विद्यार्थीलाई फोहोरबाट मल बनाउने तालिम



काठमाडौं।

काठमाडौंको न्यूरोडस्थित हिमालय माध्यामिक विद्यालयले शनिबार आफ्ना विद्यार्थीहरूलाई फोहोरलाई कुहिने र नकुहिनेमा वर्गिकरण गर्न र कुहिने फोहोरबाट मल उत्पादन गर्न तालिम दिएको छ ।

काठमाडौं महानगरपालिकाले साउनदेखि लागू गर्न लागेको फोहोर विसर्जनअघि बर्गिकरण गर्नुपर्ने व्यवस्थालाई सहयोग पुर्‍याउने उद्देश्यले न्यूरोडको दुगंबहीलस्थित विद्यालयले आफ्ना विद्यार्थीहरूलाई यस्तो तालिम दिएको हो । ‘घरको फोहोर घरमै सदुपयोग गरौं : फोहोरबाट मोहोर कमाऔं’ भन्ने नाराका साथ विद्यालयले आफ्ना विद्यार्थी तथा शिक्षकशिक्षिकालाई फोहोरबाट कम्पोष्ट मल बनाउन कम्पोष्ट बीनको प्रयोगसम्बन्धी प्रयोगात्मक तालिम दिएको थियो ।

तालिमको उद्घाटन समारोहमा बोल्दै उपमेयर सुनिता डंगालले फोहोर व्यवस्थापन कामपाको पहिलो प्राथमिकता भएको जिकिर गर्दै फोहोरलाई स्रोतमै वर्गिकरण गर्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागू गर्न लागिएको बताउनुभयो । उहाँले फोहोरको वर्गिकरणसम्बन्धी जनचेतना जगाउन कामपाले विद्यालय, टोल र समुदायमा जैविक र अजैविक अर्थात कुहिने र नकुहिने फोहोर छुट्टाउने तालिम दिने कार्यक्रमको आयोजना गर्ने तयारी गरेको जानकारी पनि दिनुभयो । उहाँले भन्नुभयो–‘फोहोरको समस्या समाधानका लागि माथिल्लो तहबाट नभई तल्लो तह जहाँ फोहोर उत्पादन हुन्छ, त्यहाँबाट नै काम शुरु गर्नुपर्छ भन्ने अवधारणाका साथ कामपाले काम गर्दैछ । हामी छिट्टै नै वडामार्फत छुट मूल्यमा कम्पोष्ट बीन उपलब्ध गराउने तयारीमा पनि छौं ।’

 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई. दिल्लीरत्न शाक्यले फोहोरलाई काम नलाग्ने वस्तु नभई सुनसरह मूल्यवान वस्तु भएको र फोहोरबाटै मनग्य आम्दानी गर्न सकिने जिकिर गर्दै भन्नुभयो–‘जैविक फोहोरबाट हामी मल बनाउन सक्छौं भने अजैविक मलबाट उर्जाका साथै ईंटा जस्तै बलियो निर्माण सामग्री उत्पादन गर्न सक्छौं, जुन सडक निर्माणमा उपयोगी हुन्छ ।’

कार्यक्रममा वैकल्पिक उर्जा क्षेत्रमा लामो समयदेखि अनुसन्धान गर्दै आउनुभएको प्राडा जगन्नाथ श्रेष्ठले सन् २००९ मै दक्षिण कोरियाको सहयोगमा काठमाडौं विश्वविद्यालयमा ३०–३० क्युविक मिटरको तीन वटा वायोग्यास प्लान्ट राखेर बनेपा, धुलिखेलको फोहोरको प्रयोग गरी सीएनजी ग्यास उत्पादनको परीक्षण गरिएको जानकारी दिनुभयो । उहाँले फोहोरबाट सीएजी ग्यास उत्पादन गरी सवारी साधन चलाउने परियोजनाका लागि उक्त परीक्षण गरिएको बताउनुभयो ।
तर, त्यतिखेर पालिकाहरूले पहिला सित्तैमा फोहोर दिने भने तापनि पछि पैसा मागेको र त्यतिखेर फोहोर किन्न पैसा नभएको कारण परियोजना अलपत्र परेको तितो यथार्थ पनि प्राडा श्रेष्ठले सुनाउनुभयो । उहाँले अहिले पनि सिसडोल र बञ्चरे डाँडामा त्यस्ता प्लान्टहरू राखेर ग्यास उत्पादन गर्न सकिने धारणा अघि सार्नुभयो ।

कार्यक्रममा जापानको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी जाईकाका विशेष सल्लाहकार सुशिल भट्टचनले सिसडोल र बञ्चरे डाँडामा जापानले प्राविधिक सहयोग गरेको जानकारी दिंदै फोहोरबाट उर्जा निकाल्ने सम्बन्धमा पनि जापानको सहयोग लिन सकिने बताउनुभयो ।

फोहोर व्यवस्थापन तालिमका लागि काठमाडौं सुनचाँदी व्यवसायी संघ, श्री नित्यनाथ नास: ख:ल र न्यूरोड गेट क्लबले सहयोग गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्