नेपाली फिल्म र फिल्मकर्मीमाथि अन्तरक्रिया



नेपाल चलचित्र कलाकार संघले आइतबार नेपाली चलचित्र क्षेत्रकों समस्या र चलचित्रकर्मीहरूको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

संघका अध्यक्ष रवीन्द्र खडकाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य सचिव टंक महतले बोर्ड समग्र फिल्म उद्योग र फिल्मकर्मीको उत्थान का लागि प्रयासरत रहेको दाबी गर्दै छिट्टै प्रभावकारी फिल्म नीति ल्याउनेबारे कार्य गरिरहेको जनाए।

कार्यक्रममा संघका उपाध्यक्ष मोहन निरौला र पत्रकार शान्तिप्रियले तयार पारेको भएको अवधारणा पत्र प्रस्तुत गरिएको थियो। अवधारणा पत्रमा अधिवक्ता तथा अभिनेता कृष्ण ढुगाना, पत्रकार, डब्बु क्षेत्री र कृष्ण भट्टराई, संगीतकार सन्तोष श्रेष्ठ र सञ्चारकर्मीले टिप्पणी गरेका थिए।

बोर्डका पूर्व अध्यक्ष दयाराम दाहालले बोर्डले महामारीको मारमा परेका फिल्कर्मीलाई थोरै भए पनि राहत दिएको र आफ्नो कार्यकालमा फिल्मकर्मीको उत्थान र प्रोत्साहनका लागि स्टोरी बैकको अवधारणा कार्यान्वयनमा ल्याएको बताए।

अभिनेता गोपाल ढकालले सहजीकरण गरेको कार्यक्रममा अभिनेता कृष्ण मल्ल, भुवन केसी, लय संग्रौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका माहासचिव जनकदीप पराजुली, चलचित्र संघका पूर्व अध्यक्ष प्रदीप उदयलगायतका वक्ताले चलचित्र कलाकार संघले चलचित्र कलाकार र उद्योगका प्रवद्र्वनका लागि आवाज उठाउँदै आएको चर्चा गर्दै अविलम्ब चलचित्र नीति निर्माण भएको भएको भए कार्यान्वयनमा ल्याउनुपर्ने नभए निर्माण गरिनुपर्नेमा जोड दिए। वक्ताहरुले विदेशी फिल्मको प्रदर्शनमा मापदण्ड बनाई नेपाली फिल्म प्रदर्शनलाई विशेष प्राथमिकता दिनुपर्नेमा समेत जोड दिए।

प्रतिक्रिया दिनुहोस्