पोखरामा स्केट बोर्ड शुरु



काठमाडौं  ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा पाँचौं राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता पोखरा रंगशालाको अन्नपूर्ण स्केटपार्कमा सोमबारदेखि शुरु भएको छ ।

प्रतियोगितामा विभिन्न जिल्लाका करिब १ सय ५० खेलाडीले प्रतिस्पर्धा गरिरहेको संघका अध्यक्ष अच्युत खनालले जनाएका छन् ।

प्रतियोगितामा सिनियर महिला तथा पुरुष र जुनियरतर्फ छात्र-छात्राको पहिलो चरणको खेलहरू सम्पन्न भएको छ । फाइनलका लागि सिनियर महिला तथा पुरुषबाट ९-९ जना जुनियर छात्रबाट ९ जना र जुनियर छात्राबाट ३ खेलाडी छनोट गरिने छ । उनीहरूले ओलम्पिकमा खेलिने स्ट्रिट स्केटबोर्ड इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल चरणको प्रतियोगिताको निर्णायकका लागि भारत र मालदिभ्सबाट दुई जना निर्णायकहरू पोखरा आउने अध्यक्ष खनालले जानकारी दिए ।

फाइनल खेले मंगलबार हुनेछ । प्रतियोगितामा उपाधि विजेता खेलाडीले १५ हजार रुपैयाँ, उपविजेताले १० तथा तेस्रोले ५ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।कोभिड–१९ का कारण करिब दुई वर्षदेखि उक्त प्रतियोगिता आयोजना हुन सकेको थिएन । पोखरामा तेश्रोपटक प्रतियोगिता भएको हो । बाँकी दुई संस्करण काठमाडौंमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्