काठमाडाैं ।
निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आइतबार मन्त्रालयबाट बिदाइ हुनुअघि पत्रकार सम्मेलन गरी मन्त्रीको हैसियतमा आफूले गरेका कामबाट आफू ९० प्रतिशत सन्तुष्ट भएको बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– ‘म आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको छ, बाँकी अधुरा रहेका कामहरू अब आउने मन्त्री जीले गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’
उहाँले ९ महिनामा आफूले धेरै राम्रा काम गरेको दाबी गर्दै भन्नुभयो– ‘विमानस्थलहरूको स्तरोन्नतिदेखि जहाजको नाइट स्टप तोकिएकै ठाउँमा राख्न लगाउने र जहाजको बेस लिएकै ठाउँबाट पहिलो उडान गर्नुपर्ने जस्ता नागरिकलाई फाइदा पुग्ने थुप्रै कामहरू गरेको छु । यसै गरी भीआईपीहरूको हेलिकोप्टर उडानमा दुई पाइलट अनिवार्य राख्नुपर्ने नियम पनि लागु गराएको छु ।’
पत्रकार सम्मेलनमा उहाँले यो वर्षको बुद्ध जयन्तीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल बोलाएर आजसम्म बुद्धको जन्मस्थानको बारेमा रहेको भ्रम र अन्योलतालाई चिर्न सफल भएको दाबी गर्नुभयो । यसै गरी मन्त्री आलेले नेपालमा पहिलोपटक ५ हजार क्षमताको ध्यान केन्द्र निर्माण सम्पन्न गरेको र प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गराइएको विषयलाई पनि आफ्नो सफलताको रूपमा बताउनुभएको थियो ।
उहाँले पत्रकार सम्मेलनमा आफ्नो कार्यकालमा लुम्बिनीलाई प्राकृतिक वनको रूपमा संरक्षण गर्नका लागि बुद्धकालीन प्रजातिका ४० हजार वृक्षरोपण कार्य सम्पन्न गरेको, पशुपति क्षेत्रमा विश्वरूपा मन्दिरको शिलान्यास, पशुपतिनाथका खाली भित्ताहरूमा सौन्दर्यीकरणका लागि चित्र लेखन कार्य तथा रङगरोगन सरसफाई गरिएको र अन्य वर्षको तुलनामा गत वर्षको शिवरात्रि भव्य र सभ्य रूपमा सम्पन्न भएको बताउनुभयो ।
उहाँले नेपालबाट हराएका ८६ वटा मूर्ति र थप अन्य सांस्कृतिक वस्तु विदेशबाट फिर्ता ल्याउने प्रक्रियामा रहेको जानकारीसमेत दिनुभयो ।निवर्तमान मन्त्री आले गठबन्धन सरकारमा २०७८ सालको असोज २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त हुनुभएको थियो ।











प्रतिक्रिया