भवन निर्माणमा ढिलाई, निकासा रकम विद्यालयको खातामा



रौतहट ।

भवन निर्माणको कार्य समयमै सम्पन्न नहुदा जनज्योती माध्यमिक विद्यालय चन्द्रपुरको सुविधायुक्त भवनमा अध्यन गर्ने विद्यार्थीहरुको चाहना अपुरो रहेको छ । नमुना विद्यालयको रुपमा छनौट भएको जनज्योती माध्यमिक विद्यालयको भवन निर्माण कार्यमा ढिलासुस्ति भएपनि बार्षिक रुपमा निकासा हुँदै आएको रकम भने विद्यालयको खातामा जम्मा हुँदै आएको छ । विद्यालयले प्रारम्भिक चरणको कार्य ( फाउण्डेसन ) मात्र गरेको छ तर विद्यालयको खातामा भने प्रारम्भिक कार्य गर्नदेखि आर्थीक बर्ष ०७७÷७८ सम्म ४ करोड ७० लाख २९ हजार ६४३ रुपैया विद्यालयको खातामा जम्मा भैसकेको चन्द्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

चन्द्रपुर नगरपालिकाले सर्त सहितको बजेट रकम भएकाले आर्थीक बर्ष सकिनै लाग्दा निर्माण कार्य अपुरो रहेपनि बजेट रकम फ्रिज हुन नदिन विद्यालयको खातामा रकम जम्मा गर्दै आएको स्रोतले जनाएको छ ।

०७५ चैत्र २१ गते नमूना विद्यालय विकास गुरुयोजना स्वीकृत भएपछि चन्द्रपुर नगरपालिकाले ०७७ असाढ २२ गते जनज्योती माध्यमिक विद्यालय चन्द्रनिगाहपुर लाई सम्झौता र कार्यादेशको लागि पत्राचार गरेको थियो । ०८० साल सम्म सम्पन्न गर्ने गरी उक्त नमुना विद्यालय भबन निर्माणको लागि ०७५ चैत्र २१ गते योजना स्वीकृत भएपनि निर्माण अवधि सकिनै लाग्दा लक्ष्य अनुरुपको कार्य हुन नसकेको हो ।

जनज्योती माध्यमिक विद्यालयका प्राध्यानाध्यापक शंकर भट्टराईले निर्माण कार्यमा ढिलाई भएपनि चाडै ठेक्का बाट निर्माण कार्य गरिने बताउनु भयो ।
उहाँले नगरपालिकाबाट निकासा भएको रकम रोक्का रहेको बताउनु भयो ।

तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट आर्थीक बर्ष ०७४÷७५ मा प्रारम्भिक कार्य ( नक्सा, नाप, फाउण्डेसको कार्य गर्न ४० लाख रुपैयाँ निकासा गरेको थियो ।
यस्तै स्थानीय तह गठन भएपनि आर्थीक बर्ष ०७५÷७६ मा १ करोड, आर्थीक बर्ष ०७६÷७७ मा १ करोड ५० लाख, ०७७ चैत्र २६ गते ८८ लाख २९ हजार ६४३ र ०७७÷०७८ मा ९२ लाख निकासा भएको छ । चन्द्रपुर नगरपालिकाका ईन्जिनियर भरत श्रीवास्तवले निर्माण कार्य भन्दा बढी रकम निकासा भएको आफूलाई जानकारी नभएको बताउनु भयो

 

 

प्रतिक्रिया दिनुहोस्