अब दौडिन्छ ‘कर्णाली’

0
Shares

सुर्खेत ।

कर्णाली एथलेटिक्समा अपार सम्भावना बोकेको क्षेत्र हो । पहाडी र उच्च हिमाली क्षेत्रले धेरै भू–भाग ओगटेकोले ‘हाई अल्टच्युट’ प्रतियोगिताहरू आयोजनाका लागि त कर्णाली लोकप्रिय ठाउँमा पर्छ ।

तर, कर्णालीमा एथलेटिक्स प्रतियोगिताहरू कमै हुने गरेका छन् । अझ त्यसमा म्याराथन त झन न्युन मात्रमा हुने गर्छ । प्रतिभाको खानी भएको प्रदेशका रूपमा लिइन्छ कर्णालीलाई । त्यसको उदाहरण हुन काठमाडौंमा भएको १३औं सागमा रजतपदक जित्ने पुष्पा भण्डारी । भण्डारीले सल्यानबाट आफनो करियरको शुरुआत गरेकी थिइन् ।

कर्णालीलाई अन्तराष्ट्रिय माझ चिनाउने प्रतिभाको सूचीमा धेरैको नाम आउने गर्छ । त्यसको अग्रपंक्तिमा पर्छन् कर्णालीका ‘हिरा’ उपनाम पाएका हरिबहादुर रोकाया । रोकायले सिकाएकी चेली विश्व रूपा बुढाले पनि अन्तर्राष्ट्रिय भूमिमा नेपालको प्रतिनिधित्व गरिसकेकी छिन । बुढाजस्तो थुपै्र खेलाडीले देशको राष्ट्रिय जर्सीमा प्रतियोगिता खेलिसकेका छन् ।

कर्णालीले हरेक वर्ष प्रतिभावान् खेलाडी उत्पादन गर्ने गरेको छ आफनै मिहिनेतले । तर, कर्णालीमा कमै मात्र प्रतियोगिता हुने गर्छन् ।
प्रतिभावान् खेलाडी भएर पनि प्रतियोगिताको कमी भएको आभास हुन्छ कर्णालीका सयौं खेलाडीलाई । त्यही अभावलाई मेटने प्रयासमा पहिलोपटक सुर्खेतमा प्रथम काँक्रेविहार खुला पुरुष हाफ म्याराथन तथा छात्र–छात्रा पाँच किलो मिटर विद्यालय स्तरको दौड प्रतियोगिता हुँदैछ ।

शुक्रबार वीरेन्द्रनगरमा प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितालाई कर्णालीको भविष्यसँग जोडिएको बताएका छन् ।‘कर्णाली दोडिन्छ’ भन्ने नाराका साथ मंगलबार हुने प्रतियोगितामा देशभरका खेलाडीहरूको सहभागिता हुनेछ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वय र मिड वेस्टन फिटनेस सेन्टर सुर्खेतको आयोजनामा हुने लागेको म्याराथन र पाँच किलोमिटर दौडमा करिब १ हजार धावकको सहभागिता रहने रेस डाइरेक्टर विक्रम जंग थापाले बताए । हाफ म्याराथनमा २ सय र विद्यालय स्तरको दौडमा ८ सयभन्दा बढीले प्रतिस्पर्धा गर्ने थापाले बताए । जुन नेपालमा हुने म्याराथनमा सर्वाधिक सहभागितामा पर्ने थापाले पत्रकार सम्मेलनमा बताए ।

आयोजक मिड वेस्टन फिटनेस सेन्टर संस्थापक एवं कर्णाली प्रदेश खेलकुद विकास परिषद् उपाध्यक्ष प्रमोद हमाल कर्णालीमा म्याराथनको स्तर र पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँछन् । उनले भने, ‘हामी निकै उत्साही छौं । सुर्खेतमा पहिलोपटक हाफ म्याराथन हुँदै छ । खेलकुद देशको प्रतिष्ठासँग मात्र जोडिएको हुँदैन । आयोजना गर्ने स्थानको पहिचान र त्यस क्षेत्रको आर्थिक विकाससँग पनि जोडिएको हुन्छ । सुर्खेतलाई चिनाउने एउटा उत्कृष्ट इभेन्ट्स हो यो म्याराथन ।’

छोटो समयको तयारीले प्रतियोगिता गर्दा थुप्रै चुनौती भए पनि त्यसलाई समाधान गर्दै अगाडि बढिरहेको बताउँछन् हमाल । उनले थपे, ‘हामीले यस प्रतियोगितामा जितसक्दो स्थानीयहरूको सहभागिता र सहकार्यलाई जोड दिएको छौं । निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्ने प्रयास गरेका छौँ । तर, पहिलोपटक भएर होला सोचेजस्तो सहकार्य हुन सकेको छैन । आगामी संस्करणमा आम कर्णालीवासीलाई सहकार्यका लागि आग्रह गर्दछु ।’

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्याल काँक्रेविहार खुला पुरुष म्याराथन र स्कुलस्तरीय ५ किलोमिटर दौडले समग्र कर्णालीको खेलकुद गतिविधिलाई बढाउन ऊर्जा थप्ने बताउँछन् । उनले भने, ‘कर्णालीले खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई बढाएको छ । कर्णाली पूर्वाधारमा कमजोर र प्रतिभा धेरै भएको ठाँउका रूपमा चिनिन्छ । तर, अब त्यो परिवेशमा परिवर्तन हुँदैछ । हामी प्रतिभा मात्र होइन ठूला प्रतियोगिता पनि गर्न सक्छौं भन्ने सन्देश दिन चाहँन्छौं ।’

पछिल्लो समय कर्णालीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारी गरिरहेको बेला पुर्वाधार निर्माण निकै फड्को मारिरहेको सदस्य सचिव सन्ज्यालले बताए । सुर्खेत जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोग रहेको प्रतियोगिता आयोजनाका लागि करिब १२ लाख ६० हजार बजेट आवश्यक पर्ने आयोजकले बताएको छ । त्यसमा कर्णाली प्रदेश खेकलुद परिषद्ले ६ लाख रकम सहयोग गरेको छ । अन्य अपुग रकम आयोजकले निजी स्तरबाट जुटाउने प्रयास गरिरहेको छ ।

म्याराथनका ‘रेस डिरेक्टर’ विक्रम जंग थापाले कर्णालीमा हुन लागेको म्याराथनले कर्णाली क्षेत्रको एथलेटिक्स विकासमा नयाँ उचाइ थप्ने विश्वास व्यक्त गरे । उनले भने, ‘म्याराथन गर्न सहज छैन । सुर्खेतका साथीहरूले आट गर्नुभएको छ । यसको प्रत्यक्ष फाइदा यस क्षेत्रका खेलाडीले लिनेछ ।

भविष्यमा कर्णालीका अरू थुप्रै खेलाडीलाई पदक जित्न यसले सहयोग गर्नेछ ।’प्रतियोगिता अन्तर्गत हाफ म्याराथन तर्फको विजेताले ७१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले ३१ हजार, चौथोले २० हजार, पाँचौँले १५ हजार र छैटौंले १० हजार रुपैयाँ पाउनेछन् । विद्यालय तर्फको ५ किलोमिटर विजेता छात्र–छात्राले समानरूपमा १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार पाउनेछन् ।

प्रतियोगिताको रुट वीरेन्द्र चौक रहेको छ । वीरेन्द्र चौकबाट शुरु हुने म्याराथन बुलबुले, एयरपोर्ट चोक, पिपिरा चौक, धुलियाबिट चोक, सुब्बा कुना हुँदैँ फर्किएर वधशाला, हिलेखाली पुल, बाङगेसिमल, खोर्केखोला पुल हुँदै पुनः वीरेन्द्र चोकमा आएर समापन हुनेछ ।