वर्षाको वितण्डा : झापाका विभिन्न स्थानका २८९ परिवार विस्थापित, विद्यालय र आफन्तको घरमा बास



भद्रपुर । अविरल वर्षाका कारण झापाका विभिन्न स्थानका दुई सय ८९ परिवार विस्थापित भएका छन् । उत्तरदक्षिण भएर बग्ने कनकाई, रतुवा, अंदुवाखोला, बनियानी र खोल्सा तथा पैनीमा आएको बाढीका कारण बस्ती डुवानमा पर्दा सो क्षेत्रमा बसोबास गर्नेहरु विस्थापित भएका हुन् ।

दुई सय ८९ परिवारका सात सय ७२ जना विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । वर्षाका कारण स्थानीय खोल्सामा पैनीमा आएको बाढीबाट झापाको भद्रपुर नगरपालिका–८ को सुकुम्बासी बस्तीका २६ परिवार विस्थापित भएका छन् ।

विस्थापित परिवारलाई नजिकैको उच्च स्थानमा स्थानान्तरण गरिएको छ । त्यस्तै शिवसताक्षी–४ स्थित सुकुम्बासी बस्तीका विस्थापित ३३ परिवारका एकसय १८ जनालाई उद्दार गरी स्थानीय त्रिभुवन माविमा राखिएको छ ।

त्यस्तै कनकाई नदीकै बाढी बस्तीमा बस्दा गौरीगंज–१ टुनुबस्तीका विस्तापित १२ परिवारलाई रामजानकी प्राविमा राखिएको छ । त्यस्तै गौरादह नगरपालिका–६ मा पर्ने लेलिया बस्तीका एक सय २५ परिवार विस्थापित भएका छन् ।

रतुवा खोलामा आएको बाढीका कारण विस्थापित उनीहरुलाई उच्च स्थानमा सारिएको छ भने गौरगञ्ज गाउँपालिका–१ का महाभारा, बालुवाड, देवीगडा, टप्पुबस्तीका ३३ परिवार विस्थापित भएका छन् । बनियानी खोला र कनकाई नदीमा आएको बाढीका कारण विस्थापित भएका उनीहरु अहिले छिमेकीको शरणमा बसेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

यता बाह्रदशी २ स्थित सुकुम्बासीबस्तीका विस्थापित ६० परिवारलाई दक्षिणेश्वर मन्दिरमा सारिएको छ । अंधुवा खोलामा आएको बाढीका कारण बाह्रदशी–२ का ६० परिवारका तीन सय १० जना विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापाका बाढीको तथ्याङ्कक संकलन हरिशरण खड्काले जानकारी दिए ।

बाढीबाट विस्थापित भएका भद्रपुर–८ का सुकुम्बासीलाई नेपाल रेडक्रस सोसाइटी झापा शाखाले राहत स्वरुप १२ थान त्रिपाल उपलब्ध गराएको रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्