काठमाडौंको अपमान सहन सकेनन् मेयर बालेन

0
Shares

हेटौंडा ।

काठमाडौंबासी ‘अपमानित भएको’ महसुस भएपछि काठमाडौंका मेयर बालेन साह वागमती प्रदेश सरकारको आयोजनामा हेटौंडामा आयोजित स्थानीय जनप्रतिनिधिमुखी अभिमुखीकरण कार्यक्रमलाई बीचमै छाडेर फर्किनुभएको छ ।

स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखहरूका लागि नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी सोमबारदेखि शुरू भएको दुई दिने अभिमुखीकरण कार्यक्रमको पहिलो दिन नै काठमाडौंबासीलाई गाली गरेको र फोहोर विसर्जनका विषयमा अनावश्यक लाञ्छना लगाइएको भन्दै उहाँले कार्यक्रमस्थल छाड्नुभएको हो ।

काठमाडौंको फोहोरको उचित विसर्जन नभएसम्म माला नलगाउने र विजयोत्सवसमेत नमनाउने उद्घोष गरेका वालेनले उक्त कार्यक्रममा आफूलाई काठमाडौं अपमानित भएको महसुस भएको बताउनुभयो । ‘मलाई व्यक्तिगत रूपमा आलोचना वा गाली गर्न पाइयो । तर, काठमाडौंसँग र काठमाडौंबासीसँग सम्बन्धित नभएको कार्यक्रममा काठमाडौंलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने ? मेरो प्रश्न यति हो’, उहाँले भन्नुभयो– ‘काठमाडौं केवल राजधानी मात्र होइन, वागमती प्रदेशका लागि त एउटा पालिका मात्र हो ।

तर, काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो । गाली गर्ने तर मौका पाउँदा केही नगर्ने कार्यक्रमको औचित्य नदेखेर कार्यक्रम छाडेको हुँ । गाली र आलोचना सुन्ने भए म आफ्नै महानगरमा आफ्नै महानगरबासीको सुन्नेछु । वा, सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रममा सुन्नेछ ।’मेयर साहले सोमबार राति सामाजिक सञ्जालमा उक्त अभिमुखीकरण कार्यक्रमलाई ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम’ भएको आरोप लगाउँदै लेख्नुभएको थियो–‘वागमती प्रदेशले आयोजना गरेको ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम’ मा सहभागी भएर धेरै खुसी लाग्यो । थ्यांक यु ।’

कार्यक्रममा सहभागी हुन हेटौंडा आएका बालेन उद्घाटन समारोहपछि कार्यक्रम छाडेर मानवसेवा आश्रम र हेटौंडा सामुदायिक आँखा अस्पताल पुग्नुभएको थियो ।कार्यक्रममा वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले मन्तव्य राखेपछि मेयर शाह मन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्ट हुनुभएको हो । कार्यक्रमको शीर्षकभन्दा असम्बन्धित विषयमा छलफल केन्द्रित भएपछि उहाँ कार्यक्रम छाडेर हिँड्नुभएको थियो ।

कार्यक्रममा काठमाडौं महानगरको फोहोर व्यवस्थापनका विषयमा चर्चा भएको थियो । काठमाडौं महानगरको फोहोर बन्चरेडाँडामा फाल्ने विषयमाथि असन्तुष्टि पोख्दै मन्त्री जम्कट्टेलले भन्नुभएको थियो– ‘काठमाडौंबासीको फोहोरको जिम्मा धादिङ र नुवाकोटका जनताले किन लिनुपर्ने ? काठमाडौंको फोहोरको असर कुनै हालतमा धादिङ र नुवाकोटका जनताले सहँदैनन् ।’ उहाँले ‘काठमाडौंलाई सुझाव’ भन्दै काठमाडौंले बन्चरेडाँडामा फोहोर लैजान नपाउने दाबी भन्नुभएको थियो– ‘म त्यही निर्वाचन क्षेत्रको बासिन्दा हुँ ।

त्यहींका जनप्रतिनिधिका हिसाबले भन्दैछु, काठमाडौंले अब बन्चरेडाँडामा फोहोर लैजान पाउँदैन ।’ उहाँले महानगरप्रति लक्षित गर्दै एउटा पालिकाले अर्को पालिकामा हस्तक्षेप गर्न नपाउने जिकिर गर्नुभएको थियो । मन्त्री जम्कट्टेलको बोल्न थालेपछि मेयर साह कार्यक्रमबाट हिँड्नुभएको थियो ।

प्रदेश सरकारले सोमबार र मंगलबारका लागि प्रदेशका १३ जिल्लाका प्रमुख र उपप्रमुखलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । प्रदेशका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाको सभाध्यक्षता तथा मुख्यमन्त्री पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन सत्रमा प्रदेश सरकारका मन्त्रीहरू, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी, १३ जिल्लाका महानगर, उपमहानगर, नगर र गाउँपालिका प्रमुख र उपप्रमुख सहभागी हुनुहुन्थ्यो ।

उक्त कार्यक्रमबाट बाहिरिएर महानगर मेयर साह र उपमेयर डंगोलले मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडाको अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा मानवसेवा आश्रमका प्रमुख संस्थापक-केन्द्रीय अध्यक्ष रामजी अधिकारीले संस्थाले हालसम्म देशभरमा गरिरहेका कार्य, काठमाडौं महानगरपालिकालाई सडकआश्रित मानवमुक्त बनाउनका लागि गरिएका प्रयास र आगामी योजनाबारे जानकारी गराउनुभएको थियो ।

काठमाडौं महानगर प्रमुख साह र उपप्रमुख डंगोलले हेटौंडा सामुदायिक आँखा अस्पतालको पनि भ्रमण गर्नुभयो । नेपाल आँखा कार्यक्रमका कार्यकारी बोर्ड सदस्य तथा हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठले भ्रमणका क्रममा अस्पतालका गतिविधिबारे जानकारी गराउनुभएको थियो । उक्त अस्पताल तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गत सामुदायिक आँखा अस्पताल हो ।