चलचित्र पत्रकारलाई सम्मान र पुरस्कार


चलचित्र पत्रकार संघ नेपालले संघको २३औँ वार्षिकोत्सव तथा पत्रकारिता दिवसका अवसरमा घोषणा गरेको सम्मान र पुरस्कार शनिबार राजधानीमा आयोजित एक समारोहबीच प्रदान गरेको छ।

संघले २०७७+२०७८ मा कोरोना महामारी तथा २०७९ मा स्थानीय तहको निर्वाचनका कारण स्थगित तीन वर्षको सम्मान र पुरस्कार चलचित्र पत्रकारहरुलाई एकसाथ प्रदान गरेको हो ।

संघका अध्यक्ष दिनेश सिटौलाको सभापतित्व एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा २०७७ सालका लागि संघका पूर्वअध्यक्ष शान्तिप्रिय र चलचित्र पत्रकार राजन घिमिरेलाई चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित गरियो भने दिवाकर मैनाली र आरडी शृंखला (राजन दाहाल) लाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरियो।

सोही सालको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार रीना मोक्तानलाई प्रदान गर्ने घोषणा गरिए पनि उनले निर्णायक समितिमा रहेका एक पदाधिकारीले आपूmलाई पाँच वर्षअघि यौन दुव्र्यवहार गरेको कारण जनाउँदै पुरस्कार लिइनन्। यस मामलामा छानबिनलाई सघाउन भन्दै संघका महासचिव समीर बलामीले केही दिनअघि पदबाट राजीनामा दिएका छन्।

फिल्मसँग सम्बन्धित विभिन्न संघ संस्थाका पदाधिकारी एवं कलाकर्मीको बाक्लो सहभागितामा सम्पन्न कार्यक्रममा २०७८ सालका लागि सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई चलचित्र पत्रकारिता सम्मान, कुमार आचार्य र गीता अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार, मनोज न्यौपानेलाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार र पोखराका रेम रसाइलीलाई मोफसल चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरियो।

संघकी महिला उपाध्यक्ष दीपज्योति थापाद्वारा सञ्चालित कार्यक्रममा २०७९ सालका लागि राजाराम फुयाँल र लक्ष्मण सुवेदीलाई चलचित्र पत्रकारिता सम्मान, नेमिष गौतम र विष्णुप्रसाद सुवेदीलाई चलचित्र पत्रकारिता पुरस्कार, फोटो पत्रकार उद्दव रसाइलीलाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार र हेटाैंडाका श्रीराम अर्जुनलाई मोफसल चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरियो। चलचित्र पत्रकारिता पुरस्कारस्वरुप जनही एकाउन्न हजार, मोफसल चलचित्र पत्रकारिता पुरस्कारस्वरुप जनही २५ हजार र प्रोत्साहन पुरस्कारस्वरुप एक थान ल्यापटपसहित फेसियल हाउसको तर्फबाट गिफ्ट ह्याम्फर प्रदान गरिएको थियो।

पत्रकारहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका साथ चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, संघका पूर्वअध्यक्ष्ँ विदुर गिरी, अभिनेताहरु राजेश हमाल, भुवन केसी, रमेश उप्रेती, कृष्ण मल्ल, फेसिएल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरालगायतले सम्मान र पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा मन्त्री कार्कीले पत्रकारिताले समाज परिवर्तनमा उल्लेखनीय छाप छोडेको चर्चा गर्दै चलचित्र विकास बोर्डको रिक्त अध्यक्षपदपूर्तिका पत्रकार र फिल्मकर्मीबाट आएका सल्लाह र विचारलाई आत्म सम्मान गर्दै अघि बढ्ने बताए।

संघका अध्यक्ष सिटौलाले कोरोना महामारीका कारण लक्ष्य अनुसारको कार्य हुन नसके पनि चलचित्र पत्रकार कल्याण कोषको कार्यको शुरुवात गर्नुका साथै विभिन्न समयममा चलचित्र पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रम गरिएको बताए। संघका पूर्वअध्यक्ष विदुर गिरीले विकास बोर्डको अध्यक्षमा कोरोनाका कारण क्षतिग्रस्त फिल्म उद्योगलाई पुनर्दिशा प्रदान गर्न सक्षम व्यक्तिलाई नियुक्त गर्नुपर्नेमा जोड दिँदै विभिन्न देशहरुमा हुने अवार्ड तथा फिल्म फेस्टिभलमा संघको समन्वयमा फिल्म पत्रकारलाई पनि सहभागी गराउने व्यवस्था गराउन मन्त्री कार्कीलाई सुझाए।

अर्का पूर्वअध्यक्ष शान्तिप्रियले संस्था अझै गरिमामय र बलियो भएको चर्चा गरे भने निवर्तमान अध्यक्ष सन्दीप सापकोटाले विषम परिस्थितिका बाबजुद संघले गरेको प्रयत्न सह्रानीय रहेको बताए।अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पत्रकारले कलाकारलाई निखार्ने काम गरेको तथा छोटो समयमै चलचित्र पत्रकारिताले छलाङ मारेको चर्चा गरिन् भने अभिनेता राजेश हमालले कलाकार र पत्रकारमा समानान्तर साइनो रहेको चर्चा गरे।

अभिनेता तथा भुवन केसीले मन्त्रीसमक्ष नेपाली फिल्म विश्वका अन्य मुलुकमा प्रदर्शन हुने वातावरण निर्मँणका लागि सहयोग गर्न आग्रह गरे। अभिनेता तथा सञ्चारकर्मी दिनेश डीसीले बोर्डलाई स्वायत्तता प्रदान गर्न आग्रह गरे। समारोहमा सम्मान तथा पुरस्कार कार्यक्रममा सहयोग गर्ने विभिन्न संघ सस्था तथा व्यक्तिलाई कदरपत्र प्रदान गरिएको थियो।