संगीत-नाट्य प्रतिष्ठानको प्राज्ञ सभा

0
Shares

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२औं प्राज्ञ सभा मंगलबार राजधानीमा सम्पन्न भएको छ।प्रज्ञा सभाको शुभारम्भ गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र स्थापना र संरक्षणमा कलाकार तथा साहित्यकारले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे। संगीत-नाट्य प्रज्ञा-प्रतिष्ठान भनेको कला र कलाकारको संस्था हो। सामान्यतया कलाकारलाई राष्ट्रको गहना भनिन्छ।

तर, हाम्रो देशमा लोकतन्त्रको स्थापना र संरक्षणमा कलाकार-साहित्यकारले निर्वाह गरेको भूमिकालाई हेर्दा कलाकार-साहित्यकार भनेका राष्ट्रको एक महत्वपूर्ण अंगसमेत हुन् भन्ने प्रमाणित हुन्छु कार्यक्रमलाई सम्बोधन गर्दै प्रधामन्त्री देउवाले भने।

उनले नेपाली कला, संगीत र नाट्य क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको जनाउँदै कलाकार र सर्जक राष्ट्रिय गहना तथा सम्पदा भएको बताए। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकार कला, संगीत र नाट्य क्षेत्रको विकासमा मुलुकले कलाकार र सर्जकलाई अधिकतम सहयोग गर्नुपर्छ भन्नेमा सचेत रहेकोसमेत दाबी गरे। कला, संगीत र नाट्य क्षेत्रको विकासका लागि सरकारले के गनुपर्छ त्यसका लागि आवश्यक सहयोग उपलब्ध गराउन सरकार तयार छ, प्रतिष्ठानले मुलुकका विभिन्न क्षेत्रमा छरिएर रहेका भौगोलिक जीवन, संस्कृति र सम्पदाको प्रचारप्रसार तथा संरक्षण गर्दै आएकोमा प्रशंसा गर्दैै देउवाले भने।

आयोजक नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले तालिम, कार्यक्रम, कार्यशालालगायत विभिन्न गतिविधिका साथ प्रतिष्ठानले संगीत, नृत्य र नाट्य क्षेत्रको संरक्षण र संवद्र्धन गर्दै आइरहेको जानकारी गराउँदै सदियौँदेखि देशमा लुकेर रहेका तथा लोपोन्मुख कला र कलाकारलाई प्रतिष्ठानले कार्ययोजनामार्फत स्थान दिँदै यसको संरक्षण र उजागर गर्न निरन्तरता दिइरहेको प्रष्ट्याए। संगीतमा उच्च शिक्षा हासिल गर्नका लागि विदेश जानु नपरोस् भनेर युनिभर्सिटीबाट मान्यताप्राप्त कोर्स बुकको प्रकाशनमा ल्याइन लागेको जानकारी प्रधानमन्त्रीज्यूलाई गराउन पाउँदा निकै खुसी लागिरहेको छु उपकुलपति शर्माले भने।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुध्रले कला, साहित्य र संगीत क्षेत्रका लागि सरकारी तवरबाट विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै राणाकाल, पञ्चायतकालको केही राम्रो गुण छ भने त्यसलाई ग्रहण गर्नुपर्नेमा बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले सच्चा कलाले जीवन बाँच्न सिकाउने चर्चा गर्दै प्रतिष्ठानले नेपाली कलाको संरक्षणमा महत्वपूर्ण कार्य गरेको बताए। उनले नेपाली कला, संगीत र नाटकलाई विश्वमञ्चमा प्रस्तुत गर्ने वातावरण बनाउनुपर्ने चर्चा गरे। प्रतिष्ठानले नेपाली कलाको संरक्षणमा उल्लेखनीय काम गर्दै आएको छ। नेपाली कलालाई संरक्षण र संवद्र्धन गर्नु संगीत तथा नाट्य प्रतिष्ठानको महत्वपूर्ण काम हो भने यसलाई विश्वमञ्चमा प्रस्तुत गर्नु अर्को महत्वपूर्ण काम होु उनले भने।