डा.केसीद्वारा केपी ओली र उनका सहयोगीले फैलाएको अफवाहका सम्बन्धमा छानविन गर्न माग

0
Shares

काठमाडौँ।

पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओली तथा उनका सहयोगिले फैलाएको अफवाहका सम्बन्धमा छानविन गर्न आव्हान गर्दै मेडिकल शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आईतवार एक विज्ञप्ती जारी गरेका छन् ।

प्रेस विज्ञप्ती

विषयः पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओली तथा उनका सहयोगिले फैलाएको अफवाहका सम्बन्धमा छानवीन गर्न आव्हान

आदरणीय पत्रकार मित्रहरु,

दुई पटक सम्म प्रधानमन्त्री भइ सकेका व्यक्ति खड्ग प्रसाद ओली, उनी निकट माफिया पृष्ठभूमिका झापा जिल्लावासी मेडिकल व्यवसायी तथा ओलीद्वारा संरक्षित भ्रष्ट गिरोहमा आवद्ध व्यक्तिहरुले हाम्रो पहलमा सञ्चालित चिकित्सा क्षेत्र सुधारको अभियानलाई निस्तेज पार्न विगत देखि नै हाकाहाकी रुपमा षडयन्त्र गर्दै आएको सर्वविदितै छ । उनीहरुले हामी र हाम्रो अभियानको पक्षमा रहेका व्यक्तिहरुको चरित्र हत्या गर्ने मात्र होइन, भौतिक आक्रमण समेत गर्दै आएका उदाहरण अनगिन्ती छन् ।

पछिल्लो पटक ओली स्वयम् तथा विभिन्न आवरणमा रहेका उनको भ्रष्ट गिरोहका सदस्यहरुले हाम्रो नेतृत्वमा भएको सत्याग्रहलाई बदनाम गर्ने योजना अनुरुप अनेक किसिमका अफवाह फैलाई रहेको र त्यसबाट जनमानसमा भ्रम सृजना हुँदै गएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यहाँसम्म कि, हामीलाई एमविविएस लगायत चिकित्सा शिक्षाको अध्ययनको लागि विदेशमा नेपाली विद्यार्थीहरु पठाउने कार्यमा संलग्न भई अकुत सम्पत्ति आर्जन गरेको र त्यस्तो सम्पत्ति विदेशमा लुकाएको भन्ने सम्मको निकृष्ट प्रकृतिको अफवाह फैलाई रहेका छन् ।

खड्ग प्रसाद ओली आफु स्वयम् झापा हत्याकाण्डमा संलग्न भएको पुष्टी भइ न्यायिक रुपमा हत्यारा प्रमाणित भएका व्यक्ति हुन् भन्ने कुरा समग्र नेपाली जनतालाई जानकारी भए कै विषय हो । उनी राजनीतिको अपराधीकरण तथा चरम भ्रष्टीकरण मार्फत नेतृत्वमा पुगेका व्यक्ति हुन् भन्ने कुरामा कुनै विवाद छैन । तसर्थ, ओली र विभिन्न आवरणमा रहेका उनको गिरोहका सदस्यहरुले आफ्नो कुत्सित स्वार्थ पूर्तिको लागि आम नेपाली जनतालाई भ्रमित पार्ने र सत्याग्रहको बलमा र आम नेपालीहरुको प्रयासमा भई रहेको चिकित्सा क्षेत्र सुधार तथा समग्र सुशासनको अभियानलाई नै तुहाउने योजना अनुरुप निकृष्ट स्तरको अफवाह फैलाई रहेका छन् ।

व्यक्ति हत्याको आरोपमा अदालतबाट हत्यारा प्रमाणित भएको व्यक्ति कुनै पनि सार्वजनिक पदमा निर्वाचित वा मनोनीत हुन अयोग्य रहने विद्यमान कानूनी व्यवस्थाको कार्यान्वयन नभएको कारणले गर्दा खड्गप्रसाद ओली र उनको जस्तै आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरुले राजनीतिको अपराधीकरण र चरम भ्रष्टीकरण गरी राज्य दोहन गर्न सफल भएका हुन् । अब आउने निर्वाचनमा हत्यारा प्रमाणित व्यक्ति निर्वाचित हुन नपाउने विषयलाई राज्य संयन्त्र, राजनीतिक दल तथा समग्र नेपाली जनताले प्राथमिकताका साथ उठान गर्नु पर्दछ भन्ने हाम्रो मान्यता छ ।

साथै, पटक पटक खड्गप्रसाद ओली स्वयम् तथा विभिन्न आवरणमा रहेका उनको भ्रष्ट गिरोहका सदस्यले हामी माथि एमविविएस लगायत चिकित्सा शिक्षाको अध्ययनको लागि विदेशमा नेपाली विद्यार्थीहरु पठाउने कार्यमा संलग्न भई अकुत सम्पत्ति आर्जन गरेको र त्यो सम्पत्ति विदेशमा लुकाएको भन्ने अफवाह फैलाएको हुँदा प्रथमत सो अवफाहमा किन्चित पनि सत्यता नभएको जानकारी दिन चाहन्छौं र ती अवफाहहरुलाई नै उजुरी मानी वा खड्गप्रसाद ओली वा उनका सहयोगिबाट थप उजुरी लिई हामी माथि गम्भीर प्रकृतिको छानवीन गर्नका लागि राज्य संयन्त्र, आम सञ्चार जगत वा अन्य सरोकारवालालाई आव्हान गरिन्छ । त्यस्तो छानवीनको कार्यमा खड्गप्रसाद ओली स्वयम् संलग्न गर्दा पनि हामीलाई स्वीकार्य हुनेछ । त्यसरी छानवीन गर्दा कुनै पनि प्रमाणबाट त्यस्तो कार्यमा संलग्न रहेको देखिएमा जस्तो सुकै कठोर कानूनी कारवाही व्यहोर्न हामी तयार रहेका छौं ।

डा. गोविन्द के.सी.

काठमाडौं, मितिः २०७९ असार १९ गते