‘अग्निपथ’ योजनाविरुद्ध भारतमा हिंसात्मक प्रदर्शन



नयाँदिल्ली ।

भारतमा संघीय सरकारले घोषणा गरेको अग्निपथ योजनाविरुद्धका प्रदर्शन हिंसात्मक हुन थालेको छ । आइतबार प्रदर्शनका क्रममा आन्दोलनकारीले ३ सय ४० भन्दा बढी रेल सेवालाई प्रभावित पारेका छन् भने ठूलो भौतिक क्षति भएको छ ।

अग्निपथ योजनाका विरुद्धमा विशेष गरेर युवा आक्रोशित भएका छन् । उनीहरुले अन्याय र अव्यावहारिक योजना सरकारले ल्याएकाले त्यो फिर्ता हुनुपर्ने माग गरेका छन् । भारतको संघीय रक्षा मन्त्रालयले गत मंगलबार घोषणा गरेको अग्निपथ योजनाअनुसार सैनिक सेवामा प्रवेश गरेका ७५ प्रतिशत युवाले चार वर्षमै अवकाश पाउने छन् ।

भारतका जल सेना, स्थल सेना र वायु सेना गरी तीनवटै सैन्य सेवामा जवान पदका लागि चारवर्षे सेवा अवधिका लागि मात्रै भर्ना खुलाउने ‘अग्निपथ’ योजनामा उल्लेख गरिएको छ ।त्यसका लागि २१ वर्षमा भर्ना हुन पाउने र २५ वर्ष पुग्दा उनीहरु अवकाश हुनुपर्ने व्यवस्था गरिएको छ । भर्ना भएकामध्ये २५ प्रतिशतले मात्रै चौथोबाट सेवालाई निरन्तरता दिन पाउने र बाँकी ७५ प्रतिशतले सैन्य सेनाबाट बाहिरिनुपर्ने भएपछि युवा आक्रोशित भएका हुन् । ती अवकास भएकाले पनि पेन्सन नपाउने व्यवस्था गरिएकाले युवा थप रुष्ट भएका छन् ।

सरकारले धेरै युवालाई रोजगारीको अवसरका लागि यस्तो योजना ल्याएको दाबी गरे पनि युवाले भने यसलाई अव्यावहारिक र अन्यायपूर्ण भएको दाबी गरेका छन् । आन्दोलनकारी युवाले रक्षा खर्च कटौती गर्ने बाहनामा लाखौं युवाको भरपर्दो अवसरलाई सरकारले खोसेको आरोप लगाएका छन् ।

चारवर्षे जागिरले युवालाई जीवन निर्वाहका लागि पर्याप्त आम्दानी नहुने र बाँकी जीवन थप अन्योलपूर्ण हुने उनीहरुको भनाइ छ । आन्दोलनकारीले विषेशगरी रेल सेवालाई क्षति गरेकाले हिंसात्मक र क्षति हुने गतिविधि नगर्न सरकारले उनीहरुलाई आग्रह गरेको छ । रेलमन्त्री अश्विनी वैष्णवले रेल सेवामा क्षति पु-याउँदा आम नागरिकलाई नै घाटा हुने भएकाले रेल सेवालाई प्रभावित नपार्न अनुरोध गर्नुभएको हो । उहाँले आफ्ना मागलाई शान्तिपूर्ण तरिकाले उठाउन सुझाव पनि दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्