काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी लोहरपटी नगरपालिका–७ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोल बस्ने २८ वर्षीय गौरभ शर्मा र काठमाडौं महानगरपालिका–४, वालुवाटार घर भई हाल तारकेश्वर नगरपालिका–१० मनमैजू बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् । उनीहरु कठमाडौं महानगरपालिका–४ बालुटारबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रकम नै नभएको चेक काटिदिएर शर्माले ५५ लाख र गुरुङले नौ लाख ९० हजार रुपियाँ ठगी गरेको आरोप छ । शर्मा र गुरुङले नै रकम नभएको बैंक खाताको चेक काटेर दिएका थिए ।
सो चेक बुझ्नेले दिएको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले आज (शुक्रबार) काठमाडौं महानगरपालिका–४ बालुवाटारबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
पक्राउ परेका प्रतिवादीहरुलाई सम्मानित उच्च अदालत पाटनबाट बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर गरिएको छ ।
प्रतिक्रिया