पेट्रोलियम पदार्थको सट्टा विद्युतीय ऊर्जाको खपत बढाउन आग्रह

0
Shares

काठमाडौं  ।

जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्री पम्फा भुसालले महगिँदै गएको पेट्रोलियम पदार्थको सट्टा विद्युतीय ऊर्जाको खपतलाई बढाउन आग्रह गर्नुभएको छ ।

मुलुकको आर्थिक समृद्घिको मुख्य आधार जलविद्युत् भएको भन्दै उहाँले महगिँदै गएको पेट्रोलियम पदार्थको सट्टा विद्युतीय ऊर्जाको खपतलाई बढाउन आग्रह गर्नुभएको हो ।

नेपाल सर्भेयर एसोसिएसनले जलविद्युत् आयोजनाको बिमाका समस्यामा केन्द्रित गर्दै आइतबार राजधानीमा आयोजना गरेको ‘जलविद्युत् शक्ति सेतो सुन’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो – प्रकृतिले दिएको वरदान अर्थतन्त्रको महत्वपूर्ण स्रोत ऊर्जाको भरपुर उपयोग गर्न नसक्दा हामी आर्थिक र सामाजिक विकासका दृष्टिले पछि प-यौं । ११२ वर्ष पहिले जलविद्युत्को  उत्पादन गर्ने एसियामै पहिलो राष्ट्र भएर पनि जलविद्युत् उपयोग गर्ने सवालमा नेपाल पछाडि प-यो ।
पछिल्लो समय विद्युत् उत्पादनमा आत्मनिर्भरको बाटोमा पुगेको भन्दै उहाँले उद्योगधन्दाका लागि पनि अहिले ऊर्जा अभाव नभएको उहाँले बताउनुभयो । मन्त्री भुसालले जलविद्युत् आयोजनाको बिमाको विषयमा देखिएका समस्या समाधान गर्न मन्त्रालय तयार भन्दै सरोकारवालाहरूलाई यस विषयमा छलफलबाट समाधान निकाल्न आग्रह गर्नुभयो


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मुलुककै समृद्घिको मुख्य आधार जलविद्युत् आयोजनाहरूलाई बिमाका दृष्टिले जोखिमरहित बनाउन सके जलविद्युत्को निर्माण र भूमिकाले पनि तीव्रता पाउने बताउनुभयो । बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बिमा क्षेत्रकै महत्वपूर्ण पक्षका रूपमा सर्भेयर भएको भन्दै भन्नुभयो –सर्भेयरले पीडाको बेलामा उपस्थिति जनाउँछ । उसकै रिपोर्टको आधारमा बीमितले राहत पाउँछ ।

सर्भेयरको विश्वसनियता नै बिमा व्यवसायको साखसँग जोडिएको भन्दै उहाँले सर्भेयरको भूमिका र विश्वसनियता बढाउन एसोसिएसनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बिमाको दरको विषय अन्तर्राष्ट्रिय अभ्यासअनुसार तय हुने बताउँदै जलविद्युत् क्षेत्रको बिमाको दरका विषयमा रहेको विवाद छलफलबाट समाधान गर्न सकिने बताउनुभयो ।

जलविद्युत्को बिमाका क्षेत्रमा देखिएका विवाद समाधानका लागि आजको गोष्ठीले मद्दत गर्ने सर्भेयर एसोसिएसनका उपाध्यक्ष देउकाजी गुरुङले जानकारी दिनुभयो ।एसोसिएसनका महासचिव पवित्रविक्रम राणाले समाज र राष्ट्रप्रतिको जिम्मेवारीलाई महसुस गरेर हाल जलविद्युत् क्षेत्रमा खट्किएको विविध समस्याहरूलाई सम्बोधन गर्न र यस क्षेत्रसँग सम्वद्घ विज्ञहरूको अनुभव, ज्ञान आदानप्रदान गर्दै आपसी समझदारी विकास गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

कार्यक्रममा जलविद्युत् क्षेत्रसँग सम्बन्धित उद्यमी, लगानीकर्ता, बैंकर, बिमक, विवाद मध्यस्थकर्ता, बिमा नियमनकारी निकाय, क्षति मूल्याङ्कनकर्तालगायतसँग विस्तृत छलफल र अन्तरक्रिया हुने एसोसिएसनले जनाएको छ ।कार्यशाला गोष्ठीमा जलविद्युत् क्षेत्रसँग सम्बन्धित उद्यमी, लगानीकर्ता, बैंकर, बिमक, विवाद मध्यस्थकर्ता, बिमा नियमनकारी निकाय, क्षति मूल्याङ्कनकर्तालगायतसँग विस्तृत छलफल र अन्तरक्रिया भएको एसोसिएसनका सचिव बुद्घकाजी श्रेष्ठले बताउनुभयो ।
नेपालको अर्थतन्त्र तथा समष्टि विकासको लागि जलविद्युत्ले गर्न सक्ने योगदानलाई उच्च मनन् गर्दै कार्यशाला गोष्ठी आयोजना गरिएको एसोसिएसनका अध्यक्ष मोहनपुरुष ढकालले बताउनुभयो ।