मागेर गाँस, पशु गोठमा बास 

बिचल्लीमा रास्कोटका तीन बालक

0
Shares

 कालिकोट । 

रास्कोट नगरपालिका–४ का १३ वर्षीय भरत सार्की उनका भाइ ७ वर्षीय हस्त सार्की र ५ वर्षीय डाइमन सार्की बिचल्लीमा परेका छन् ।

पिता गुइया सार्कीको छ वर्षअघि मृत्यु भएपछि उनीहरूको अवस्था नाजुक बन्दै गएको थियो । आर्थिक अवस्था कमजोर भएका सार्की परिवारलाई आकाशेखेतीका भरमा हातमुख जोर्न महाभारत परेकै बेला आमा आइती सार्कीले दोस्रो विवाह गरेर गएपछि तीन बालक सहाराविहीन भई बिचल्लीमा परेका छन् । बाबुको मृत्यु भएको ठीक दुई वर्षपछि आमा आइती सार्कीले पनि आफ्ना तीन बालकलाई चटक्कै छाडेर अर्कैसँग गएपछि गरिब तीन बालक बिचल्लीमा परेका छन् ।
गुइया र आइतीबाट जन्मेका तीन छोराहरू चार वर्षदेखि कसैको संरक्षण नपाउँदा घुमन्ते जीवन बिताउन परेको पीडित भरत सार्की बताउँछन् । बुबाको मृत्यु हुँदा जेठो छोरा भरत सात वर्षका मात्रै थिए चार वर्षअघि आमाले पनि छोडेर गएपछि भरतले दुई भाइ लिएर सबैको ढोकामा पुगे मागेर जीवन चलाउने गरिरहेका छन् ।

भरतसँगै सात वर्षका हस्त र पाँच वर्षका डाइमन सहाराको खोजीमा छन् । ‘बुबाको मृत्यु भयो, आमाले अर्को विवाह गरेर जानुभयो’, भरतले भने– ‘त्यसयता दिनभरि खानेकुरा माग्दै हिँड्ने र साँझ कसैको घरको पशु बाँध्ने गोठमा बस्दै आएका छौं ।’

अरू साथीभाइ पढ्न हिँडेको बेला उनीहरूलाई विद्यालय गएर पढ्ने चाहना त तीव्ररूपमा जागेर आउँछ तर तीन भाइलाई खान–लाउनकै चिन्ता छ, यस्तोमा विद्यालय देख्न पाएकै छैनन् । ‘विद्यालय जानका लागि पोसाक चाहियो, कापीकिताब चाहियो, काम पाए काम गरेर खान्छौं, नपाए मागेर खान्छौं, यस्तोमा विद्यालय कसरी जानु ?’ –भरतले भने । बुबा–आमा नहुँदा तीनै भाइको हालसम्म जन्मदर्ता हुन सकेको छैन ।

यस विषयमा रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले टुहुरा बालकहरूको बिचल्ली भएको भन्ने जानकारीमा आएको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग कुरा गर्दै उनीहरूको समस्यालाई ध्यानमा राखेर आवासीय विद्यालय खोजेर स्थानीय सरकारले पठनपाठन, लालनपालन व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभयो ।

जन्मदर्ता नहुँदा सरकारी तथा अन्य गैरसरकारी निकायबाट पाउने सेवा सुविधाबाट समेत वञ्चित हुनु परेको स्थानीय समाजसेवी लीलाराज सञ्ज्याल बताउनु हुन्छ् । उहाँका अनुसार पीडित बालकहरूको पशु चौपाय बाँध्ने गोठमा बास हुन्छ, लगाउनका लागि उनीहरूको शरीरमा राम्रो कपडा छैन, ओढ्ने र ओछ्याउने पनि उनीहरूसँग कपडासमेत छैन ।