती गर्दै आएका छौँ ।’ अब दोस्रो र तेस्रो वर्षमा पढाइरहेका शिक्षक, कर्मचारीलाई पनि पढाइ सकिनेबित्तिकै जागिर छोड्न भनिसकेको उहाँको भनाइ थियो । यस विषयमा डा. केसीको डरले कदम चाल्न नसकिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्