बाह्य तथा आन्तरिक पर्यटनको आकर्षक गन्तव्य राराको पानीमा अक्सिजनको मात्रा कमी, जलचर संकटमा

0
Shares

मुगु । कर्णाली प्रदेशको बाह्य तथा आन्तरिक पर्यटनको आकर्षक गन्तव्य रारा तालको अक्सिजनको मात्रा घटेको छ  । ताल वरिपरी मानव निर्मित विभिन्न संरचना निर्माण हुनुका साथै उनीहरुको बाक्लो चहलपहलका कारण अक्सिजनको मात्रा घटेको हो ।

पशुचौपायाको मलमूत्र तालको पानीमा जम्मा हुन थालेपछि जलचरहरू संकटमा परेको निकुन्जले गरेको एक अध्ययनले देखाएको छ । तालको पानीमा प्रतिलिटर ७.५ मिलिग्राम अक्सिजनको मात्रा हुनुपर्नेमा ५.१ मिलिग्राम मात्र अक्सिजन रहेको रारा राष्ट्रिय निकुन्जले जनाएको छ  ।

उक्त निकुञ्जका वन रक्षक हरिबहादुर शाहीले मानव र पशुचौपायाले गरेको फोहोर तालमा जम्मा हुँदै गएपछि अक्सिजनको मात्रा घटेको बताए । पानीमा बस्ने माछालगायत जलचरको जीवनक्रम नै संकटमा पर्न थालेको शाही बताउँछन्  ।

‘फोहोर तालमा मिसिदा पानीमा क्षारको मात्रा वृद्धि भएको भेटियो,’ उनले भने, ‘फोहोर नियन्त्रण गर्न नसके अबको १० वर्षपछि माछा र अन्य जलचर लोप हुने देखिन्छ  ।’

उनका अनुसार गत वर्षको पुस महिनामा रारा तालका असला माछाहरू मरेर तालमा तैरिएका थिए । फोहोर बढेपछि पानीको स्वच्छता र रङ फेरिँदै गएको निकुञ्जले जनाएको छ ।

मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले गोरु, भैसी, भेडाबाख्रा, घोडा खच्चरलगायत पशुचौपाया छाडा छोड्न थालेपछि तालको पानी दूषित हुन थालेको निकुन्जले जनाएको छ ।

निकुन्ज क्षेत्रभित्र दैनिक करिब ११ हजार पशुचौपाया चर्ने गरेको कार्यालयको तथ्यांक छ । कार्कीबाडा, पिना, तलितुम, हेन्नकाँध, मुर्मा, झयारी, टोप्लालगायत एक दर्जन बढी बस्तीका स्थानीयले बाह्रै महिना चौपायाहरू रारा निकुञ्जमै चराउने गरेका छन् ।

त्यस्तै, रारा घुम्न आएका पर्यटकले पनि आफूले प्रयोग गरेका सामग्री तालमा फाल्दा पनि फोहोर बढेको स्थानीय अगुवा श्यामबहादुर शाहिले बताए ।

शाहीका अनुसार तालवरिपरि निर्माण गर्न लागिएको साइकल लेनले पनि राराको पर्यावरणमा असर पारेको छ । ‘सडक निर्माण गर्दा प्रयोग गरिने मेसिनका कारण पनि पर्यावरणमा असर पर्यो,’ उनले भने, ‘साइकल लेन खन्दा निस्किएको माटो पनि तालमै फालिएको छ  ।’