बल्ल बकपत्र, पैसा कहिले पाउलान् ?

सहकारी घोटाला प्रकरण



कुमार श्रेष्ठ, बाँके ।

सहकारी वित्तीय विकास संस्था लिमिटेड, नेपालगन्जमा ४३ करोडको घोटाला भयो । सञ्चालकका बीचमा कुरा मिल्न छोडेपछि घटना बाहिर आयो । सहकारीमा पैसा राखेका १ हजार ८ सय ४ जना पीडित भए ।

तीन वर्षसम्म सञ्चालकलाई समात्ने, जेल हाल्ने या धरौटीमा छोड्ने काम भयो । सहकारीका सञ्चालक र उपल्लोस्तरका ४१ जना कर्मचारी डामिए । अहिले ६ जना जेलमा छन् । ३४ जना धरौटीमा छुटेका छन् भने एक जना अझै फरार छन् ।पीडितले नेपालगन्जका पूर्वमेयर विजय गुप्ताको संयोजकत्वमा संघर्ष समिति बनाएका छन् । आशुतोष शुक्ला सहसंयोजक रहेको संघर्ष समितिले निरन्तर आन्दोलन गर्दै आइरहेको छ । पीडितले अदालत, प्रहरी, जिल्ला प्रशासन कार्यालयमा निरन्तर दबाब बढाइरहेका छन् । चर्को दबाबकै कारण यतिबेला पीडितको बकपत्र लिने काम भइरहेको छ ।

संघर्ष समितिका सहसंयोजक शुक्लाका अनुसार १ हजार ९ जनाको बकपत्र सिद्धिएको छ । १ हजार ९ जनाको २६ करोड ९४ लाख ५ हजार ८ सय ८२ रुपियाँ देखिएको छ । बिहीबारदेखि ५ सय १७ जनाको बकपत्र शुरू भएको छ । ५ सय १७ जनाको ८ करोड ८९ लाख ८५ हजार ५ सय ३१ रुपियाँ रहेको छ ।बकपत्रमा अझै धेरै जना छुटेका छन् । उनीहरूलाई समेट्नुपर्छ । बकपत्र सिद्धिएपछि मुद्दा पेशीमा जाने र बहस शुरू हुन्छ । त्यसपछि पीडितको रकम पाउने क्रम शुरू हुने पीडितहरूको बुझाइरहेको छ । रकम अपचलन (हिनामिना) गरेका सञ्चालक तथा उच्चस्तरका कर्मचारीको सम्पत्ति रोक्का भइसकेको छ । उनीहरूविरुद्ध सहकारी रकम अपचलन, ठगी र संगठित अपराधमा मुद्दा चलाइएको छ ।

बकपत्रका लागि प्रहरी र सरकारी वकिलको कार्यालयले समय सीमा तोकिदिएको थियो । समयमा धेरै जना पीडित सम्पर्कमा आइसकेका छैनन् । थोरै पैसा भएकाहरू धेरै जना छुटेकाले उनीहरूलाई पनि सामेल गराउनुपर्ने आवाज उठेको छ । संघर्ष समितिका सहसंयोजक शुक्लाले छुटेकालाई पनि सामेल गराउन लागि परेको बताउनुभयो ।

घरखेत बेचेर ठूलो रकम राखेका, विदेशबाट आफन्तले पठाएको पैसा राखेका धेरै जना सम्पर्कमा आएका छन् । पसलबाट दैनिक दुई तीन सय जम्मा गर्नेहरू बकपत्रमा छुटिरहेका छन् । शुक्लाले एक हजार जना बकपत्रमा छुटिरहेको आकलन गर्नुभयो । बकपत्रका लागि शुरूमा प्रहरी कार्यालयमा जाने र त्यहाँबाट एउटा पत्र लिएर सरकारी वकिलको कार्यालयमा आउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्