आमाको मृत्यु पश्चात् बाबुले दोस्रो विवाह गरेपछि पाँच भाइबहिनीकाे बिचल्ली

वीरबहादुर बम 



मुगु । छायानाथ रारा नगरपालिका–११ रोवा गाउँका पाँच जना बालबालिका बिचल्लीमा परेका छन् । गत पुस १५ गते उपचारका क्रममा जिल्ला अस्पताल मुगुमा आमा काली दमाईको २८ वर्षको उमेरमै मृत्यु भएपछि उनकी पाँच छोराछोरीको बिचल्ली भएको हो ।

श्रीमतीको मृत्युपछि ४० वर्षीय श्रीमान् जसरखर दमाईले दोस्रो विवाह गरेर भारत गएपछि उनीहरुको झन् विचल्ली भएको छ । बेसहारा बनेका १३ वर्षीय विसाल, ९ वर्षीया अस्मिता, ६ वर्षीय नरेश, ४ वर्षीया पार्वती र १८ महिनाका श्रीखण्डलाई हजुरबुबाले जेनतेन स्याहारसुसार गर्दै आएका छन् ।

हजुरबुबाले गाउँमा मागेर ल्याएको चामल र पीठोले जसोतसो उनीहरु बाँचिरहेका छन् । कहिलेकाहीँ भोकै पनि सुत्ने गरेका छन् । श्रीमतीको मृत्युपछि जसरखरले दोस्रो विवाह गरेर छोराछोरीलाई छाडेर भारत गएपछि घरमा नर्फकेको हजुरबुबा हरियो दमाई बताउँन् ।

घरमा कमाउने कोही नभएका कारण उनीहरूलाई बिहान–बेलुकीको छाक टार्नसमेत मुस्किल परेको छ । हजुरबुबा हरियो दमका रोगी छन् । उनी टाढा–टाढासम्म हिडडुल गर्न सक्दैनन् । स–साना बालबच्चाको पेट कसरी भर्ने भन्ने चिन्ताले हजुरबुबा हरियो दमाईलाई सताइरहन्छ ।

विद्यालयमा पढ्नका लागि अति आवश्यक पाठ्यपुस्तक र कापी–कलमसमेत नहुँदा उनीहरू स्कूल जानबाट पनि बञ्चित बनेका फुपू जौमती नेपालीले बताइन् । तीन लाख ऋण गरेर उपचार गर्न काठमाडौं पुर्याए पनि बुहारी गुमाउनु परेको उनले पीडा सुनाइन् ।

दमाईको सम्पत्तिको नाममा दुई हलको पाखोबारी छ । घरमा काम गर्ने मान्छे कोही नभएपछि त्यो पाखोपनि बाँझिएको छ ।

प्रतिक्रिया दिनुहोस्