संसद् छलेर प्रशिक्षणमा ओली, त्यहीबाट भने : एसपीपीमा सहभागी हुन गुपचुपमा क्षेत्रीले पत्र लेखेका हुन्, मैले होइनँ

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) सम्झौतामा तत्कालीन प्रधानसेनापतिले पत्र लेखेको दाबी गरेका छन् । संसद् बैठक छलेर स्थानीय तह निर्वाचनमा एमालेबाट नवनिर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा पुगेका अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।

उनले २०७२ असोज ६ (सन् २०१५)मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा अमेरिकी एसपीपीमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको बताए । त्यसपछि असोज १३ मा सैनिक हेडक्वाटरमा पठाएको ओलीको दाबी छ ।

प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले भने, ‘हामी कतै पनि बताइएन । २४ गते म संसद्बाट निर्वाचित भए, २५ गते सपथ लिए । तर १० गते (कात्तिक)मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन् ।’

‘प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो, परराष्ट्र मन्त्रालयको काम होला । तर प्रधानसेनापति आफैंले लेखेको रहेछ । जबकी त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छ । तर त्यो कुरा बताइएन । गुपचुप नै राखियो ।’

त्यस्तै सुशील कोइरालाको पालमा भूकम्पसम्बन्धी विपद् व्यवस्थापनसम्बन्धी तालिमका लागि सुरु गरेको भए पनि आईपीएसमा राखेपछिसैन्य गठबन्धनमा सहभागी हुन सक्दैनौं भनेर आफूहरुले च्याप्टर क्लोज गरेको उनले बताए ।

उनले अघि भने, ‘अहिले आएर अमेरिकी सेना नेपालमा राख्ने, साना खालका एयर क्राफ्ट र अरु संरचना राख्ने एउटा अन्तिम ड्राफ्ट आएको छ । यो ड्राफ्ट के हो ? यो षड्यन्त्र कसले ग¥यो ? यसबारे उहाँहरु चुपचाप हुनुहुन्छ ।’

संसद् बैठक छलेर ओली दिनहुँ जसो पार्टीका सार्वजनिक कार्यक्रममा सरिक हुँदै आएका छन् । आज (शुक्रबार) बसेको उक्त बैठकमा उनी उपस्थित नभई एमालेबाट निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा सहभागी थिए ।