सडक मानवका लागि धुलिखेलले उपलब्ध गरायो मानव कल्याण समाजलाई ५ करोडको भवन



काभ्रे ।

कर्ण खत्री । उर्फ श्रृजन मानव । कालिकोट जिल्ला घर भई मानव कल्याण समाजको काभ्रे स्थित शाखा धुलिखेल १२ मा चार महिना देखि बसिरहेका छन् । शंखेश्वरी मावीको कक्षा ७ मा अध्ययन गरिरहेका श्रृजन भक्कानिन पुग्दा मञ्चमा आसिन धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु सहित सहभागि सबैले आँशु झारे । तपतप आँशु बगिरहँदा श्रृजन झनै भक्कानिन पुगे । मानव सेवाको उत्कृष्ट सन्तुष्टीको क्षण त्यहि थियो जतिबेला कर्ण श्रृजनका नाममा भावना पोखिरहेका थिए ।

सानैमा बुबा विते पछि कर्ण टुहुरो भए । उनलाई सानै उमेरमा आमाले छाडेर अर्काे ब्यक्तिसँग विवाह गरे पछि उनको साथमा मामा थिए । मामाको रेखदेखमा कर्ण अडिन सकेनन् । अन्ततः सडकमा पुगे । त्यहि सडकमा पुगेका कर्णलाई मानव कल्याण समाजले उद्धार गरी आफ्नै ब्यवस्थापनमा संरक्षण गरिरहेको छ ।

उनी मानव कल्याण समाज घरका सदस्यका रुपमा अरु सदस्यहरुको समेत सेवासँगै अध्ययनमा ब्यस्त छन् । बुधबार मानव कल्याण समाजलाई सडक मानव उद्धार गरी ब्यवस्थापन गरेकाले निरन्तरताका लागि धुलिखेल नगरपालिकाले आफुलाई प्राप्त ५ करोडको पूर्वाधार संरचना मानव कल्याण समाजलाई हस्तान्तरण गरेको थियो ।

उक्त भवन हस्तान्तरण कार्यक्रममा स्थानीय सरकारले देखाएको अभिभावकत्व, मानव कल्याण समाजले दिएको अवसर र सडकबाट घरमा ल्याई अध्ययन गराएका, बाल्यकालमा भोगेका भोगाईहरुलाई कविता मार्फत कर्ण प्रस्तुत गरिरहेका थिए । शुरुकै एकलाईन कवितामा आफै भक्कानिन पुगेका कर्णले सहभागि सबैलाई आँशु झार्न बाध्य पारे ।

बागमति प्रदेश सरकारले निर्माण गरेको भौतिक पूर्वाधारलाई धुलिखेल नगरपालिकाले प्राप्त गरेसँगै सडक मानवहरुको उद्धार तथा ब्यवस्थापनमा सक्रिय संस्था मानव कल्याण समाजलाई हस्तान्तरण गरेको छ । नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले उक्त भवन उद्घाटन पछि हस्तान्तरण गर्नु भएको छ । शहरी विकास तथा भवन कार्यालय काभ्रेले धुलिखेल नगरपालिकालाई उक्त भवन हस्तान्तरण गरेको हो ।

सरकारी स्तरबाट निर्माण भएको उक्त भवन जिल्लाकै पहिलो हो । संघ र प्रदेश सरकारको सहयोगमा उक्त भवन निर्माण भएको हो । नगरपालिका प्रमुख अशोक ब्याञ्जुले उक्त भवनलाई जेष्ठ नागरिकहरुको आश्रम स्थलका रुपमा विकास गरिने बताउनु भएको थियो । ५ करोड लागतमा निर्माण भएको उक्त भवन इन्जिनियर गणेशबहादुर महर्जनले नगर प्रमुख अशोक ब्याञ्जुलाई भवन हस्तान्तरण गर्नु भएको थियो ।

तत्कालिन समयमा नगर प्रमुख अशोक ब्याञ्जुले उक्त भवन वडा अध्यक्ष हर्कबहादुर तामाङलाई हस्तान्तरण गर्नु भएको थियो ।

भक्तपुरमा चार वर्ष अघि स्थापना भएको मानव कल्याण समाजले बागमति प्रदेशका अलावा विभिन्न स्थानमा रहेका सडक मानवहरुको उद्धार गरी भक्तपुर, काभ्रे लगायतका स्थानमा ब्यवस्थापन गर्दै आएको छ ।

संस्था स्थापना देखि हालसम्म ७ सय भन्दा धेरै सडक मानवहरुको उद्धार गरी पारिवारीक पुर्नस्थापना समेत गराएको मानव कल्याण समाज धुलिखेलमा ५० जना सडक मानवहरु छन् ।

उनीहरुको नियमित रेखदेख तथा ब्यवस्थापनका लागि स्थानीय सरकारका अलावा विभिन्न संघ संस्था र ब्यक्तिहरुको सहयोग भईरहेको छ । ‘भवन अभावका कारण उद्धार गरिएका सडक मानवहरुको ब्यवस्थापन कठिन थियो’–अध्यक्ष सुमित्रा चौलागाईले भन्नुभयो–‘धुलिखेल नगरपालिकाले उपलब्ध गराएको उक्त भवन ब्यवस्थापनका लागि सहज मात्रै भएन सडक मानवका लागि वास्तविक घर बन्न पुग्यो ।’

भवन उद्घाटन पछि हस्तान्तरण गरिएको कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले मानवता हराउँदै जान नदिन मानवहरुले सडक मानव आउनै नदिन र आएका मानवहरुलाई उद्धार गरी ब्यवस्थापन गर्नु जरुरी रहेको बताउनु भयो ।

धुलिखेल नगरपालिकाले त्यहि अभियानका लागि मानव कल्याण समाजका लागि उक्त भवन हस्तान्तरण गरेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । धुलिखेल नगरपालिका सेवा घरका लागि आवश्यक सबै खालको सहयोग गर्न तयार रहेको नगर प्रमुख ओशा ब्याञ्जुले बताउनुभ यो ।

कार्यक्रममा निवर्तमान उपप्रमुख विमला शर्मा, वडा अध्यक्ष मोहन लामिछाने, निर्वतमान अध्यक्ष हर्कबहादुर तामाङ, डा. प्रकाश तिमल्सिना, सुर्यविनायक नगरपालिकाका निवर्तमान उपप्रमुख जुना बस्नेत, ममता बराल, पातञ्जली योग समितिका अध्यक्ष बालमुकुन्द सुवाल, स्थानीय सुर्वण श्रेष्ठ, कमला भट्टराई लगायतले मानव कल्याण समाजले सडक मानव उद्धारका लागि गरिएका प्रयासको चर्चा गरेका थिए ।

कार्यक्रमका बिच सेवा घरको सेवाबाट प्रभावीत भएर धुलिखेल १२ का पुर्व वडा अध्यक्ष हर्क बहादुर तामाङले एक लाख पाच हजार, वडा सदस्य गोपिकृष्ण श्रेष्ठले एक लाख प्रदान गर्नु भएको थियो भने ।त्यस्तै, मन्जु बस्नेतले ५ हजार, बलराम खड्काले ५ हजार, धन शर्माले ५ हजार ५, भिमलाल श्रेष्ठले १० हजार, उत्तम राजभण्डारीले २५ हजार हस्तान्तरण गर्नु भउको थियो ।

त्यस्तै,सरिता थापा, बिजुली माया कर्माचार्य, सुनिता थापा, भवानी पन्त, रोशना बज्राचार्य, पेशल आचार्य र हाम्रो परिवार राम्रो परिवारबाट खाध्यान्न, लत्ताकपडा र फलफूल उपलब्ध गराईएको थियो । साथै मझौला व्यवसायी संघका अध्यक्ष कृष्णलाल श्रेष्ठबाट सेवा घरको १ जना छोराको १२ कक्षा सम्मको खर्च ब्यहोर्ने र काभ्रे उद्ययोग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेले सबै छोराछोरीलाइ १-१ सेट कपडा उपलब्ध गराउने घोषणा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्