टुकुचा दोभानमा ढल प्रशोधन केन्द्र निर्माण हुँदै



काठमाडौं ।

काठमाडौं उपत्यकाको सभ्यता बोकेको वागमती नदीलाई स्वच्छ बनाउन टुकुचा खोलाको दोभानमा आधुनिक ढल प्रशोधन केन्द्र निर्माण गरिने भएको छ । काठमाडौं महानगरपालिका–११ स्थित थापाथली–गुन्सीगाल क्षेत्रभित्र ढल प्रशोधन केन्द्र निर्माण गर्नका लागि अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले ठेक्का सम्झौता गरिसकेको छ ।

करिब ३ अर्ब १८ करोड रुपियाँको लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी आयोजनाले पासावान-कालिका-सेन्ट जेभीलाई ठेक्का दिएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर अमृत रञ्जितले उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार प्रशोधन केन्द्रको डिजाइन निर्माण व्यवसायी स्वयम्ले गर्नेछ ।

उहाँले भन्नुभयो– ‘६ महिनाभित्र डिजानको काम सम्पन्न हुन्छ, साढे २ वर्षभित्र प्रशोधन केन्द्र निर्माण भएर सञ्चालनमा आउँछ ।’ निर्माण भएको प्रशोधन केन्द्र सम्झौताअनुसार निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायीले पाँच वर्षसम्म सञ्चालन गर्नेछ । उक्त ढल प्रशोधन केन्द्र सञ्चालनमा आएपछि टुकुचा नदीमा दैनिक रूपमा बग्ने करिब १ करोड ७३ लाख लिटर दूषित पानी प्रशोधन हुने रञ्जितले बताउनुभयो ।
संघीय राजधानी काठमाडौंको बीच भागबाट बग्ने टुकुचा खोलाको बीच क्षेत्रमा जग्गा अभाव भएपछि आयोजनाले वागमती नदीको किनाराको कालमोचन घाट नजिकै ढल प्रशोधन केन्द्र निर्माण गर्ने निर्णय गरेको हो ।

वागमती नदीलाई स्वच्छ बनाउने अभियानअन्तर्गत समितिले वागमती नदी र सहायक खोला एवं नदीमा ढल प्रशोधन केन्द्र निर्माणको कामलाई अभियानकै रूपमा अघि बढाएको छ ।समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले वागमती नदी आसपासका खोला तथा नदीलाई सफा नबनाउँदासम्म वागमती नदी स्वच्छ हुन नसक्ने जिकिर गर्दै भन्नुभयो– ‘वागमती नदीलाई ढलमुक्त बनाउने कार्यक्रम सञ्चालन गरिरहेका छाै‌ं, सहायक खोलामा पनि ढल प्रशोधन केन्द्र निर्माण गरेर वागमतीको सभ्यता बचाउने काम भइरहेको छ ।’

काठमाडौं महानगरपालिका–११ का वडाअध्यक्ष हिरालाल तण्डुकारले वागमती नदीलाई स्वच्छ बनाउन ढल प्रशोधन केन्द्र निर्माणले सहयोग पु-याउने विश्वास व्यक्त गर्नुभयो ।आयोजनाका इन्जिनियर रामबाबु साहका अनुसार टुकुचा दोभानको करिब ५९ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको प्रशोधन केन्द्र ५० वर्षसम्म सञ्चालन गर्न सकिनेछ । प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो ।बूढानीलकण्ठ र महाराजगञ्जको बीचबाट आएको टुकुचा बालुवाटार, गैरीधारा, हात्तीसार, कमलादी, बागबजार, प्रदर्शनीमार्ग हुँदै थापाथली पुगेर कालमोचन घाटमा मिसिन्छ । टुकुचा वागमती नदीको सहायक खोला हो ।

प्रतिक्रिया दिनुहोस्