काठमाडौंको पशुपतिनाथ मन्दिरमा दैनिक सयौं जनाको दाहसंस्कार गरिन्छ । एउटा शव जलाउनलाई न्यूनतम ३५ र अधिकतम ५० हजार रुपियाँ खर्च गर्नुपर्ने हुन्छ ।
अधिकांश व्यक्तिहरु काजकिरिया गर्नका निम्ति पशुपतिमै बसोबास गर्छन् । त्यहाँ पनि पैसा हुने र नहुनेलाई छुट्याउने गरेको पाइन्छ । १३ दिन किरिया बस्न झन्डै लाखले पुग्दैन । जो धनी छ उसले राम्रो कोठा र सेवासुविधा पाउँछ तर आर्थिक अवस्था कमजोर भएका गरिबलाई त्यहाँ भेदभाव गरिएको छ । उनीहरुलाई चाहिँ पुरानो र अँध्यारो कोठा दिइन्छ ।हरेक प्राणी जन्मिसकेपछि मर्छ नै, ढिलो र चाँडोको कुरा मात्र हो । कुनैले छिट्टै प्राण त्याग्छन् भने कुनै अलिक धेरै समय टिक्छन् । कुनै पनि आमाको कोखमा गर्भ आउनेबित्तिकै राज्यलाई कर तिर्न पर्छ ।
पहिले दुईजनाले तिर्थे भने अब तीनजना हुन्छ । ऊ जन्मिसकेपछि देशमा विकास गर्छ । राज्यलाई कर तिर्ने र नेताहरुलाई भोट दिने पनि उही नै छ । आफ्नो हातपाखुरा चलेसम्म उसले राज्यकै निम्ति योगदान पु¥याइरहेको हुन्छ । तर, नेपाल सरकारले गरेको व्यवहारले उसको मन भतभती पोलेको छ । हिजो बाँचुन्जेल त उसले खाइनखाइ राज्यलाई कर ति¥यो । मरेपछि पनि कर तिर्नुपर्ने कस्तो नीति हो यो ? हरेक नेपालीको सरकारलाई प्रश्नः हामी जन्मेको कर तिर्न मात्र हो ? राजनीतिक दललाई भोट हाल्न मात्र हो ? त्यो भन्दाबाहेक हाम्रो केही काम छैन ?
एउटा नागरिकता दिएर सरकारले जनताको प्रयोग गरेको छ । नेपाली हौ भनेर नागरिकता त दिएको छ तर जनताले के सेवासुविधा पाएका छन् ? शव जलाएको पनि पैसा उठाउने कस्तो लाज पचेको सरकार ? देशमा रोजगारीको अभाव भएर दिनहुँ हजारौं नेपाली खाडी भित्रिरहेका छन् । खाडीको चर्को घाममा आत्था पनि नभनी काम गर्नुपर्ने बाध्यता उनीहरुलाई छ । नाडीमा बल भएसम्म काम गर्छन्, तर नसकेपछि उनीहरुको पनि त्यही बेहाल हुन्छ । सुखको भविष्य देखेर विदेशिएकाहरु कफिनमा प्याक भएर आइरहेका छन् । त्यस्ता व्यक्तिको शव जलाउन पनि पैसा तिर्नुपरेको छ । अहिले पनि यस्ता थुप्रै जिल्ला छन् जहाँ सामान्य ज्वरो आउँदा सिटामोल पनि पाइँदैन ।
उपचारको खोजीमा ऋण काढेर दुर्गम जिल्लाबाट उपत्यका धाउने यत्तिकै छन् । उपचारको क्रममा अस्पतालको बेडमा प्राण त्याग्छन् । तर, लास जलाउन पैसा हुँदैन । अनि के गर्ने ? गाउँमा रोजगारीको अवसर छैन । उनीहरुसँग खाँचो परेको बेला एक सय रुपियाँ झिक्न सक्ने पनि अवस्था छैन । तैपनि उपचार गर्न ऋण काढेर, पैदल यात्रा गरेर काठमाडौं आउँछन् । उनीहरुसँग आवाज त छ तर नेपाली नै राम्रोसँग बोल्न जान्दैनन् । न अस्पतालमा सोर्सफोर्स लगाउने क्षमता छ, न कुनै नेता नै चिनेको छ । सोझो भएको कारण हरेक क्षेत्रबाट हेपिएको छ । सरकारको आँखा उनीहरुतिर पर्दैन ।
स–साना बालबच्चा घरमा छोडेर आएका उनीहरुलाई यताबाट ठग्छन्, उताबाट लुट्छन् । सरकारले सित्तैमा दिने भनेको औषधि पनि उसले पाउँदैन । किनकि ऊ यसबारे अनभिज्ञ छ । चिकित्सकहरुको एउटै सोचाइ कसरी धनी बन्ने मात्र हो । आउँछन्, हाजिर गर्छन् र आफ्नो निजी क्लिनिकतिर धाइहाल्छन् । सात डाँडा काटेर आएकाहरुले बेकारमा सास्ती मात्र पाउँछन् । भनेको बेला डाक्टर हुँदैनन्, घर फर्किऊँ भने त्यत्रो पैसा खर्च भइसकेको हुन्छ । यतै बसौं भने लज भाडा तिर्न सक्ने हैसियत छैन ।
सीधासाधी जनता जताबाट पनि पिल्सिरहेका छन् । सरकारी अस्पतालमा छिरेपछि ठीकठाक व्यक्ति पनि बिरामी हुन्छन् । बिरामीलाई रोगले झनै च्याप्छ भने सद्दे थला पर्छन् । सरकारी अस्पतालको सेवासुविधा राम्रो हुँदा अकालमा ज्यान गुमाइरहेका छन्, जनता । जति नै पढे पनि नेपालीमा चेतनाको अझै पनि अभाव छ ।उपचार गर्दागर्दै बिरामीले प्राण त्याग्छ तर सबै पैसा चुक्ता नगरेसम्म लास दिने चलन छैन । लास नै बन्धक बनाएर राख्छन् अस्पतालमा । कतिपयले अस्पतालमै शव छोडेर भाग्छन् । विकल्प नभएपछि के गर्ने ? होइन भने नेता र सञ्चारकर्मी खोज्दै हिड्नुप¥यो । त्यस्तै, शववाहनले पनि मनलाग्दी रकम लिएर ठगिरहेको पाइन्छ ।
सरकारले भाडा निर्धारण नगर्दा शव बोकेको पनि महँगो रकम तिर्नुपरेको छ । यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यातायात व्यवस्था विभाग दुवैको ध्यान गएको छैन । ट्राफिक प्रहरी महाशाखाले अनुगमन नगर्दा पनि ठगीधन्दा मौलाएको हो । जसको कारण शववाहन र एम्लुबेन्सको लुटतन्त्र व्यापक बढेको छ । एम्बुलेन्स र शववाहन भन्सार र भ्याट छुटमा भित्रिएको हो । त्यस्तै कतिपय मुलुकले नेपाललाई यी सवारी सहयोग पनि गरेका छन् । सित्तैमा पाएको सवारी ल्याएर रातो प्लेटमा दर्ता गर्ने र व्यापार गर्ने । कति सजिलो !
यस्तो सवारी साधनले मासिक लाखौंको आम्दानी गरेका छन् । तर न राज्यलाई राजस्व तिर्छ न गरिबलाई छुट । घरबाट ल्याएको पैसा सबै अस्पताल र औषधिमै सिद्धिन्छ । शव जलाउन बेला सुको पनि रहँदैन । पशुपतिमा शव जलाउनुअघि पैसा तिर्नुपर्छ । पुँजीपति वर्गलाई मतलब भएन तर मध्यम र निम्नवर्गका परिवारलाई त शव जलाउने पैसाले पनि निकै महत्व राख्छ । भोको पेट दौडिरहेका आम नागरिकले कतबाट पैसा ल्याएर लास जलाउने ? अन्ततः शव नै छोडेर त्यहाँबाट हिँड्नुपर्ने बाध्यता जाइलाग्छ । सरकारले शव सित्तैमा जलाउने व्यवस्था गर्नुपर्छ ।
कसैले इच्छाले पशुपति कोषलाई सहयोग गरेछन् भने त्यो पनि ठिक्कै छ । शवचाहिँ सरकारले सित्तैमा दाहसंस्कार गर्ने वातावरण मिलाइदेओस् । सरकारले मरेको लासमाथि व्यापार गरेर पैसा उठाउन पाउँदैन । पशुपति कोषले शव जलाएर पैसा असुलिरहेको छ । नेपालको भूमिमा जन्मिदा र मर्दा पनि पैसा तिर्नुपर्ने कस्तो नियम हो सरकार ? यसको जवाफ सरकारले जनतालाई दिनै पर्छ । यदि राज्यलाई कर नै चाहिएको हो भने अन्य क्षेत्र पनि छन् । कर नतिरी खुल्लंखुला डुल्नेहरु यत्तिकै छन् । इन्धनमा कर छुट दिने सरकारले शव जलाउन छुट दिन सक्दैन ? पैसा हुनेले त सवारीसाधन किन्न सक्छ । सवारीसाधन किन्न सक्नेले इन्धन पनि किन्छन् ।
पशुपतिबाहेक अन्य क्षेत्रमा शव जलाएको पैसा तिर्नुपर्दैन । तर, पशुपतिमा केलाई पैसा तिर्ने ? सास रहँदासम्म त सरकारले जनताको शोषण ग-यो । मरेपछि पनि उसलाई सुखको सास फेर्न दिइएन । सबैको हित हुने एउटा सामान्य निर्णय पनि गर्न नसक्ने के सरकार ? राजनीतिक दलका नेता, मन्त्री, प्रधानमन्त्री परे भने सलामीका साथ दाहसंस्कार गर्छन् । उनीहरुलाई त पैसा तिर्नुपर्ने नियम छैन ।
जे पनि गरिब र बोल्न नसक्नेमै लागू हुने हो । ठूलालाई चैन साना ऐन कहिलेसम्म हो सरकार ? आखिरी नेताले जनताका लागि के गरे ? भ्रष्टाचार गरेर अपुग सम्पत्ति जोड्नेलाई चाहिँ छुट । तर, एक जोर चप्पल लगाउन नसक्नेको रगतपसिना चुस्छ, सरकार । काम गरेको कर तिर्नेलाई, नीति नियम टेर्नेलाई सरकारले हेपाहा प्रवृत्ति देखाइरहेको छ । शासन लाद्न खोजिरहेको छ । के लोकतन्त्र भनेको यही नै हो ?
भ्रष्टाचारीलाई सलामी दिने देशमा गरिबले कहिले सुख पाउलान् ? सुकिलामुकिला बनेर हिँड्नेलाई सरकारले नेपाली भनेर गनेको छ । जनताकै कारणले देशमा राजनीतिक परिवर्तन भो तर जनताको जीवनस्तरमा कुनै परिवर्तन भएन । बरु विदेशी ऋण थपिँदै गयो । पशुपति कोषलाई जनताको प्रश्न: गरिब मर्दा पैसा चाहिने तर उच्च पदाधिकारी मरे भने सित्तैमा लास जलाउने । यो त सीधै भेद्भाव भएन र ? कि त सबै जनासँग पैसा लिनुप-यो । यो भेद्भाव कहिले अन्त्य हुन्छ ? कि त जनता संघर्षमै उत्रिनुपर्ने हो ? जनता सडकमा ओइरिए भने यिनीहरुलाई बाँकी राख्ने छैनन् । जनता अबुझ छन् भनेर सपना देख्ने काम छोड सरकार ? जनताभन्दा शक्तिशाली कोही छैन । त्यसैले बेलैमा बुद्धि पु-याऊ । लास जलाउने र काजकिरिया गर्दा एक रुपियाँ पनि पैसा नलिइयोस् ।
– सीता केसी ।
प्रतिक्रिया