लोक गायिका दिलमायाकाे रहस्यमय मृत्यु



लोक गायिका दिलमाया सुनार राजधानीको नेपालटारस्थित डेरामा मृत भेटिएकी छन्। प्रहरी वृत्त बालाजुका अनुसार शनिबार राति पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी थिइन्।

उनको घरबेटी कोठाको ढोका खुल्लै रहेको र उनी मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए। सुर्खेत घर भएकी ३० वर्षीया दिलमायाले शुक्रबार राति आफूलाई बाँच्न कठिन भएको भन्दै फेसबुकमा स्ट्याटस लेखेकी थिइन्। उनी मृत अवस्थामा फेला परेपछि अनुसन्धानको क्रममा सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य श्रेष्ठ भन्ने खिलबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका उनले आफूले दिलमायाको हत्या नगरेको, तर शुक्रबार आफूहरु दुवैले घरेलु मदिरा पिएर एकै कोठामा सुते पनि आफू उठ्दा दिलमाया झुन्डिएको अवस्थामा देखेको बताएका छन्।बिहान उठ्दा दिलमाया सुतेकै ओछयानमाथि पासो लगाएर झुन्डिरहेको देखकाले डरका कारण सल लिई भागेर चक्रपथस्थित नालीमा फ्ँयाकेको प्रहरी बयानमा बताएका छन्।

प्रहरीका अनुसार चार सन्तानका बाबु सूर्य र एक छोरीकी आमा दिलमायाबीच निकट सम्बन्ध रहेको थियो। दिलमाया केही वर्षदेखि पतिसँग डिभोर्स गरेर नेपालटारमा एक्लै बस्दै आएकी थिइन्। उनले चर्चित लोक दोहोरी गायक राजु परियारका साथ केही गीतसमेत गाएकी छन्।

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, शंकर बीसीलगायत अन्य संगीतकर्मीसमेत घटनाको निस्पक्ष छानबिनका लागि दबाब दिन आइतबार बालाजुस्थित प्रहरी वृत्त पुगेका छन्। लाइभ दोहोरीबाट चर्चामा आएकी दिलमायाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। उनका आफन्तहरु सुर्खेतबाट आएपछि पोस्टमार्टम गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्