सामाजिक विकृति



बालविवाह, छुवाछुत, बोक्सीप्रथा आदि सामाजिक विकृतिको जन्म कसरी हुन्छ भनेर अनुगमन गर्ने होभने परम्परा र संस्कार स्रोतका रुपमा देखिन्छ । परम्परा र संस्कारको स्रोत धर्मग्रन्थहरु हुनसक्छन् । यी ग्रन्थमा पितृसत्ता, सामन्तवाद, अधिनायकवाद, पुरुषत्व आदि दर्शन र दृष्टिकोण यसरी अन्तरनिहित भएका हुन्छन् कि त्यसकै कारण सामाजिक विकृतिहरुको जन्म हुनेगर्दछ । समाज व्यवस्थापनका लागि भनेर बनेका नियमहरु नै सामाजिक विकृतिका स्रोत बन्नपुग्छन् ।

अहिले विवाहको उमेर २० वर्ष राखिएकोमा १८ मा झार्ने सरकारको तयारी देखिएको छ । यस विषयमा एकातिर सामाजिक सञ्जालमा ‘सरकारले वैवाहिक बलात्कारको लाइसेन्स दिनलाग्यो’ भन्ने सम्मका टिप्पणी प्रकट भएका छन् भने अर्कातिर ‘केटाकेटी स्वतस्फूर्त रुपमा १६–१७ को उमेरमै शारीरिक सम्बन्ध बनाइरहेका छन्, सरकारको २० वर्षे सीमाले उनीहरुको यौन अधिकार कुण्ठित भयो’ भन्नेसम्मका टिप्पणी गरिएका छन् । यसको अर्थ हो, समाज निकै परिवर्तित र सचेत भएको छ । यस्ता विषयमा लामो बहस आवश्यक पनि छ । तर समाज सचेत भएर पनि केही सामाजिक विकृतिलाई छोड्नसकेको छैन ।

उदाहरणका लागि बोक्सी प्रथालाई नै लिनसकिन्छ । आज पनि बोक्सीको आरोप लगाएर महिलामाथि कुटपिट गरिने अमानवीय व्यवहार भइरहेको छ । हालै, महोत्तरीको जलेश्वर नगरपालिका–६ ठूलो धबौली गाउँमा दुई महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले स्थानीय ४५ वर्षीय भूलनराम चमार र २८ वर्षीया सोमनदेवी भन्ने सोमारी देवीलाई पक्राउ ग¥यो । प्रहरीका अनुसार भूलन र सोमारी सहित १०–११ जनाले दुवै महिलालाई शरीरका सबै कपडा च्यातेर निर्वस्त्र पारी कुटपिट गरेको बुझिएको छ ।

बोक्सी कूप्रथा विरुद्ध अभियन्ताहरु लडिरहेका छन्, गत वर्ष मात्र मान्छे बोक्सी हुन्न कहिल्यै भन्दै अभियान चलाएको जिल्ला महोत्तरी नै हो । महोत्तरी र अन्य छिमेकी जिल्लामा पनि यस प्रकारका अभियान चलिरहेका छन्, तर कुप्रथा घटेको छैन । गएको दशैँको अष्टमी र नवमीका दिन महोत्तरीकै दुई महिलाले बोक्सीको आरोपमा परिवार र छिमेकीबाट कठोर हिंसा व्यहोर्नुप¥यो । महोत्तरी गाउँपालिका– ३ मडईकी ४२ वर्षीया शिलादेवी झाले ज्यान नै गुमाउनुभयो । जलेश्वर नगरपालिका– ४ सुगाकी सुकमरिया देवीलाई छिमेकीले मलमूत्र खुवाए र चारपाटे मुडेर निर्घात कुटपिट गरे ।

कानुन अनुसार कसैलाई पनि बोक्सा–बोक्सी भनेर सम्बोधन गर्नु मात्र पनि दण्डनीय हुन्छ । बोक्सीको आरोप भन्नाले कुनै व्यक्तिलाई बोक्सा, बोक्सी वा यस्तै अन्य नामबाट लाञ्छना लगाउने कार्य सम्झनु पर्छ । कानुनले बोक्सीको आरोप लगाउने, बोक्सीको आरोपमा गाली बेइज्जती गर्ने, बोक्सीको आरोप लागेको व्यक्तिको परिवारको कुनै सदस्यप्रति अपमानजनक व्यवहार गर्ने, बोक्सीको आरोपमा सामाजिक बहिष्कार गर्ने, बोक्सीको आरोपमा बसोेबास गरेका ठाउँबाट निकाला गर्ने, धामी, झाक्री, टुनामुना, तन्त्रमन्त्र, झारफुक वा यस्तै अन्य कुनै माध्यमद्वारा बोक्सीको आरोप लगाउनेजस्ता कार्य गर्नु दण्डनीय हुने व्यवस्था गरेको छ । तर, कानुनको प्रचार र कार्यान्वयन सक्रियताका साथ हुन नसक्दा विकृति जहाँको त्यही छ ।

प्रतिक्रिया दिनुहोस्