जलजलामा अध्यक्षले एकलौटी समितिका संयोजक घोषणा गरेपछि विवाद



पर्वत।

पर्वतको जलजला गाउँपालिकामा अध्यक्षले एकलौटी रुपमा विषयगत समितिका संयोजक तोकेपछि विबाद भएको छ । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले चार वटा विषयगत समितिका संयोजक एकलौटी रुपमा तोकेर निर्णय गराउने प्रयास गरेपछि विबाद भएको हो ।

लामो समयदेखि विषयगत समिति गठनमा गठबन्धन र नेकपा(एमाले)का बिचमा सहमति कायम हुन सकेको थिएन ।

जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष गठबन्धनले जितेको छ भने कार्यपालिका र गाउँसभामा एमालेको बहुमत छ ।

शनिबार बसेको कार्यपालिका बैठकमा सहमति नभएको भन्दै अध्यक्ष राजुप्रसाद आचार्यले चारवटचा बिषयगत समितिका संयोजक तोक्ने तथा बजेट र नीति तथा कार्यक्रम समेत एमालेको सहमति नभएपनि ल्याउने निर्णय लेखेपछि एमालेका जनप्रतिनिधीले निर्णयपुस्तिका नियन्त्रणमा लिएका छन ।

अध्यक्ष आचार्यले आर्थिक बिकास समितिमा हरिविकास जिसी, सामाजिक विकासमा गौबहादुर पुन, वातावरण तथा विपदमा बलबहादुर पुन र पूर्वाधार विकास समितिमा टुंगनाथ आचार्यलाई संयोजक तोकेका थिए । सबै संयोजक गठबन्धनका दलबाट छन । तर, एमालेका प्रतिनिधीहरुले ६ वटा बिषयगत समिति मध्ये गठबन्धन र एमालेले ३/३ वटा समितिको सयोजक बनाउन सहमति जनाएका थिए । एमालेले सामाजिक बिकास, आर्थिक बिकास र वातावरण तथा बिपद् समितिमा दाबी गरेको थियो । तर गठबन्धनमा सामेल नेपाली कांग्रेस र माओबादीले सामाजिक बिकास र आर्थिक बिकास समितिको नेतृत्व नछाडेपछि सहमति कायम हुन नसकेको हो ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले सहमतिको अधिकतम प्रयास गर्दा पनि सहमति कायम नभएकाले ऐनले दिएको अधिकार प्रयोग गरेर समितिको संयोजक ताकेको बताए । ‘सहमतिको प्रयास गर्दा पनि बहुमतको अडान नछाडेका कारण अधिकार प्रयोग गरेको हुँ।’उनले भने ‘सहमतिका लागि अझै पनि तयार छु, बहुमतका नाममा सबै निर्णय मान्न सकिदैन ।

नेकपा(एमाले)बाट निर्वाचित कार्यपालिका सदस्य तथा जलजला ५ का वडा अध्यक्ष तिलक जिसीले भने ३, ३ वटा समितिको नेतृत्व गर्ने गरि सहमतिको प्रयास गर्दा पनि जर्बजस्ती अल्पमतको निर्णय लाद्न खोजेका कारण सहमति हुन नसकेको बताए । ‘एकलौटी र मनोमानी हिसाबले अघि बढ्न खोजेका कारण बिबाद भएको हो।’ उनले भने ‘कार्यपालिका र गाउँसभाको बहुमतलाई पेलेरै जाने निति लिए सम्म सहमति हुन्न, सबैलाई मिलाएर जाने दायित्व अध्यक्षको हो।’ उनले गाउँपालिकाकाले संघीय ऐनको प्रतिकुल हुने गरि गाउँपालिका कार्यसम्पादन नियमावली बनाएको र त्यसकै आधारमा अघि बढेमा थप समस्या आउन सक्ने चेतावनी पनि दिए ।

गाउँपालिकाकाको तर्फबाट निर्णयपुस्तिका कब्जा गरेको आरोपमा एमालेबाट निर्वाचित दुई जना सदस्यलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिइएको छ भने प्रवक्ता हरिबिकास जिसीले विज्ञप्ती समेत निकालेर विरोध जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्