५ वर्षभित्रै ६ करोड २४ लाखभन्दा बढी अकुत सम्पत्ति कमाउने सुब्बा अख्तियारको फन्दामा

0
Shares

काठमाडौं । ५ वर्षभित्रै ६ करोड २४ लाखभन्दा बढी सम्पत्ति कमाउने सुब्बा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । २०७३ असोज २१ गतेदेखि २०७८ पौष मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैया अकुत सम्पती कमाउने तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी अख्तियारको फन्दामा परेका हुन् ।

अख्तियारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुढी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

वरिष्ठ व्यवस्थापन सहायक पदबाट भण्डारी २०७३ असोज २१ गते राजपत्र अनंकित प्रथम श्रेणी अन्तर्गत सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका थिए ।

सेवा प्रवेशको झन्डै ५ वर्षमा उनले ६ करोड बढी अकुत सम्पत्ति कमाएको अख्तियारको छानविनमा देखिएको छ । उनको सम्पत्ति छानविनमा स्रोत नखुलेको सम्पत्ति ६ करोड २४ लाख ४ हजार ६ रुपैया देखिएपछि सो रकम भष्टाचार गरेको ठहर गरी गैरकानुनी सम्पत्ति जफत गर्न मागदाबीसहित आरोपपत्र दायर गरेको हो ।

भण्डारीमाथि भष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ बमोजिम कैद एवं बिगो बमोजिम जरिवाना गर्न र स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरिएको प्रवक्ता भण्डारीले जनाएका छन् ।