जस्ताले बारेर कक्षाकोठा सञ्चालन

उपमहानगरभित्रकै विद्यालयको यस्तो हालत



घोराही ।

कक्षा ५ र कक्षा ६ मा पढाइ भइरहेको थियो । केही विद्यार्थीको ध्यान भने आफ्नोभन्दा अर्को कक्षा कोठातर्फबाट केन्द्रित थियो । कक्षा ५ मा पढाइरहेका शिक्षिका बोल्दा जस्तापाताको प्वालबाट कक्षा ६ का विद्यार्थीले अर्को कोठातिर ध्यान दिन्थे भने कक्षा ६ मा पढाइ हुँदा कक्षा ५ का विद्यार्थीले जस्तापाताको प्वालबाट टुलुटुलु हेरिएका थिए । कक्षा ७ र ८ को अवस्था पनि त्यस्तै थियो ।

घोराही उपमहानगरपालिका–१९ को भूमि आधारभूत विद्यालय बाम्लामा देखिएको दृश्य हो यो । बालशिक्षादेखि कक्षा ८ सम्म पढाइ हुने यो विद्यालयमा झन्डै दुई सय विद्यार्थी छन् तर उनीहरूका लागि उपयुक्त विद्यालय भवन नहुँदा जस्तापाताले बारेको कोठामा पढ्न बाध्य छन् । खिया लागेको जस्तापातामुनिको पुरानो र जीर्ण भवनमा रहेका दुई कोठालाई जस्तापाताले बारेर चारवटा बनाइएको छ । कक्षा ५, ६, ७ र ८ को पठनपाठन यही जस्ताले बारेका कोठाबाट हुँदै आएको छ ।

त्यसो त अर्को भवन पनि त्यस्तै जीर्ण बन्दै गएको छ । आवश्यक कक्षाकोठा नहुँदा पढ्न आफूहरूलाई निकै असजिलो हुने गरेको कक्षा ८ का विद्यार्थी अनिल रावतले बताउनुभयो । अर्को कक्षामा भएको पढाइले आफूहरूलाई डिस्टर्ब हुने र आफ्नो कक्षामा भएको पढाइले अर्को कक्षामा डिस्टर्ब हुने उहाँले गुनासो गर्नुभयो ।त्यसो त शिक्षकशिक्षिकालाई पनि हैरान छ । एक कक्षाको आवाजले अर्को कक्षामा असर पुग्ने भएकाले आफूहरूले मसिना स्वरमा पढाउनुपर्ने र एउटा कक्षामा हल्ला भयो भने अर्को कक्षामा पनि पढाउन नसक्ने अवस्था रहेको शिक्षक पूर्णबहादुर डाँगीले गुनासो गर्नुभयो । त्यसो त घाम र पानीको बेलामा पनि पठनपाठन गर्न अप्ठ्यारो हुने गरेको उहाँको भनाइ छ ।

विद्यालय भवन मात्रै होइन, यो विद्यालय अन्य पूर्वाधारबाट पनि वञ्चित छ । खानेपानीको अभाव हुँदा कार्यालय सहयोगी दैनिक एक घण्टा उकालो हिँडेर गाग्रीमा पानी बोक्न बाध्य छन् । त्यस्तै, विद्यालयमा कम्प्युटर कक्षा लागु गरिएको भए पनि विद्युत् अभावले पठनपाठन प्रभावित हुने गरेको छ । सोलारको सहायताले केही कम्प्युटर चले पनि घाम नलाग्दा वा वर्षातको समयमा समस्या हुने गरेको प्रधानाध्यापक टुककुमारी रावतले गुनासो गर्नुभयो । ‘म सरुवा भएर आएको सात महिना भएको छ, पठनपाठन राम्रै रहेछ तर यहाँको भौतिक पूर्वाधारको अवस्था देख्दा मन रुने खालको छ’, सोही विद्यालयबाटै प्रारम्भिक शिक्षा अध्ययन गरेकी प्रअ रावतले भन्नुभयो– ‘भवन, खानेपानी, विद्युत्, खेल मैदान केही पनि छैन ।’

विद्यालयको यो हबिगत देखेर आफूले दुई दिनअघि मात्रै विद्यालय व्यवस्थापन समितिको नेतृत्व लिएको जनाउँदै भौतिक पूर्वाधार विकासका लागि चरणबद्ध काम अघि बढाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंग रोकाले बताउनुभयो । ‘म अभिभावक भेलामा आउँदासम्म अध्यक्ष बन्ने सोच थिएन तर यहाँको सबै अवस्था देखेपछि एकपटक मैले नै नेतृत्व लिएर सुधार गर्छु भन्ने अटोठ गरेको छु’, निवर्तमान वडा सदस्य एवं विद्यार्थी नेतासमेत रहेका रोकाले भन्नुभयो– ‘अब तत्काल गुरुयोजना बनाएर वडा, नगर, प्रदेश र संघबाट गर्न सकिने जति काम अघि बढाउनेछु ।

यही क्षेत्रका मतदाताले जिताएका कृष्णबहादुर महरा सभामुख र शंकर पोख्रेल मुख्यमन्त्री भइसक्दा पनि जस्ताले बारेर विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यताले स्थानीयलाई धेरै दुःख बनाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्