‘प्रचण्ड, माधव, झलनाथ कम्युनिष्ट आन्दोलनका गद्दार’

0
Shares

काभ्रे। 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड, माधव, झलनाथ कम्युनिष्ट आन्दोलनका गद्दार भएको बताउनु भएको छ । ‘केशरजंग रायमाझी पथमा जानेहरु कम्युनिष्ट आन्दोलनका गद्दार हुन्’–महासचिव पोखरेलले भन्नुभयो–‘जो सँग संर्घष गर्नु छ उसैसँग गठजोड गरेर जानेहरु गद्दार हुन् ।’

नेकपा एमाले काभ्रेले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई, शुभकामना तथा प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिदै महासचिव पोखरेलले दरबारमा लगेर प्रजातन्त्र बुझाउने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई क्रान्तिकारीहरुले गुरु थापेका छन्, घाँटी जोडेका छन्, कम्युनिष्ट आन्दोलनबाट विचलित भएको बताउनु भयो । ‘ताजा जनादेशमा जाने कुरा प्रतिगमन हुन सक्छ ?’–महासचिव पोखरेलले भन्नुभयो–‘यो निर्दलीय  सरकार हो । अदालतले बनाएको सरकार हो । दलको समर्थनमा होइन सांसदहरुको समर्थनमा बनेको सरकार हो । लोकतन्त्रमा यस्तो हुन्छ ?’

महासचिव पोखरेलले गठबन्धनले देश नबन्ने बताउनु भयो । ‘अहिलेको आवश्यकता राजनीतिक ध्रुवीकरण  हो, गठबन्धन होइन’–महासचिव पोखरेलले भन्नुभयो–‘राजनीतिक परिवर्तनका लागि दलहरूको गठबन्धन आवश्यक छ तर मुलुक निर्माण र समृद्धिका लागि गठबन्धन उपयुक्त होइन आवश्यक छैन । यो केवल सत्ताको लुछाचुँडी र अवसर बाधको झुन्ड हो ।’

गठबन्धनले देश बनाउन नसक्ने भन्दै महासचिव पोखरेलले राष्ट्रभक्त, देशभक्तहरू एकै ठाउँमा हुनु जरुरी भएकाले राजनीतिक ध्रुवीकरण  आवश्यक रहेको बताउनु भयो । एमाले र माओवादी मिलेर नेकपा बनेको होइन ? प्रचण्डले पार्टी बन्न दिए ? मोर्चा बनाएर कम्युनिष्ट आन्दोलनको विसर्जन गराएको महासचिव पोखरेलले बताउनु भयो । ‘एकीकृत समाजवादी र माओवादी कम्युनिष्ट र वामपन्थी दुबै होईनन’–महासचिव पोखरेलले भन्नुभयो–‘मुलुक निर्माण र समृद्धिको निर्माण एमालेले मात्रै गर्न सक्छ’–उहाँले भन्नुभयो–‘काँग्रेसको पछि लागेर समृद्धि सम्भव छैन । देश बनाउने हो भने नेकपा एमालेको नेतृत्व आवश्यक छ । एमालेले मात्रै नागरिकको जीवनको सुरक्षा गर्न सक्छ ।’

प्रशिक्षणमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज गोकुल बास्कोटाले जनप्रतिनिधिहरूले जनताको दु:ख सुखमा एकाकार भएर काम गर्नु पर्ने बताउनु भयो । पार्टीले टिकट दिएर निर्वाचित भए पनि सबै जनताको पक्षमा काम गर्नु बास्कोटाले निर्देशन दिनु भयो ।

एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले जनप्रतिनिधिहरूले पार्टी संगठ नागरिकहरु प्रति प्रतिवद्ध हुनु पर्ने बताउनु भयो । एमाले काभ्रेले १३ वटा पालिकाको ७ सय १ पद मध्ये २ सय ४१ पदमा विजयी हासिल गरेको छ ।

कार्यक्रममा एमाले काभ्रेबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य रुकमणी राना, बागमती प्रदेश कमिटी उपाध्यक्ष रामहरि सुवेदी, जिल्ला कमिटी पदाधिकारीहरू उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उप सचिव राजकुमार सापकोटा र रिता ढकाल, जिल्ला कमिटी सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।