जलाउँदै गरेको अवस्थामा किशोरीको शव बरामद

0
Shares

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरबाट जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय छपकैंया आर्यघाटमा आधा जलेको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

शंकास्पद रुपमा मृत्यु भएकी १४ वर्षीया महिमा कुमारीको शव प्रहरी र गाउँलेलाई जानकारी नै नदिई परिवारले अन्त्येष्टि गरेका थिए । परिवारले घरमै विष सेवन गरेर उनले आत्महत्या गरेको बताएका छन् ।

घटनाबारे सूचना पाए लगत्तै प्रहरीले टोली परिचालन गरेर बुधबार राति नै शव नियन्त्रणमा लिएको थियो । घटनाबारे अनुसन्धानका लागि मृतकको दिदी, आमा र ठूलीआमालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

खबर पाए लगत्तै प्रहरी परिचालन गर्दा पनि शरीरको ५० प्रतिशत भाग जलिसकेको अवस्थामा बव बरामद भएको र उनको आत्महत्या हो या हत्या गरेर जलाउन खोजिएको हो ? भन्ने बारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीका अनुसार मलामी गएका केहि मानिस प्रहरीलाई देखेपछि भागेका थिए । घरका लोग्ने मानिस पनि सबै फरार छन्, उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको छ ।

घटनाबारे प्रहरीमा जाहेरी दिने मानिस पनि कोहि आएका छैनन् । प्रहरी प्रतिवेदनकै आधारमा अनुसन्धान प्रक्रिया अगडि बढाउने प्रहरीको तयारी छ । स्थानीयबासिन्दाका अनुसार महिमाको गाउँकै एउटा केटासँग प्रेम सम्बन्ध थियो ।

यसबारेमा चर्चा भएपछि उनलाई अभिभावकले सम्झाइ बुझाइ समेत गरेका थिए । उनले आफूले केटा छोड्न नसक्ने बताएपछि अभिभावकले मनसिक र शारीरिक यातना समेत दिने गरेको गाउँलेले बताएका छन् ।

उनले बुधबार राति विष सेवन गरि आत्महत्या गरेको भन्दै अभिभावकले प्रहरी र गाउँलेलाई खबर नै नगरी शव जलाउन थालेका थिए ।