दुई सातामा ३ हजार ३ सय गुनासो र सुझाव

प्रभावकारी हुँदै कामपाको कल सेन्टर

0
Shares

काठमाडौं । 

कल सेन्टर-गुनासो व्यवस्थापन तथा सोधपुछलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाको सूचना प्रविधि विभागले कर्मचारी र सम्पर्क अधिकारीका लागि तालिम शुरू गरेको छ ।

तालिममा गुनासो सुन्ने कर्मचारीले अपनाउनुपर्ने सावधानी, उसमा हुनुपर्ने धैर्य, गुनासोकर्ताले भनेका कुरा टिपोट गर्ने तथा सफ्टवेयर इन्ट्री गर्ने, गुनासो सम्बन्धित अधिकारीलाई पठाउने तरिका सेन्टरमा बस्ने कर्मचारीलाई सिकाइँदै छ । त्यस्तै सम्पर्क अधिकारीलाई गुनासो हेर्ने, सुन्ने र काम भएपछि टिप्पणी विवरण लेख्ने तरिका सिकाइँदै छ ।

सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल भन्नुहुन्छ– ‘सेन्टर सञ्चालन गर्ने कार्यविधि तयार गर्दैछौं । यसले काम गर्ने तरिका र नतिजा मापन गर्न सजिलो हुनेछ । यससँगै भएका जनशक्तिलाई तालिम दिने, आवश्यकताका आधारमा जनशक्ति र उपकरण थप गर्ने योजनामा छौं । अहिले रेकर्ड भएका गुनासाको सुनुवाइ कहाँ पुग्यो थाहा पाउनका लागि ट्रयाकिङ सिस्टम बढाउने काम गर्दै छौं ।’

महानगरका सहायक निर्देशक भरतकुमार पोखरेलका अनुसार अहिलेसम्ममा सेन्टरमा बस्ने ५ जना कर्मचारी र विभागबाट तोकिएका १० जना सम्पर्क अधिकारीलाई सफ्टवेयरसम्बन्धी तालिम दिइसकिएको छ । सम्पर्क अधिकारीका लागि १५ वटा वडाबाट नाम आइसकेको छ । सबै नाम प्राप्त भएपछि उहाँहरूलाई पनि प्रविधिका बारेका तालिम दिइनेछ ।

महानगरपालिकाले जेठ २४ गतेदेखि कल सेन्टर सञ्चालनमा ल्याएको हो । सहायक निर्देशक पोखरेलका अनुसार त्यसयता ३ हजार ३ सय गुनासा तथा सुझाव आएका छन् । यीमध्ये ६ सय कलमा गुनासो तथा सुझाव के हो राखिएको छैन । फोन आएको छ तर किन गरिएको हो खुलेको छैन ।यसैबीच कल रेकर्ड गर्न कल सेन्टरमा कसैले टेलिफोन गरेपछि अपरेटरले फोन रिसिभ गर्छन् । उनीहरूले कुराकानी गर्दा फोन नम्बर, ठेगाना, गुनासो वा सोधपुछको विवरण सोध्छन् । यसरी सोधिएका विवरणसँगै फोन गरेको समय, भौगोलिक नक्साजस्ता विवरण सफ्टवेयरमा भर्छन् ।त्यसपछि गुनासोसँग सम्बन्धित विभागको सम्पर्क अधिकारीलाई इमेलमा गुनासो पठाउँछन् ।

यसरी पठाइएको विवरणमा गुनासोकर्तासँग कल सेन्टरका अपरेटरले गरेको कुराकानीको अडियो, गुनासोसँग सम्बन्धित ठाउँको भौगोलिक नक्सा पनि समावेश हुन्छ । यही विवरण महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले हेर्न सक्ने बनाइएको छ ।महानगरको सेवा, महानगरका वडा, विभाग, आयोजना तथा एकाइसँग सम्बन्धित सोधपुछ तथा गुनासा, महानगरीय सेवा तथा सुविधा वितरणसँग सम्बन्धित काम तथा महानगरसँग भएका अपेक्षासम्बन्धी गुनासा तथा सोधखोजका लागि यो प्रणाली स्थापना गरिएको हो ।

यस प्रणालीमा एकैपटक १५ जनाको गुनासो सुन्न सकिन्छ । अहिले यो सेवा कार्यालय समयमा मात्र प्रदान गरिएको छ । त्यसपछि फोन गर्ने व्यक्तिले प्राप्त निर्देशनअनुसार ५ अङ्क थिचेपछि रेकर्ड हुने व्यवस्था गरिएको छ । यो रेकर्ड भोलिपल्ट केन्द्रका कर्मचारीले सुनेर सम्बोधन गर्नेछन् ।