‘मेरो श्रीमान् खोइ’ भन्दै प्रदेश राज्यमन्त्री परपुरुषको घरमा छिरेपछि…


घोराही ।

दाङको तुलसीपुर उपमहानगरपालिकाको बजारस्थित एक घरमा मंगलबार बिहान एक महिला सरकारी झन्डासहितको गाडी र सुरक्षाकर्मीसहित पुगिन् । शुरूमा गेट हल्लाइन् र गेट खुलेपछि भित्र पसेर परपुरुषलाई ‘मेरो श्रीमान् खोइ’ भन्दै अर्की एक महिला र बालिकामाथि कुटपिट गर्न थालिन् ।

सुन्दा नाटकीयजस्तो देखिने यो घटनाको पात्र सामान्य नागरिक नभएर लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली थिइन् । सो घटनापछि होहल्ला भयो र मन्त्री खत्रीलाई प्रहरी आएर नियन्त्रणमा लियो ।
महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले खत्रीलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जनबहादुर स्वाँरका अनुसार तुलसीपुर उपमहानगर–५ स्थित आलुमण्डी पछाडि एक जना महिलालाई घरमा गएर कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।

बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । राज्यमन्त्री खत्रीलाई केहीबेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर हाल जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको छ ।दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार विवाद भएको ठाउँमा ठूलो संख्यामा मानिस जम्मा भएपछि राज्यमन्त्री खत्रीलाई सुरक्षा दिएर लगिएको हो ।

तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डीको पछाडि बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै गएर मन्त्री खत्रीले मीना र उनकी छोरीलाई कुटपिट गरेको स्थानीयले बताएका छन् ।मन्त्री खत्री आफ्ना एक पीएसओसहित बिहान प्रवेश गरेको पीडित भण्डारीले बताउनुभयो । घरभित्र छिरेर ‘मेरो एकराज खोइ ?’ भन्दै मीना भण्डारी र छोरीलाई समेत हातपात गरेको मीनाले बताउनुभएको छ । मन्त्री खत्रीले कोठाभित्रको दराजसमेत तोडफोड गरेको र झुल च्यातेको बताइएको छ । मन्त्री खत्री प्रवेश गरेको एकराज बस्नेतको घर हो ।

एकराज आफ्नो श्रीमान् भएको र आफूलाई एकराज चाहिएको भन्दै घरभित्र तोडफोड र आफूमाथि कुटपिट गरिएको एकराजकी श्रीमती मीनाले बताउनुभयो । मन्त्री खत्री दाङको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो । २०७४ मा एमालेबाट निर्वाचित उत्तरकुमार वलीको निधनपछि उपनिर्वाचन गर्दा उहाँकी पत्नी विमला यहाँबाट निर्वाचित हुनुभएको थियो । एमाले र माओवादीबीच एकता भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित खत्रीले पार्टी विभाजनपछि एमाले रोज्नुभएको थियो । उहाँले माओवादी रोजेपछि एमालेलाई अल्पमतमा पारेर कांग्रेस–माओवादी–जसपा–राजमो गठबन्धनको प्रदेश सरकार बनेको थियो । सरकार परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै माओवादीले खत्रीलाई राज्यमन्त्री बनाएको थियो ।

माओवादी केन्द्र रोजेपछि विमला केही दिन बेपत्ता पारिनुभएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले आफूलाई अपहरण गरेर निवासमा राखेको आरोप पनि उहाँले त्यति बेला लगाउनुभएको थियो । साथै माओवादीसम्बद्ध युवा एकराज बस्नेतसँग चुम्बन गरेको तस्वीर सामाजिक सञ्जालमा आएपछि पनि यसअघि उहाँ विवादमा पर्नुभएको थियो ।
सो घटनापछि स्थानीयले मन्त्री खत्रीमाथि कारबाहीको माग गरेका छन् भने नेकपा एमालेले मन्त्री र सांसदबाट बर्खास्त गर्न माग गरेको छ ।