रोटरी क्लबको खाना नफ्याकौं अभियान शुरू

0
Shares

पाल्पा ।

हाम्रो जीवनको सहारा खानाको सही सदुपयोग गरी नफ्याक्नका लागि सचेतना जगाउन रोटरी क्लब अफ पाल्पा तानसेनले खाना नफ्याकौं अभियान शुरू गरेको छ ।

मानिसले होटल, रेस्टुरेन्ट, पार्टी, घर तथा विभिन्न उत्सव, कार्यक्रमहरूमा धेरै खानेकुराका परिकारहरू बनाउने र आवश्यकता भन्दा धेरै खानेकुरा उपयोग नगरी फ्याकिरहेको सन्दर्भमा खानेकुराको सहीे उपयोगलाई जोड दिनका लागि सचेतना मूलक कार्यक्रम शुरू भएको हो ।
कार्यक्रममा रोटरी क्लब अफ पाल्पा तानसेनका वर्ष २०२१÷२२ का अध्यक्ष शैलेन्द्र भट्टराईले नेपाललगायत विश्वमा कतिपय नागरिकले खानेकुराको उपयोग गर्न नपाएका कारण ज्यान गुमाउनुपर्ने अवस्था रहेको बताउँदै क्लबले उक्त परिस्थितिलाई मध्यनजर गरी खाना नफ्याकौं अभियान शुरूआत गरेको बताउनुभयो । उहाँले अभियानअन्तर्गत आगामी दिनमा पाल्पा जिल्लाका होटल, रेस्टुरेन्ट लगायत विभिन्न समुदायसमक्ष अभियानलाई विस्तार गर्ने बताउनुभएको छ ।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले क्लबले खाद्य सुरक्षाको विषयमा अत्यन्त महत्वपूर्ण विषय अगाडि ल्याएको बताउँनुभयो । एक व्यक्तिले खाद्य पदार्थको दुरुपयोग गर्दा अर्को व्यक्तिको दैनिक जीवनयापनमा कठिनाइ परिस्थितिको सिर्जना हुने हुँदा अब खाना नफ्याकौं अभियान घर–घरबाटै शुरुआत गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएको थियो । एक व्यक्ति सचेत भए परिवार सचेत हुने, परिवार सचेत भए समुदाय सचेत हुने, समुदाय सचेत भए राष्ट्र सचेत हुने र राष्ट्र सचेत भए समग्र विश्व सचेत हुने हुँदा क्लबको अभियानमा आफ्नो पूर्ण सहयोग रहेने श्रेष्ठले प्रतिबद्धता पनि गर्नुभउको थियो ।

क्लबले खानाको महत्ववारे विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै अभियानलाई निरन्तरता दिने र खानाको महत्वका विषयमा विविध कार्यक्रम सञ्चालन गर्दै जाने क्लबका अध्यक्ष भट्राईको कथन छ ।क्लबले स्थापना कालदेखि पाल्पाको सामाजिक कार्यमा सक्रियताका साथ कम अवसर पाएका व्यक्ति एवं समुदायको उत्थानका लागि काम गर्दै आएको थियो ।