अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्दै प्रतिभा नक्षत्र



लन्डन । 

कोभिडका कारण दुईवटा नियमित संस्करण रोकिएको प्रतिभा नक्षत्र यूकेले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्ने भएको छ । यही अगस्ट १४ आइतबार दक्षिण पूर्वी लन्डनको एसियन कम्युनिटी हल प्लमस्टेडमा कार्यक्रम गर्ने प्रेस विज्ञप्तिमार्फत् जनाएको छ । प्रतिभा नक्षत्रले यसअघि पनि तीनवटा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । कोभिड महामारीको स्थिति सामान्य भएको भन्दै आयोजकले चौथो संस्करणका लागि आवश्यक कसरत शुरू गरेको जनाएको छ ।

आयोजकले चौथो संस्करणका लागि बाल प्रतिभा नक्षत्र र युवा प्रतिभा नक्षत्र गरी दुई चरणमा कार्यक्रम सम्पन्न गर्ने भनेको छ । ६ वर्षदेखि ११ वर्षलाई बाल समूह र १२ वर्षदेखि १९ वर्ष समूहलाई युवा नक्षत्रमा वर्गीकरण गरेको छ । विजेता व्यक्ति वा समूहलाई नगद पुरस्कार, ट्रफी, प्रमाणपत्र र उपहारसहित सम्मान गर्ने योजना रहेको कार्यक्रममा संसारभरिबाट सयौं प्रतिस्पर्धीले भाग लिने र हजारौं दर्शकले अवलोकन गर्ने आयोजकले विश्वास गरेको छ ।

प्रतिभा नक्षत्रले पछिल्लो समयमा ‘प्रतिभा नक्षत्र एकेडेमी’मार्फत योगा, ध्यान, कला, नृत्यजस्ता आवश्यक सीप पनि प्रदान गर्दै आइरहेको छ । यूकेमा रहेका सम्पूर्ण सामाजिक तया जातीय संघ–संस्था, कूटनीतिक नियोग, सर्वसाधारण, बुद्धिजीवी, व्यापारीसँग कार्यक्रमलाई सफल बनाउन प्रतिभा नक्षत्रले गृहकार्य शुरू गरेको छ ।

प्रतिभा नक्षत्रको सन् २०२२ को अप्रिल ०३ मा सम्पन्न दोस्रो अधिवेशनले संस्थाकै संस्थापक संयोजक सिम्मी पुनलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको थियो । प्रतिभा नक्षत्र आयोजक कमिटीले चौथो संस्करणलाई व्यवस्थित गर्न अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूकेका अध्यक्ष विनोद चिपालुलाई संयोजकको जिम्मेवारी दिइएको संस्थाकै परिकल्पनाकार तथा संस्थापक सदस्य राजेन्द्र खसले जानकारी दिनुभयो । संस्थाको कार्यालय दक्षिण पूर्वी लन्डनको बुलविचमा अवस्थित छ ।

देश–विदेशमा नेपाली समुदायमाझ आफूलाई सफलतापूर्वक स्थापित गरेको प्रतिभा नक्षत्रले छ नेपाली कला, भाषा, वेशभूषा, खेलकुद, नेपाली खानालगायतका आवश्यक रीतिरिवाज र संस्कारलाई विशेषतः दोस्रो पुस्ताका नेपालीमा लैजाने र अन्य समुदायलाई पनि यसको व्यावहारिक र व्यावसायिक जानकारी दिने मुख्य उद्देश्यले प्रतिभा नक्षत्र सक्रिय देखिँदै आएको छ । सबै संघसंस्थासँग भ्रातृत्व प्रेम राख्दै आफ्ना उद्देश्यका लागि तल्लीन प्रतिभा नक्षत्र कसैको प्रतिस्पर्धी नभएको आयोजकले यसअघि नै स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्