नेक्ससको विजयी शुरुआत

0
Shares

काठमाडौं  । 

आयोजक नेक्सस क्रिकेट एकेडेमीले यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ सोमबार विजयी शुरुआत गरेको छ ।
मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेक्ससले ओसिस् क्रिकेट एकेडेमीलाई ९१ रनको फराकिलो अन्तरले पराजित ग-यो ।

पहिले ब्याटिङ रोजेको नेक्ससले निर्धारित २० ओभरमा २ विकेट क्षतिमा १६० रनको योगफल खडा ग-यो । नेक्ससका लागि ‘म्यान अफ द म्याच’ उत्तम मगरले ३८ बलमा ६९ रन जोडे । उनले ३ चौका र ५ छक्का प्रहार गरे । सन्दीप विष्टले २ चौका र २ छक्का मद्दतमा ४१ रन बनाए भने विवेक यादवले २९ रन जोडे । बलिङतर्फ ओसिसका इशान शाहले २ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको ओसिस १७.१ ओभरमा ६९ रनमा अलआउट भयो । नेक्ससका समिर विष्टले ४ तथा अशोक धामीले २ विकेट चट्काए ।अर्को खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमी (जीएसीए), ललितपुरले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई ६ विकेटले हरायो ।टस जितेर ब्याटिङ गरेको केसीटीसीले निर्धारित २० ओभरमा ८ विकेट नोक्सानीमा १०५ रनको लक्ष्य प्रस्तुत ग-यो ।

केसीटीसीका अभिषेक उपाध्यायले ३८ तथा राजकरण शर्माले ३२ स्कोर गरे । प्रत्युत्तरमा जिएचसीएले १८.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायो । जीएचसीएका अली अक्बर अन्सारीले ५४ बलमा ५३ रन जोडे । ‘म्यान अफ द म्याच’ उनले ६ चौका र १ छक्का हाने । वाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भइरहेको प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । फाइनल असार १४ गते हुनेछ ।