इन्धनको मूल्यवृद्धिले जनजीवन कष्टकर



काठमाडौं । 

पटकपटक गरी भएको इन्धनको मूल्य वृद्धि सँगसँगै दैनिक उपभोग्य वस्तुको समेत मूल्य वृद्धि हुँदै गएपछि सर्वसाधारण आम उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको छ ।

आइतबार राति १२ बजेबाट लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपियाँ तथा डिजेल-मट्टीतेलमा २७ रुपियाँ बढाएको थियो । हाल पेट्रोल प्रतिलिटर १ सय ९९ रुपियाँ र डिजेल-मट्टीतेल प्रतिलिटर १ सय ९२ रुपियाँ कायम भएको छ । डिजेलको मूल्य २७ प्रतिशत बढेका छ । इन्धन महँगोे भएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले बढेको छ ।

इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत् भाडा परिवर्तन हुने व्यवस्थाअनुरूप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुवाहक तथा मालवाहक यातायातमा भाडा बढाएको हो । विभागले अधिकतम ७ दशमलव ७ प्रतिशतसम्म भाडा बढाएको छ । अन्तरप्रदेश सार्वजनिक यात्रुवाहक सवारीसाधनमा ५ दशमलव ३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ६ दशमलव ९४ तथा तराईमा चल्ने मालवाहक सवारीसाधनमा ७ दशमलव ७ प्रतिशत भाडा बढेको छ । मृल्यवृद्धिसँगै भाडा समायोजन गरिएको विभागले जनाएको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत् रहनेछ ।

इन्धनको मूल्य यही गतिमा वृद्धि भए प्रत्यक्ष असर सर्वसाधारणमा देखिन शुरू भइसकेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताउनुभयो । इन्धनको मूल्यवृद्धिको असर खाद्य सामग्रीदेखि कलकारखाना सबै ठाउँमा पर्ने पनि उहाँको भनाइ रहेको छ ।पेट्रोलियम पदार्थ कुनै न कुनै रूपमा कल कारखानामा कच्चा पदार्थका रूपमा प्रयोग हुने गरेको छ । त्यसैले उद्योग व्यवसायको मूल्य बढ्ने बताउँदै अध्यक्ष महर्जनले भन्नुभयो– ‘यस्तै सामान ढुवानीको खर्च बढ्छ र त्यसले खाद्यान्नदेखि दैनिक प्रयोग हुने वस्तुको मूल्य बढ्छ ।’

इन्धनको मूल्यवृद्धिले आम उपभोक्ता मारमा पर्दा समेत सरकारले करमा सहुलियत दिनुको साटो बढाइरहेको बताउँदै अध्यक्ष महर्जनले भन्नुभयो– ‘जनतालाई सहुलियत दिन आवश्यक ठानेको छैन । उल्टै कर बढाइरहेको छ । संघ, प्रदेश हुँदै स्थानीय तहले पनि कर बढाएपछि जनताको जीवन झन्झन् कष्टकर बन्नेछ ।’

पछिल्लो समय सवारीसाधनको संख्या निकै बढेका कारण सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ पर्छ । इन्धनको माग र मूल्य दुवै बढ्दा नेपालको अर्थतन्त्रलाई असन्तुलित बनाउने गरेको व्यापार घाटा झनै बढ्ने पनि अर्थविज्ञहरूले दोह-याउँदै आएका छन् ।

सडकदेखि सदनसम्म विरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको कारण सरकारले संसद्लाई जानकारी गराउनुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद पद्माकुमारी अर्यालले छोटो समयमा पटकपटक मूल्यवृद्धि गरिएको बताउनुभयो । उहाँले मूल्यवृद्धिको कारण मन्त्रीले संसद्मा जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

उहाँले बोलेर सकेपछि एमाले सांसदहरू आफू बसेको ठाउँबाट उभिएका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे सदनलाई जानकारी गराउन निर्देशन दिनुभयो ।

यसैबीच पेट्रोलियम पदार्थमा भएको मृल्यवृद्धि फिर्ताको माग राखेर विद्यार्थी संगठनले देशका विभिन्न स्थानमा सोमबार प्रदर्शन गरेका छन् । विराटनगरमा चक्का जाम र बुटवललगायत विभिन्न शहरमा प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्