थाइल्यान्डमा जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र

निर्मल निवास कुर्दै पारस सबै आफन्त थाइल्यान्ड पुगे



काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्रले ७६औं जन्मोत्सव थाइल्यान्डमा मनाउने हुनुभएको छ । दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६औं जन्मोत्सव थाइल्यान्डमा मनाउन लाग्नुभएको हो ।

पूर्व युवराज एवं छोरा पारस शाहबाहेक सबै परिवार र आफन्तसँग यही २३ गते जन्मोत्सव मनाउँदै हुनुहुन्छ । २३ गतेबाट ७७औं वर्ष प्रवेश गर्ने पूर्वराजा ज्ञानेन्द्रले ३ वर्षदेखि सार्वजनिक समारोह गरी जन्मोत्सव मनाउनुभएको छैन ।

उहाँले गत वर्ष झापा र त्यसअघि हात्तीवन रिसोर्टमा सपरिवार जन्मोत्सव मनाउनुभएको थियो । कोभिडका कारण सार्वजनिक रूपमा जन्मोत्सव नमनाएका ज्ञानेन्द्रले यो वर्ष सबै आफन्तसँगै बसेर विदेशमा जन्मोत्सव मनाउन लाग्नुभएको हो । जन्मोत्सव समारोहमा सहभागी हुन नाति हृदयेन्द्र शाह अमेरिकाबाट नेपाल आइपुग्नुभएको छ । नेपाल फर्केको करिब दुई सातामा उहाँ थाइल्यान्ड पुग्नुभएको छ । बुहारी हिमानी शाह, दुई नातिनी पूर्णिका र कीर्तिका उच्चशिक्षा अध्ययनको क्रममा बैंककमै छन् । तीबाहेक छोरी प्रेरणा, धीरेन्द्रपुत्री दिलासा र पूजा पनि थाइल्यान्ड पुगिसक्नुभएको छ ।

त्यसै गरी प्रभुशमशेरका परिवार, बहिनी, ज्वाइँलगायत पूर्वराजपरिवारका अधिकांश सदस्य थाइल्यान्ड पुगिसकेका छन् । बैंककको एक होटलमा जन्मोत्सव मनाउने कार्यक्रम तय भएको छ । जन्मोत्सवमा परिवारका सदस्यबाहेक निजी सचिव सागर तिमल्सिना, निजी सुरक्षाकर्मी, सशस्त्रका डीएसपीलगायत सीमित कर्मचारी सहभागी रहनेछन् ।दुई छोरीको पढाइ व्यवस्थापन गर्न करिब ६ महिनादेखि हिमानी थाइल्यान्डमै रहनुभएको छ । परिवारका सबै सदस्य र आफन्तहरू थाइल्यान्ड पुगे पनि ज्ञानेन्द्र पुत्र पारस शाह एक्लै निर्मल निवासमा बसिरहनुभएको छ । ‘उहाँ केही कर्मचारीका साथ एक्लै निर्मलनिवासमा बसिरहनुभएको छ’ – निर्मल निवास स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।

यसअघि पूर्वराजा ज्ञानेन्द्र र उहाँको परिवार थाइल्यान्ड भ्रमणमा जाँदा पारस एक्लै निर्मल निवासमा बस्नुभएको थियो । यो वर्ष पनि बुबाको जन्मदिन मनाउन कतै जानुभएन । पछिल्लो समय निर्मल निवासमा बस्दै आएका पूर्वयुवराज पारस दिनभरजसो निर्मल निवासमै बस्ने गर्नुभएको छ । आफ्ना छोरा, दुई छोरी र श्रीमतीलगायत सबै परिवार बैकक गए पनि उहाँ घर कुर्न बस्नुभएको छ’ –स्रोतले भन्यो । यसैबीच युवा विश्व हिन्दु महासंघले पूर्वराजाको तस्वीरमा माल्यार्पण गरी जन्मोत्सव मनाउने तयारी गरेको छ ।

महासंघका अध्यक्ष राजन महर्जनले हनुमानढोका परिसरमा ज्ञानेन्द्रको तस्वीरमा माल्यार्पण गरी जन्मोत्सव बनाउने तयारी गरेको जानकारी दिनुभयो । ‘कार्यक्रममा राजावादीका अलावा राजसंस्थाप्रति आस्था राख्ने नेपाली जनताको स्वस्फूर्त रूपमा सहभागी हुन अपिल गरेका छौं’ –अध्यक्ष महर्जनले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्