अस्पतालले पाएन निःशुल्क खाना खर्चबापतको रकम

0
Shares

लमजुङ । 

लमजुङको बेंसीशहर नगरपालिकामा रहेको लमजुङ जिल्ला अस्पतालमा बिरामीको खाना खर्चबापतको रकम उपलब्ध नहुँदा समस्या भएको छ । तीन वर्ष अघिदेखि जिल्ला अस्पतालमा खाना खुवाउन थालिएको थियो ।

तीन वर्षदेखि जिल्ला अस्पतालमा शुरु भएको बिरामीलाई निःशुल्क खानाबापत चालू आर्थिक वर्षको १५ लाख रुपियाँ पाउन बाँकी रहेको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत पाउनुपर्ने बिरामी खाना खर्च नपाउँदा गत साउनदेखि उधारो खाना खुवाउँदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा भर्ना भएका बिरामीका लागि नियमित रूपमा खाना खुवाउँदै आए पनि चालू आर्थिक वर्ष शुरु भएदेखि हालसम्म कुनै रकम नपाएको उहाँको कथन छ ।

अस्पतालका अनुसार गत साउनदेखि जेठको तेस्रो सातासम्म अस्पतालमा भर्ना भएका ४ हजार ३ सय ५१ जना बिरामीका लागि अस्पतालले खाना खुवाएको छ । सो अवधिमा खानाको मात्रै १४ लाख ९० हजार ७ सय ६८ रुपियाँ पुगेको र हालसम्म रकम प्राप्त नहुँदा तिर्न नसकेको अस्पतालले जनाएको छ ।प्रदेश सरकारसँग निरन्तर ताकेता गर्दा पनि रकम निकासा नभएको अस्पतालले जनाएको छ । बिरामी खाना खर्चबापतको रकम उपलब्ध गराउन माग गर्दै तीन पटकसम्म पत्राचार गरिएको अस्पताल प्रमुख श्रेष्ठले बताउनुभयो ।

जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क खाना खुवाउने कार्यक्रम प्रदेश सरकारको भएको र प्रदेश सरकारले सोहीअनुसार बजेट व्यवस्थापन गरे पनि रकम निकासा नभएको हो । रकम निकासा नहुँदा खाना उपलब्ध गराउँदै आएका व्यक्ति निकै समस्यामा परेको अस्पताल प्रशासनले जनाएको छ । एउटै व्यक्तिसँग करिव वर्ष दिनसम्म लाखौं रुपियाँ उधारो कारोवार गर्दा व्यावसायिकरूपमा समस्या भएको हो ।

जिल्ला अस्पताल लमजुङमा तत्कालीन सामुदायिक अस्पताल हुँदाको अवस्थामा तीन वर्ष अघिबाट भर्ना भएका बिरामीका लागि निःशुल्क खानाको व्यवस्था हुँदै आएको थियो । बिरामीको निःशुल्क खानाको लागि शुरुको वर्षमा अस्पताल रहेको स्थानीय तह बेंसीशहर नगरपालिकाले केही रकम उपलब्ध गराएको थियो । जिल्ला अस्पताल प्रदेश मातहतमा गएसँगै दायित्व पनि प्रदेश सरकारले नै लिएको हो ।

अस्पताल प्रदेश सरकार मातहत आउनुअघि नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्तर्गत अस्पतालमा भर्ना भएका बिरामीलाई नियमित दुई छाक खाना खुवाउन शुरु गरेको थियो । अस्पतालले बिरामीको अवश्यकता र चिकित्सकको सल्लाहअनुसार बिहान र बेलुका निःशुल्क खाना उपलब्ध गराउँदै आएको हो ।

बिरामीलाई सामान्यतया दाल, भात, अण्डा वा जाउलोको व्यवस्था गर्दै आएको छ । अस्पतालभित्रै सञ्चालन गरिएको क्यान्टिनबाट सो सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालले बिरामीलाई खानाको व्यवस्था गरेपछि आफन्तलाई बाहिर होटल खोज्नुपर्ने खाना ओसार्नुपर्ने जस्ता झन्झट हटेको थियो ।