एकीकृत समाजवादीबाट नयाँ मन्त्री बन्नेहरूको सपथ आज



काठमाडौं । 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री हेरफेर गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णयका कारण उहाँले आठ महिनापछि पहिलोपटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।

एकीकृत समाजवादीबाट नयाँ मन्त्रीका रूपमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नुहुने भएको हो ।
तीन साताअघि सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउँदै एकीकृत समाजवादीले नयाँ अनुहारलाई मन्त्रीका रूपमा सिफारिस गरेको थियो । त्यतिबेला संसद्मा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने भएकाले प्रधानमन्त्री देउवाको आग्रहमा केही समय मन्त्री हेरफेर रोकिएको थियो । पटक–पटक एकीकृत समाजवादीले दबाब दिएपछि प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिपरिषद् पुनर्गठन भएको हो ।
राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेको जानकारी दिएको छ । एकीकृत समाजवादीले जेठ २२ मा मन्त्रीहरू फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरूलाई पठाउने निर्णय गरेको थियो । त्यसै दिन मन्त्री बन्ने नेताहरूको नाम प्रधानमन्त्रीलाई बुझाए पनि २२ दिनपछि मात्र मन्त्रिपरिषद् पुनर्गठन भएको हो ।
पार्टीले पटक–पटक गरेको निर्णयको विरुद्ध सरकारमा सहभागी चार मन्त्रीहरूले अटेर गरेका थिए । तर, पार्टीले दबाब दिएपछि पर्यटन मन्त्री प्रेम बहादुर आले, स्वास्थ्य मन्त्री विरोध खतिवडा, श्रम मन्त्री किसन श्रेष्ठ र शहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्री पद छाड्न तयार भएका थिए । आइतबार पत्रकार सम्मेलन गर्दै पर्यटन मन्त्री आले र शहरी विकास मन्त्री झाँक्री पार्टी अध्यक्षलाई राजीनामा बुझाएर बिदाई हुनुभएको थियो ।

झाँक्री बिदाइमा भावुक

एकीकृत समाजवादीकी सांसद रामकुमारी झाँक्रीले सहरी विकास मन्त्रालयबाट बिदाइ हुँदा भावुक बन्नुभएको छ । ८ महिना २० दिन मन्त्री भएर काम गर्नुभएका उहाँले आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा पटक–पटक भावुक बन्दै आँशु खसाल्नुभएको थियो । निमित्त सचिव पद्म मैनालीले उहाँको कार्यकालमा भएका राम्रा काम सुनाउँदा उहाँ भावुक बन्नुभएको थियो । कार्यक्रमको अन्तिममा मन्त्री झाँक्रीले भन्नुभयो– ‘आगामी दिनमा पनि काम गर्दै जाउँला, खासै बोल्नुपर्ने कुरा केही छैन ।’ मन्त्री झाँक्रीलाई मन्त्रालयले मायाको चिनो उपहार दिएर बिदाइ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्