मनाङमा पहिलोपटक पत्रकारिता तालिम



मनाङ ।

भौगोलिक विकटता भएको हिमाली जिल्ला मनाङमा पहिलोपटक पत्रकारिता तालिम सञ्चालन भएको छ । मनाङमा महासंघ स्थापनाको दुई दशकपछि पहिलोपटक पत्रकारिता तालिम सञ्चालन गरिएको हो ।

पत्रकारितामा इच्छुक व्यक्तिहरूलाई तालिममा सहभागिताका लागि कटुवालमार्फत् सूचना प्रवाह गरिएको छ । जिल्लामा पहिलोपटक पत्रकरिता तालिम त्यसमा सूचना प्रवाहमा समस्या हुने भएपछि कटुवालले इच्छुक व्यक्तिहरूलाई सहभागिता जनाउन सूचना गरेको हो । सूचना जारी गर्न पत्रकार महासंघ मनाङले भने जानकारी दिएको थिएन । तर, ताचे गाउँमा तालिम हुने भएपछि यस ठाउँका इच्छुक व्यक्तिलाई सहभागिता जनाउन सूचना कटुवालले गर्नुभएको हो । कटुवालले जानकारी दिएपछि गाउँका सबैजसो स्थानीयवासी उपस्थित भए । पत्रकारको तालिम हेर्न हतारिएर आएको स्थानीय बताउँछन् ।

जिल्ला र गाउँमा पहिलोपटक पत्रकारिता तालिम हुने भएपछि सफल बनाउन सबैलाई सहयोगको आवश्यक पर्ने हुँदा कटुवालले नै सम्पूर्ण गाउँवासीलाई जानकारी गराइएको वडा सदस्य शारदा गुरुङले बताउनुभयो । ‘जिल्लामा पहिलोपटक त्यसमाथि हाम्रो गाउँलाई नै छनोट गरेर यहाँ आएर तालिम गरेपछि सहयोग गर्नुपर्छ । त्यसका लागि कटुुवालको प्रचलन यहाँ अझै पनि रहेकाले कटुवालमार्फत् सबैको उपस्थिति गराएका हौं’ –उहाँले भन्नुभयो ।विगतमा जिल्ला बाहिर हुने पत्रकारिता तालिममा मात्रै सहभागी भएको यहाँका पत्रकारहरूले तालिम लिएर क्षमता अभिवृद्धि गर्ने अपेक्षा लिइएको पत्रकार महासंघ मनाङका कोषाध्यक्ष मालती घलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको सहयोग र नेपाल पत्रकार महासंघ मनाङको आयोजनामा नासों गाउँपालिका–८ स्थित ताजे घरबास (होमस्टे) मा तालिम सञ्चान गरिएको हो ।नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले मनाङवासीले सुसूचित हुने र गराउने मानवीय अधिकारको उपयोगका लागि यस तालिमले सहयोग पुग्ने बताउनुभयो । ‘विकट जिल्ला मानिएको मनाङमा आएर तालिम सञ्चालन गर्नु नै हाम्रो सफलता हो’ –उहाँले भन्नुभयो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले विकट क्षेत्रमा तालिम सञ्चालन गर्न मुस्किल भए पनि पत्रकारिता तालिम लिन इच्छुक मनाङबासीको जमातले प्रोत्साहन गरेको बताउनुभयो । उहाँले आउने बाटो सकस भए पनि यहाँ पत्रकार उत्पादन गर्नु आवश्यक रहेको बताउनुभयो ।

यहाँ स्थानीयवासीमै पत्रकारिता गर्ने इच्छुक प्रतिनिधिलाई प्रोत्साहन गर्दै अगाडि बढ्नुपर्ने देखिएको उहाँको भनाइ छ । मनाङमा तालिम सञ्चालन गरिँदा यहाँका स्थानीयवासी समेत हर्षित भएका छन् । उक्त सीपयुक्त बनाउने पाँचदिने तालिम असार ६ देखि १० गतेसम्म सञ्चालन हुनेछ ।

उक्त तालिम सफल बनाउन घरेलु कार्यालय, ताचे घरबास, पूर्वाधार कार्यालयलगायतले समेत समन्वय गरेको नेपाल पत्रकार महासंघ मनाङले जनाएको छ । उक्त तालिममा १५ वर्षदेखि माथि उमेर समूहका व्यक्तिहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्