आविष्कार केन्द्रलाई सरकारी बजेट ‘विश्वास छैन’



 काठमाडाैं ।

सरकारले लोकप्रिय संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई आगामी आर्थिक वर्षका लागि १ करोड बजेट व्यवस्था गरे पनि त्यसका अध्यक्ष तथा लोकप्रिय वैज्ञानिक महावीर पुनलाई विश्वास छैन ।

आविष्कार केन्द्र स्थापना भएपछि पहिलोपटक बजेट व्यवस्था गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको बजेट किताबमा केन्द्रलाई १ करोड रुपियाँ बजेट व्यवस्था गरेको हो ।केन्द्रलाई बजेट व्यवस्था गर्न मन्त्रालयले सिफारिस गरेको थिएन । तर अर्थ मन्त्रालले बजेट व्यवस्था गरेपछि पहिलो पटक केन्द्रले बजेट पाउन लागेको हो । केन्द्र स्थापना भएको दुई वर्षपछि सरकारले केन्द्रलाई बजेट दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला देवी बज्राचार्यले नयाँनयाँ आविष्कार गरेर सरकारलाई बिर्सन नसक्ने सहयोग गर्ने संस्थालाई बजेट व्यवस्था भएकोमा खुसी भएको बताउनुभयो ।शिक्षा मन्त्रालयको बजेट पुस्तकमा राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपियाँ पुँजीगत अनुदान उपलब्ध गराउने उल्लेख छ ।

विसं २०७६ कातिक १ गते वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुनको नेतृत्वमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना भएको हो । करिब ८ करोड रुपियाँ लागतमा स्थापना भएको केन्द्रमा सयौं युवा वैज्ञानिकले विभिन्न प्रकारका उपकरण बनाइरहेका छन् ।

केन्द्रलाई सरकारले सहयोग नगरेको भन्दै सर्वत्र आलोचना भएको थियो । विभिन्न सामाजिक अभियन्ताले देशका वैज्ञानिकाको जीवनसँग जोडिएको केन्द्रलाई सरकारले उपेक्षा गरेको आरोप लगाउँदै आएका थिए । आगामी आवमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेर केन्द्रलाई सरकार र केन्द्रबीच सम्बन्ध जोडेको छ ।

बजेट व्यवस्था गरेको विषय विज्ञान मन्त्रालयलाई समेत जानकारी छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारले मन्त्रालयको बजेट पठाएपछि मात्र जानकारी पाएको थियो ।जनस्तरबाट र विदेशीहरूले गरेको सहयोगबाट केन्द्र स्थापना भएको थियो । केन्द्रले हाल दर्जनौं परियोजना सञ्चालन गरिरहेको छ । ड्रोन, वायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रमा केन्द्रको मुख्य योगदान छ । नेपालको ग्रामीण क्षेत्रमा पहिलोपटक इन्टरनेट सेवा सञ्चालनमा ल्याएपछि उचाइमा पुगेका केन्द्रका संस्थापक अध्यक्ष पुनले संस्थाको नेतृत्व गरिरहनुभएको छ ।

केन्द्रले कोभिड–१९ संक्रमण उच्च बिन्दुमा पुगेको अवस्थामा आइसीयू वेड, भेन्टिलेटर बनाएर मुलुकलाई ठूलो गुन लगाएको थियो । विशेषगरी केन्द्र अस्पतालमा बिग्रेर थन्किएका भेन्टिलेटर मर्मत गरी सञ्चालन गर्दा अधिकांश अस्पताललाई राहत पुगेको थियो । केन्द्रले कोरोनाको समयमा पीपीईसहित १३ प्रकारका सामग्री तयार गरी वितरण गरेको थियो ।

पाएपछि पत्याउँला, खुसी साटौंला: डा.पुन

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनले सरकारले बजेट विनियोजन गरेको बारेमा आफूलाई विश्वास नभएको बताउनुभयो । ‘हरेक वर्ष बजेटमा केन्द्रलाई बजेट विनियोजन गरेको सुनेको छु, तर पाएको छैन’– उहाँले भन्नुभयो ।

विगत वर्षमा रकम उल्लेख गरेर बजेट विनियोजन भएको थिएन नि भन्ने प्रश्नमा डा. पुनले भन्नुभयो – ‘खै हेरौं, कसरी पत्याउने, अहिलेम्म मलाई कसैले जानकारी दिएको छैन ।’ उहाँले बजेटमा परेको भए रकम पाएपछि मात्र खुसी साट्ने बताउनुभयो ।नेपाल समाचारपत्रसँग कुरा गर्दै वैज्ञानिक एवं सामाजिक अभियन्ता डा. पुनले भन्नुभयो – ‘तपाईंले मलाई जानकारी गराउनुभयो, अब विस्तारै थाहा होला त्यसपछि मात्र केही बोलौंला ।’

‘रकम हालेर मात्र के गर्ने म पत्याउँदिन, हामीले आविष्कार केन्द्रलाई बजेट व्यवस्था गर्नुपर्छ भनेका छैनौं, अहिले त केन्द्रको बारेमा कसैलाई भन्नुपर्र्ने अवस्था छैन’ – उहाँको भनाइ थियो । तर, शीर्षक तोकेर बजेट उल्लेख गरेपछि सो रकम सम्बन्धित निकायले पाउँछ नै– मन्त्रालयको भनाइ छ । यसअघि बजेटमा राख्ने हल्ला चले पनि तोकेर बजेटको व्यवस्था भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्