आफ्ना नेता-कार्यकर्तालाई जेलमुक्त गरिदिन गृहमन्त्री खाँणको शरणमा नेकपा (बहुमत)का संयोजक बास्तोला



काठमाडौँ । आफ्ना नेता–कार्यकर्तालाई बिनाशर्त जेलमुक्त गरिदिन गृहमन्त्री बालकृष्ण खाँणसँग नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले आग्रह गरेका छन् । उदण्ड र अनेकन् काण्ड मच्चाएर जेल जीवन बिताइरहेका नेता कार्यकर्तालाई तत्काल बिनाशर्त जेलमुक्त गरिदिन खाँणसँग बास्तोलाले आग्रह गरेका हुन् ।

आज (मंगलबार) दिउँसो गृह मन्त्रालयमा भएको भेटमा सरकारी पक्षमा गृहसचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल तथा नेकपा (बहुमत)का तर्फबाट संयोजक बास्तोलासहित प्रवक्ता हेमन्तप्रकाश ओली, देवकला अधिकारी, गुणराज लोहनी र दिपक चलाउने सहभागी थिए ।

भेटमा २०७७ फागुन २० गते केपी शर्मा ओली नेतृत्वको सरकार र तत्कालिन नेकपाबीच भएको ३ बुँदे सहमति कार्यान्वयनका विषयमा कुराकानी भएको बताइएको छ ।

गृहमन्त्री खाँणले सरकार नेकपासँग अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए । नेकपासँग भएका सहमति कार्यान्वयन गर्ने क्रममा प्रतिबद्ध छौँ । सहमतिमा समेटिएका केही बुँदा कार्यान्वयन भइसकेका र केही कार्यान्वयनको चरणमा रहेका गृहमन्त्री खाँणले बताए ।

नेकपाका तर्फबाट संयोजक बास्तोलाले जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाइ गर्न आग्रह गरेका थिए । सहमति कार्यान्वयनको विषयमा अन्य मन्त्रालय र निकायसँग समेत छलफल गर्नुपर्ने भएकाले ती निकायसहित बसेर पुनः छलफल गर्नेगरी बैठक सकिएको छ ।

तत्कालिन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा फुटेर बास्तोलाको संयोजकत्वमा नयाँ पार्टी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्