जनताको सरकार भएको महसुस गराउनुपर्छ : मेयर साह



काठमाडौं ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले विकास साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग पहिलो बैठक गर्नुभएको छ । सोमबार सम्पन्न बैठकमा उहाँले ‘पूर्वाधार निर्माणका क्षेत्रमा भेटिएका कर्मचारी वा ठेक्केदारलाई नागरिकले कुनै सोधपुछ गरे भने कुनै पनि सदस्यले यो मेरो काम होइन भनेर नपन्छनुस, अर्काको कार्य क्षेत्रको कुरा काम भए समन्वय गरेर जिज्ञासाको उत्तर दिनू । हामी सबै मिलेर जनतालाई सरकार भएको महसुस गराउनुपर्छ भन्नुभयो ।

उहाँले नतिजामुखी कामका लागि सबैको प्रयास आवश्यक रहेको बताउँदै सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । ‘जीवन्त सांस्कृतिक सहर काठमाडौंलाई व्यवस्थित गर्न धेरै काम गर्नुपर्नेछ । प्रमुख साहले, जमिन पुनभरण हुन नपाउँदा चाहिने ठाउँमा पानी नपुगेको, नदीका पानी धेरै भएर बाढी आएकोलगायत वातावरणीय सुधार, सहरी सेवा सुविधाको सहज वितरण तथा पूर्वाधार निर्माणको अन्तरसम्बन्ध मिलाउनु पर्नेमा जोड दिनुभयो ।बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, निर्देशक डा. सुरेन्द्रलाल हाडा, उपनिर्देशक अच्युतानन्द मिश्र, सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर डा. विजय जैसी, सडक डिभिजन काठमाडौंका प्रमुख नारायणप्रसाद निहुरे, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीसहित अधिकारी सहभागी थिए ।

बैठकमा विद्युत् प्राधिकरणका निर्देशक श्रीराम राज पाण्डे, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्य, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटा, उपनिर्देशक चन्द्रकुमार पां श्रेष्ठ, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेल, इन्जिनियर रामबाबुप्रसाद बैठकमा हुनुहुन्थ्यो ।छलफलका क्रममा काठमाडौं उपत्यकामा भएका १९ वटा नदीलाई एउटै कार्यक्रमबाट सुधार गर्नुपर्ने,नदीको वहावक्षेत्रसम्बन्धी मापदण्डको पालनालाई कडा बनाउनु पर्ने जस्ता विषय उठान गरिएको थियो ।

नदी किनाराको अव्यवस्थित बस्ती व्यवस्थापन सँगै सहरको सरसफाइ र सौन्दर्य बढाउने काममा सबैको साझा मत हुनुपर्र्ने, धुँवा धुलोमुक्त सहरका निर्माणका लागि आ–आफ्ना जिम्मेवारी पूरा गर्नुपर्ने, पोलमा जथाभावी तार व्यवस्थापनमा सेवा प्रदायकलाई जिम्मेवार बनाउनुपर्ने, सडक किनारामा यसै छोडिने निर्माण सामग्री छोडेर हिँड्न नपाइनेलगायतका विषयमा समितिअन्तर्गत कार्यालयले ध्यान दिनुपर्ने बताउनुभयो ।
अधिकार सम्पन्न वागमती सभ्यता आयोजनाका प्रमुख नवराज प्याकुरेलले समन्वयको आवश्यकता महसुस थियो तर नेतृत्व गर्ने मियो थिएन । महानगरका प्रमुख र उपप्रमुखको नेतृत्वबाट अब प्रभावकारी समन्वय हुनेछ –उहाले भन्नुभयो
उपप्रमुख सुनिता डंगोलले स्थानीय सरकारलाई उत्तरदायी र जवाफदेही बनाउन साझेदार कार्यालयबाट सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो । ‘समन्वय बैठक प्रभावकारी भएको महसुस गरेकी छु । यसबाट विगतका गल्ती दोहोरिने छैनन् र अवस्थामा परिवर्तन आउनेछ भन्ने आशा गर्न सकिन्छ –उहाँको भनाइ थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले सडक सञ्जालको इन्भेन्ट्री बनाउने, पानीको उपभोग योजना बनाउने, बिजुलीको स्मार्ट मिटर जडान गरेर आपसी सेवा आदानप्रदान गर्ने, दोहोरो योजना हुन नदिने प्रयोजनका लागि हामीले काम गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्